कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

'यात्री’ को अन्तिम यात्रा

काठमाडौ — 'यात्री' जहाँ-जहाँ जानुभयो, त्यस गाउँ-ठाउँलाई उहाँले मानसपटलमा कैद गर्ने गर्नुभयो र...

'यात्री' जहाँ-जहाँ जानुभयो, त्यस गाउँ-ठाउँलाई उहाँले मानसपटलमा कैद गर्ने गर्नुभयो र त्यो ठाउँलाई पुस्तकको रूपमा परिमार्जन गरेर वा लेखरचनाका रूपमा सिँगारेर पाठकसामु पस्किने गर्नुभयो । दर्जनौं पुस्तकका रचयिता 'यात्री' नेपालको पचहत्तरै जिल्लाका सबै गाउँ र नगरपालिकाहरू पुग्नुभएको साधक हुनुहुन्थ्यो । बाँकी रहेका हुम्ला जिल्लाका लिमिदराका गाउँहरू पर्छन्, जहाँ 'यात्री' चाहेर पनि विभिन्न परिस्थितिले गर्दा पुग्न सफल हुनुभएको थिएन । विसं १९९१ साल साउन ४ गते नेपालको पूर्वी क्षेत्र कोशी अञ्चलको भोजपुर जिल्ला कटुञ्जे गाउँमा पिता डिठ्ठा कृष्णप्रसाद नेपाल र माता हरिपि्रया नेपालको कोखबाट जन्मिएका पूर्णप्रकाश नेपाल 'यात्री' साँच्चिकै नामले पूर्ण र देशदेशादी भ्रमणले 'यात्री' उपनामले साहित्यका क्षेत्रमा चर्चित हुनुभएको थियो । उहाँ केही वर्षदेखि विभिन्न प्रकारका गम्भीर रोगले ग्रसित हुनुहुन्थ्यो । सोही रोगका कारण उहाँको मिति २०६९/९/५ गते बिहीबार बिहान ७९ वर्षको उमेरमा नेपाल मेडिकल कलेज जोरपाटीमा निधन भयो । एउटा अन्वेषक, नेपाली वाङ्मयका साधकको निधनले मुलुकको साहित्य फाँटमा अपूरणीय क्षति भएको छ ।
दुई दशक अघिदेखि काठमाडौंको कपनमा स्थायी रूपले बसोबास गर्दै आउनुभएका 'यात्री' ले विसं २००४ सालमा बनारसबाट निस्कने पत्रिका 'छात्रदूत' मा सर्वप्रथम कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएको थियो । 'यात्री' ले नेपाली साहित्यका विविध विषयमा कलम चलाउँदै आउनुभएको थियो । निबन्ध, उपन्यास, मानवशास्त्र, संस्कृति र इतिहास आदि कुनै विधा यस्तो छैन, जहाँ 'यात्री' को कलम नचलेको होस् । फेरि अर्को आश्चर्यको कुरा के छ भने त्यस्ता पत्रपत्रिका (अनगिन्ती) जसमा 'यात्री' का लेखरचना तथा कविता प्रकाशित नभएको होस् ।
करिब १२ वर्ष लामो (विसं २०२७-२०३८) साल स्वदेश दर्शनबाट मेचीदेखि महाकाली घुमिसक्नुभएका 'यात्री' पदयात्रीको रूपमा पनि जनमानसमा परिचित हुनुभएको थियो ।
आफ्नो सेवाको सुरुवात 'यात्री' ले बागलुङ जिल्लामा विद्यालय स्थापना गरेर सोही विद्यालयको शिक्षक भई अध्यापन गर्नुभएको थियो । त्यसको लगत्तै भोजपुर जिल्लाको पञ्चकन्या माविमा प्रधानाध्यापक भई अध्यापनमा लाग्नुभएको थियो । विसं २०३६ सालमा त्रिविको उपअनुसन्धान अधिकारीका रूपमा पाँच वर्षसम्म कार्यरत भई एसियाली अध्ययन केन्द्र (सिनास) मा संलग्न हुनुभएको थियो । पछिल्ला समयमा विसं २०४२ सालमा त्रिविको शिक्षा संकायअन्तर्गत कीर्तिपुरमा प्राध्यापन गर्दै आउनुभएको थियो । २०५७ सालमा उहाँले त्यहाँबाट स्वैच्छिक अवकाश लिनुभएको थियो । यात्रीका हालसम्मका कृतिहरू निबन्ध, उपन्यास, काव्य, यात्रा, साहित्य, मानवशास्त्र, इतिहास, संस्कृति आदिसँग सम्बन्धित रहेका छन् । सिजापतिवाला
-विशालकाय महाकाव्य) 'यात्री' को प्रकाशित एउटा महत्त्वपूर्ण कृति हो । 'यात्री' का प्रकाशित कृतिहरूमध्येमा पहिलो वर्णाश्रम व्यवस्था किन ? निबन्धसंग्रह विसं २००८ रहेको छ ।
कवि, अन्वेषक, समालोचकका अतिरिक्त एउटा कुशल पत्रकारका रूपमा समेत 'यात्री' चिनिनुभएको थियो । सुरुका दिनमा नेपाल पत्रकार संघ पूर्वाञ्चलको प्रतिनिधि, एसियाली आवाज, विश्वदूतको पूर्वाञ्चल प्रतिनिधि, हिमालचुलीको उपसम्पादक र सूचना विभागमा स्वतन्त्र पत्रकारका रूपमा कार्यरत रहनुभएको थियो साथै हिमाली सौगातको सम्पादक तथा प्रकाशकका रूपमा समेत कार्य गर्नुभएको थियो ।
