१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०२

कर्णालीमा यो वर्ष समयमै पाठ्यपुस्तक

तृप्ति शाही

वीरेन्द्रनगर — विगतका वर्षहरुमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक नपाउने समस्या थियो । तर यो वर्ष शैक्षिक सत्र सुरु हुनभन्दा पहिल्यै कर्णालीका सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको छ । 

कर्णालीमा यो वर्ष समयमै पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरु नहुँदै जुम्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेका छन् । पहिलोपटक शैक्षिक सत्र सुरु हुनुभन्दा झण्डै दुई हप्ताअघि नै पाठ्यपुस्तक विद्यालयहरुमा पुगेका हुन् ।

जुम्लाको जीप स्टेशनरीका सञ्चालक गणेशबहादुर रोकायाले कक्षा १ देखि १० सम्मका झण्डै १० हजार भन्दा बढि पाठ्यपुस्तकका सेट आइपुगेको बताए । गत वर्षहरुमा फागुनमा शैक्षिकसत्र सुरु हुँदा पनि वैशाख महिनासम्म मात्र पाठ्यपुस्तक पुग्ने गरेका थिए । उनले भने, ‘अहिले पाठ्यपुस्तकले गोदामहरु भरिएका छन् । यो पटक बेलैमा पाठ्यपुस्तक पुगेकोले कुनै पनि विद्यालयहरु पाठ्यपुस्तक पाउनबाट बञ्चित हुने छैनन् ।’ उनका अनुसार ५५ भन्दा बढी विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् । अधिकांस विद्यालयले अर्डर गरिरहेको र केही विद्यालयहरुले पाठ्यपुस्तक खरिदका लागि सम्पर्कमा रहेको उनको भनाइ छ ।

डोल्पामा पनि यो वर्ष समयमै पाठ्यपुस्तकहरु पुगेका दुनै स्थित जागृति स्टेशनरी पुस्तक पसलकी सञ्चालक नीराकुमारी बस्नेतले बताइन् ।

उनका अनुसार ५ देखि १० कक्षा सम्मका पाठ्यपुस्तकहरु चैत्र १८ गतेनै पुगिसकेका थिए । १ देखि ३ सम्मका चैत्र २३ गते पुगे । अहिले विद्यालयले धमाधम पुस्तकहरु लिइरहेका उनले बताइन् । ७ भन्दा बढी विद्यालयले पुस्तकहरु लिइसकेका छन् । उनले भनिन् , ‘ अन्यले पनि लिने क्रम जारी छ । यो वर्ष समयमै पुस्तकहरु आएकाले विद्यालयले पनि समयमै लिए । मेरो स्टेशनरीबाट ४ वटा गाउँपालिकाहरु काईके , छार्का ताङसोङ , डोल्पो बुद्ध , सेफोक्सुण्डो र ठूलीभेरी नगरपालिकाका ६ वडाहरुले पाठ्यपुस्तकहरु लिँदै आएका छन् । ’

ठूलीभेरी नगरपालिका – ६ डोल्पाको तरोज बुक साइन स्टेशनरीले ११ वटा विद्यालयमा किताबहरु वितरण गर्दै आएको छ । सबै विद्यालयले सबै सेट किताबहरु लिइसकेका स्टेशनरी सञ्चालक चन्द्रलाल रोकायाले बताए । विगतका वर्षहरु भन्दा यो वर्ष धेरै छिटो पाठ्यपुस्तक पुगेकोले विद्यालयहरुले छिटो लिएका उनले बताए ।

डोल्पाको डोल्पो बुद्ध गाउँपालिका – ३ को कृष्टल माउण्टेन मावीका प्रधानाध्यापक मिनबहादुर विकले पनि ४ दिन अघि १ देखि १० कक्षा सम्मकै किताब सेटहरु बुझेका छन् । २०७४ सालबाट विद्यालयको प्रधानाध्यपक भएका उनले भने , ‘ पहिलो पटक यति छिटै किताब बुझ्न पाइयो । अब वैशाखको ३ / ४ गतेबाट विद्यार्थीहरुलाई वितरण गर्ने योजना रहेको छ । दुर्गमको विद्यालय भएकोले यो भन्दा अघि समयमा कहिल्यै पाठ्यपुस्तक पुगेनन् । हाम्रोमा सदरमुकामबाट ढुवानी गर्नै ३ दिन जति लाग्छ । ’ विगतका वर्षहरुमा प्राइभेट विद्यालयका किताबहरु काठमाण्डौंबाट ल्याएर पनि विद्यार्थीहरुलाई पढायौं । उनले भने , ‘ यो वर्ष समयमै पुगे । सबै किताबहरु पनि पुगे । यसले शिक्षक र विद्यार्थी दुवैलाई सहज हुनेछ । ’

यो वर्ष धेरै छिटो विद्यार्थीहरुको पाठ्यपुस्तक पाएका शिक्षा विकास तथा समन्वय इकाइ डोल्पाका प्रमुख दलबहादुर बस्नेतले बताए । उनका अनुसार समयमै जिल्लामा पाठ्यपुस्तक पुगेको यो पटक मात्र हो । विगतका वर्षहरुका आधा शैक्षिक सत्रसम्म पनि आशिंक किताबहरु मात्र विद्यार्थीले पाउने गरेपनि यो वर्ष समयमै सेटै विद्यार्थीहरुले पाएका खबरहरु प्राप्त भएको उनले सुनाए ।

गत वर्षहरुमा कर्णालीमा ढिलो पाठ्यपुस्तक पुग्ने समस्या भएपनि यो वर्ष शैक्षिक सत्र अगावै जिल्ला– जिल्लामा पाठ्यपुस्तकहरु पुगेर विद्यालयमा पुगिसकेका जनक शिक्षा सामाग्री केन्द्र सुर्खेतका कार्यालय प्रमुख भैरववाबु पन्तले बताए । धेरै जसो जिल्लामा किताबहरु पुगिसकेका छन् । उनले भने , ‘केहि बिक्रेताहरु अझै आएका छैनन् । त्यसैले केहि ठाउँमा बाँकी हुन सक्छ । उहाँहरुलाई पनि हामीले छिटो लैजान भनेका छौं ।

उहाँहरु आउने क्रम पनि जारी छ । ’ यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालयले जनाएको छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको कार्यालय प्रमुख पन्त बताउँछन् । सम्बन्धित निकायको तत्परताका कारण यो वर्ष कर्णालीमा शैक्षीक सत्र अगावै किताबहरु पुगेको उनको भनाई छ ।

प्रकाशित : वैशाख ३, २०८१ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?