कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

भूपी र नयाँ पुस्ता

काठमाडौ — 'मेरो मृत्युपछि मेरा अनाथ आँसुहरू तिम्रो आँखामा बास माग्न आउनेछन्', कवि...

'मेरो मृत्युपछि मेरा अनाथ आँसुहरू तिम्रो आँखामा बास माग्न आउनेछन्', कवि भूपी शेरचनले आफ्नो एक कवितामा यसो भनेका थिए । विक्रम सम्वत् २०४६ को जेठ १ गते उनले संसार छोडे । यस हिसाबले उनको प्राणपखेरु उडेको २३ वर्ष पूरा भइसक्यो । यस बीचमा उनका आँसुहरू कसको आँखामा बास माग्न गए, थाहा भएन । उनका कविताले भने अरूले निर्माण गरेका सारा किल्लाहरू भत्काएर पाठकको हृदय कब्जा गर्न सफल भएका छन् । यी शब्दका कालिगढ भूपीलाई साहित्यका नयाँ पाठकहरूले समेत बडो श्रद्धा र हार्दिकताका साथ ग्रहण गर्ने गरेका छन् । नयाँ पुस्ताले उनका कवितामाथि देखाउने गरेको रुचि साँच्चै लोभलाग्दो देखिन्छ ।
'यो भूपी भन्ने मान्छे बहुत खतरा रहेछ यार', एउटाले बोलेको सकिन नभ्याउँदैमा अर्को बोल्यो- 'किन ?' 'कति खतरा कविता लेख्नसकेको ।' कक्षा ११ मा कमर्स पढ्ने दुईजना विद्यार्थीबीच भएको कुराकानी हो यो । शब्दको दुर्भाग्य नै भन्नुपर्छ- अचेलभरि 'खतरा' शब्दले 'ज्यादै राम्रो' भन्ने अर्थ दिन थालेको छ । साहित्यमा खासै दिलचस्पी नभएका कमर्स पढ्ने विद्यार्थीले भूपीका कवितालाई खतरा देख्नु कुनै संयोगमात्र होइन । भूपी जयन्तीको पूर्वसन्ध्या छ । यसै बेला मेरो देश कविता पढ्ने पालो आएको छ । यो कविता सुन्दा कक्षा ज्यादै चञ्चल र तरङ्गित बन्न पुग्छ । उनका अन्य कविता सुन्ने फर्माइस आउँछ । मेरा चोक, हामी, घुम्ने मेचमाथि अन्धो मान्छे, मैनबत्तीको शिखा, सर्पहरूको खोजीमा एकपछि अर्को गर्दै सुनाउनुपर्ने बाध्यात्मक स्थितिको सिर्जना हुन्छ । तिनको 'वान्स मोर'मा कुनै बनावटीपन थिएन । कविता माथिको गम्भीर आकर्षणलाई लत्याउने कुरा पनि भएन । भूपीका कविताबाट साहित्यका ती नयाँ पाठकले प्रचुर मात्रामा काव्यिक आस्वादन गरेको देख्दा अङ्ग्रेजी कवि 'वाल्ट ह्वाइटम्यान'ले भनेको कुरा स्मरण भयो- 'राम्रा कविता सुनाउनका लागि राम्रा श्रोता र दर्शकको आवश्यकता पर्छ ।'
वि.सं. १९९२ को पुस १० गते जन्मिएका भूपीको नाम भाग्यमान राखियो । तर बाल्यकालमै आमाको निधन हुनाले उनी अभागी देखिए । उनलाई आमा टोकुवाको उपाधि पनि मिलिहाल्यो । भूपेन्द्रमान शेरचन, बी.एम. शेरचन, सर्वहारा अनि भूपी गरी उनका लगभग आधा दर्जन नाम हुनपुगे । नयाँ झ्याउरे, निर्झर र घुम्ने मेचमाथि अन्धो मान्छे गरी उनका साढे एकजोर किताब छापिएका छन् । तीमध्ये उनलाई अहिलेको उचाइसम्म पुर्‍याउन भने आधाजोर किताब नै काफी भयो । अर्थात् भूपीको समग्र काव्यिक व्यक्तित्वलाई यही 'घुम्ने मेचमाथि अन्धो मान्छे'ले चरमचुलीमा पुर्‍यायो । उनका कविता कस्ता छन् ? धेरै विद्यार्थीको जवाफ थियो- जुरुक-जुरुक पार्ने खालका छन् । हुन पनि भूपीका कविता टनिकजस्ता छन् । तिनले पाठकलाई ऊर्जा दिन्छन् । उनका कवितांश उल्लेख गरेपछि कुनै वक्ताको भाषण शक्तिशाली बन्न पुग्छ । लेखकको लेख जम्छ, अनि कतै माहौल तताउनपर्‍यो भने उनका कविता र मुक्तक प्रभावकारी सावित हुन्छन् । सङ्ख्यात्मक हिसाबले थोरै लेखे पनि नेपाली कविताको चर्चाको सन्दर्भमा एक्लो स्तम्भजस्ता देखिन्छन्, भूपी । नेपाली कविताको साम्राज्यमा आजपर्यन्त उनको एकछत्र राज हुँदै आएको छ ।