उहाँका पछिल्ला प्रकाशित कृतिहरूमा वसन्तपल्लव (२०५४), सिंजापतिवाला २०५६), सिद्धिचरण संस्मरण (२०५७), उलुपी (२०६४) र राष्ट्रकवि महाकाव्य -२०६६) रहेका छन् । लगनशील भई लेखेको-लेख्यै गर्ने तर नथाक्ने 'यात्री' परिश्रमी साधकका रूपमा पर्नुहुन्छ ।
विसं २०३८ सालमा आदर्श मावि चतरा सुनसरीले 'यात्री' को सम्मान गर्ने क्रममा एउटा समारोह गरेर नागरिक अभिनन्दन गरेको थियो । सम्मानकै क्रममा २०४३ सालमा हिड्पाली साहित्य समाज, विराटनगरले लेखनाथ स्मृतिको सतवाषिर्कीका उपलक्ष्यमा 'यात्री' लाई नागरिक अभिनन्दन गरेको थियो । विसं २०४० सालमा 'यात्री' ले नेपाली लोकसाहित्य पुरस्कार (नगद र प्रमाणपत्रसहित) र विसं २०४८ सालमा राजा महेन्द्रको रजतजयन्ती समारोहको उपलक्ष्यमा भएको अञ्चलस्तरीय कविता प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), लोकसाहित्य पुरस्कार, साझा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, बालचन्द्र स्मृति पुरस्कार, इतिहासशिरोमणि बाबुराम आचार्य शोभा सम्मान पुरस्कार र अभिनन्दन प्राप्त गर्नुभएको थियो ।
विसं २०६९ मा नेपाल नागरिक आवाजले उहाँलाई अभिनन्दन गरेको थियो । पछिल्लो समयमा विसं २०६९ मा उहाँको जन्मदिनको अवसरमा ७९ वर्षको उमेरमा उहाँलाई झपट पुरस्कारबाट सम्मान गरिएको थियो । 'साहित्यका क्षेत्रमा जेजति अन्वेषणका लागि सामग्रीहरू संकलन गरेको छु, तिनीहरूलाई सम्पादन गरेर जनताको सामुन्ने राखिदिने गरेको छु । यी दराजमा जेजति थोत्राथाम्रा सामग्रीहरू अव्यवस्थित रूपमा छन् र कत्तिका शब्द-शब्दहरू टुटेका पाण्डुलिपिहरू छन्, तिनीहरूलाई पाठकले पढ्न सक्नेगरी किताबका रूपमा परिमार्जित गर्ने लक्ष्य राखेको छु ।' यात्री भन्ने गर्नुहुन्थ्यो । तर उहाँका ती अधुरा कार्यहरूलाई समेटेर पूरा गर्नुपर्ने साहित्य अनुरागीहरूका लागि दायित्व थपिएको छ ।
लेखनकार्यबाट कहिल्यै थकावटको महसुस नगर्ने अन्वेषक यात्री थुप्रै सामाजिक संघ-संस्थाहरूसँग आबद्ध रहनुभएको थियो । आफूलाई भेट्न आएका मानिसहरूसँग गहिरो परामर्श गर्ने र यथार्थपरक भएर प्रतिउत्तर गर्न सक्ने क्षमता जीवनको अन्तिम अवस्थासम्म कायम थियो ।
'पहिले-पहिले साहित्यकारलाई युगलाई डोर्‍याउने संवाहकका रूपमा लिने गरिन्थ्यो । तर अहिले पार्टीको कार्यकर्ताका रूपमा लिने गरिन्छ ।' यात्री आफ्ना विचारहरू यसरी स्पष्ट रूपमा व्यक्त गर्ने गर्नुहुन्थ्यो ।
नवोदित प्रतिभाका सम्बन्धमा यात्रीले भन्ने गर्नुभएको थियो, 'नवोदित प्रतिभाले युगलाई डोर्‍याउने क्षमताको विकास गर्नुपर्छ र विद्यमान असन्तुष्टिलाई हटाउन प्रयत्नशील हुनुपर्छ । एउटा सफल साहित्यकार हुनका लागि उसमा महत्त्वाकांक्षा हुनु हुँदैन । समर्पित हुन सक्नुपर्छ र नाराबाजी, होहल्लाबाजीबाट अलग रहनुपर्छ ।'
कुन जाति र संस्कृतिको केके इतिहास छ, त्यो सम्झेर तत्कालै व्याख्या गर्न सक्ने क्षमता उहाँमा विद्यमान थियो । वरिष्ठ साहित्यकार, खोजकर्ता एवं अनुसन्धानकर्ता यात्रीको जीवित अवस्थामा रहँदा उहाँबाट राष्ट्रले धेरै ज्ञान संकलन गर्न सक्थ्यो, त्यो सफल भएन । भावी पुस्ताले सिक्नैपर्ने कुरा के हो भने साहित्यकार मर्दा मात्र उसको गुणगान गाउने होइन, जीवित रहँदै उसको योगदानको कदर गर्ने परम्पराको विकास गरिनुपर्छ । जीवनको उत्तरार्द्धमा 'यात्री' लाई राष्ट्रले जेजति सम्मान र कदर गर्नुपर्ने हो, त्यो गर्न सकेन ।

प्रकाशित : पुस १४, २०६९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?