२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

कुकुरबाट सुरक्षासँगै आम्दानी

लवदेव ढुंगाना

सिदिन (पाँचथर) — सिक्रेखर्कका राजकुमार राईले ब्वाँसोबाट चौंरी जोगाउन तीनवटा भोटे कुकुर पालेका छन् । हेर्दै डरलाग्दा कुकुरले गोठका चौंरी र ज्यान त बचाएको छ नै । आम्दानीको गतिलो माध्यम पनि बनेको छ ।

कुकुरबाट सुरक्षासँगै आम्दानी

एउटा छाउराको मोल १० र छाउरीको मोल ८ हजार पर्छ । ३८ वर्षीय राजकुमारले दुईवटा माउ र एउटा डाँगो कुकुरका छाउराछाउरी बेचेरै घरव्यवहार धानिरहेका छन् । गत वर्ष उनले भोटे कुकुरका पाँचवटा छाउराछाउरीबाट ५० हजार आम्दानी गरे । यो वर्ष पनि छाउराको माग उस्तै छ । माउ मात्र हुनेले गर्भाधानका लागि डाँगो लगाएर अलग्गै बहाल तिर्ने गरेका छन् । गतिलो सुरक्षासाथ आम्दानी पाएकामा राजकुमार दंग छन् ।
राजकुमारको अर्थमा कुकुरको छाउराछाउरीबाट पाएको रकम त देखिने हो । यी तीनवटा द्वारपालेले चौंरी र गाई ब्वाँसो र चितुवाका मुखबाट बचाएर लाखौंको सम्पत्ति सुरक्षा गरेका छन् । ‘बिहान ४ बजेदेखि दिनभर यिनीहरू मैसित हुन्छन् । रातभरि गोठको रखबारी गर्छन्,’ छेउमा बाँधिएका कुकुरलाई देखाउँदै उनले भने, ‘कैयन् पटक मेरो ज्यान जोगाए, चौंरी र गाईलाई जंगली जनावरले खानै लाग्दा धपाएका छन् ।’
‘निख्खार भोटे कुकुर भएकाले यी तीनै वटा सिकारी छन्,’ १० वर्षअघि घुन्सादेखि ल्याएका कुकुरको सहयोगले आफू व्यवसायमा सफल भएको उनले बताए । प्राङबुङका नरबहादुर मगरले पनि गत वर्ष घुन्सादेखि भोटे कुकुरका एक/एक वटा छोउराछाउरी ल्याएका छन् । उन्नत जातको एउटा भोटे कुकुरको माउले एक पटकमा दुईदेखि तीन वटासम्म छाउराछाउरी जन्माउन सक्छ । हेर्दै डरलाग्दो,
चलाख, सिकारी र सहयोगी हुने भएकाले भोटे कुकुरको माग बढेको मगरले बताए ।
कुकुर ब्याउने सुरसारै नभए पनि आहालडाँडाका पेम्बा छिरिङ शेर्पाले केहीको पैसा बुझिसके । ‘छाउराका लागि पेस्की लिइसकेको छु,’ उनले भने, ‘माउले कति छाउरा पाउने हुन्, थाहा छैन । तर यो पटक आठवटा छाउरा बेच्नु छ ।’ काठमाडौं, भारतका दार्जिलिङ, सिक्किमलगायत र तेस्रो मुलुकबाट आउने पाहुनाबाट छाउराको माग बढी छ । त्यसैले त डाँगोको मोल महँगो छ । ‘छाउरै पाउने निश्चित छैन,’ पेम्बाले भने, ‘त्यसैले अन्य गोठमा भनेको छु ।’ ‘डाँगो नहुँदा आसपासका गोठमा गर्भाधानमा लानुपर्छ,’ उनले भने, ‘डाँगो राम्रो भएन भने बच्चा ख्याउटे हुन्छ ।’
खाना, दाना र नियमित रेबिजको सुई लगाइरहनुपर्ने राजकुमारले बताए । पेम्बाकोबाट गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ र अमर तामाङलगायतले भोटे कुकुर किनेका छन् ।
सीमावर्ती सन्दकपुरदेखि फालोटसम्म ४०/५० वटा गोठमा पालिएका भोटे कुकुरको माग भारतलगायत तेस्रो मुलुकमा समेत बढेको छ । यहाँका हरेक गोठमा एक/दुईवटा भोटे कुकुर छन् । तिनीहरूको मुख्य काम जंगली जनावरबाट मानिस र घरपालुवाको सुरक्षा गर्नु हो ।
ठूलो अनुहार र खुट्टा भएको आकर्षक तथा तीन हजार मिटरभन्दा माथिल्लो उचाइमा रमाउने भोटे कुकुर उच्च पहाडी क्षेत्रका चौंरीपालकहरूको सहयोगी बनेको छ । ‘भोटे कुकुरले अवैध सिकारीबाट सीमाक्षेत्रको दुर्लभ जडिबुटी, वन्यजन्तु र वातावरण जोगाउन भूमिका खेलेको छ,’ प्राङबुङ–१, फलाँटेका चौंरीपालक रामचन्द्र गुरुङले भने ।

प्रकाशित : श्रावण १८, २०७२ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?