भूपीका कविता किन यति धेरै पि्रय छन् ? यस बारेमा निकै चर्चा-परिचर्चा भइसकेको छ । उनका कवितामा शब्दहरूको मायावी स्पर्श छ । उनका कवितालाई न विचारको बोझले थिचेको छ, नत प्रयोगका नाममा जथाभावी थोपरिएका शब्दको आक्रमणले पाठक रन्थनिनुपर्ने हुन्छ । सौम्य, शालिन र सुकोमल भाव-गङ्गाले पाठकको आत्मालाई शीतल पार्छन् । सायद त्यसैले होला, कविताका नयाँ पाठकलाई पनि उनका कविताले चपक्क समात्छन् । 'यो नेपाली शिर उचाली...' पनि भूपीकै रचना हो भन्ने थाहा पाएपछि कुनै अज्ञात रहस्यको राज खुलेझैं विद्यार्थीहरू एकाएक चम्किला देखिन्छन् । कसैले फेरि सोध्छ- भूपीको जस्तो कविता लेख्नसक्ने को-को छन् अहिले ? यी नवयुवाको साहित्यप्रतिको नपत्याउँदो रुचि देखेर मन गद्गद् हुन्छ । यो प्रश्नको उत्तर दिनका लागि मसित धेरै नामहरूको सूची छ । तर केही दुःखद परिदृश्यहरू पनि छन् । एनसेल फेस्टिबलको अनौपचारिक चियागफमा धेरै युवाहरू बीचमा साहित्यकार राजुबाबु श्रेष्ठले भनेका थिए- 'यहाँ कति युवा कविहरूको चामल बिक्री भइरहेको छैन, कतिको पिठो पनि हारालुछ भइरहेको अवस्था छ ।' खासगरी एउटा आफ्नो मान्छेले अर्को आफ्नो मान्छेलाई भूपी भनेर आपसमा भूपीहरूको सङ्ख्या पनि बढिरहेको छ । यो प्रसङ्गलाई एकछिन पर पन्छाएर हेर्ने हो भने धेरै सन्तुष्टि मिल्छ । कुनै कविगोष्ठीमा जाँदा नवप्रवेशी भनिएका कविहरूको शक्तिशाली कविता देख्दा आनन्द लाग्छ । नवयुवाहरू नै नयाँ शील्प, शैली, बान्की र प्रस्तुतिका साथ भूपीको ख्याति मार्ग पछ्याउने क्रममा छन् । यसरी हेर्दा नयाँ भूपीहरूको सानोतिनो जुलुस नै तयार हुन्छ । जति धेरै नयाँ भूपीहरू आए पनि पुराना भूपीकै कविताको ओजन र आयतन झनै फैलिँदै गएको छ ।
'जहाँ शीतल हावामा बुइँ चढेर
कस्तूरीको सुगन्ध डुल्दछ
जहाँ एकबाजी आएर
घर र्फकन वसन्त भुल्दछ...'
देशप्रति जताततै निराशाका अभिव्यक्ति सुनिरहेका युवालाई मेरो देशजस्ता कविताले केही हदसम्म राष्ट्रप्रति गौरवबोध गराउने कार्य गर्छ । जसरी पानीमा स्वतः रूपमा अक्सिजन हुन्छ, त्यसरी नै व्यङ्ग्य र विद्रोहको आभास पाइने उनका अन्य कवितामा पनि देशभक्तिको मिश्रण पाइन्छ । प्रकृति र संस्कृतिलाई सुमसुम्याउने अनि विकृतिलाई ठुङ मार्ने उनको शैलीले सबैलाई टिमिक्क बाँध्छ । स्वाभाविक शृङ्गार र विशिष्ट विम्बविधानले आह्लादित बनाइरहन्छ, पाठकलाई । उनका कवितामा पाइने लयविधान र आलङ्कारिक उच्चताले गर्दा नै कविताको नाम सुन्ने बित्तिकै तर्सिने जमातलाई पनि आकषिर्त गर्न उनी सफल भएका होलान् । एउटा कविले कसका लागि लेख्छ कविता ? स्वयम् आफ्नालागि, आम पाठकका लागि, देशका लागि या कुनै उपल्लो बौद्धिक जमातका लागि ? भूपीका कविता पढिरहँदा र पढाइरहँदा मलाईचाहिं यस्तो लाग्छ- भूपीले नयाँ-नयाँ मान्छेका लागि लेखेका हुन् ।





प्रकाशित : पुस १०, २०६९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?