२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

क्रिसमस टि्रको जगमग

विमल निभा

काठमाडौ — सुप्रसिद्ध नागरिक अधिकारकर्मीको घरमा अपूर्व चहलपहल थियो । उनी अतिरिक्त प्रफुल्ल....

सुप्रसिद्ध नागरिक अधिकारकर्मीको घरमा अपूर्व चहलपहल थियो । उनी अतिरिक्त प्रफुल्ल मुद्रामा द्वारमा उभिएका थिए । कसैको प्रतीक्षामा थिए सायद । एक्कासी मलाई अघिल्तिर देखेर उनको अनुहार अलिकति अँध्यारो भयो । निःसन्देह प्रतीक्षित आगन्तुक थिइन म । म त नागरिक अघिकारकर्मीको घर अगाडिको बाटो भएर निष्फक्री अघि बढिरहेको थिएँ ।
'नमस्ते दाइ ।' उनलाई देखेर म कराएँ ।
'नमस्ते ।' उनले आफ्नो तिखो नाक र मुख एकसाथ बिगारे ।
'के हो दाइ ?'
'केही होइन ।' उनले संयत् अवस्थामा आउने प्रयास गरे ।
'कसैलाई पर्खिरहनुभएको छ ?' मैले अनावश्यक खालको प्रश्न गरें ।
मेरो प्रश्नको कुनै औपचारिक जवाफ दिएनन्, उनले ।
मेरा परिचित नागरिक अधिकारकर्मीको मण्डिखाटारस्थित पाँचतले घर उज्यालोले ढपक्क ढाकिएको थियो । विशालकाय फलामे गेटको छेउमा एउटा कृत्रिम रुख शानले ठडिएको थियो- स्फटिक उज्यालोमा जगमग-जगमग गरिरहेको । मलाई इसाईधर्मीहरूले धुमधामले मनाउने मुख्य पर्व क्रिसमसका लागि घरमा सजाइने क्रिसमस टि्रजस्तो लाग्यो । मैले क्रिसमस टि्र र नागरिक अधिकारकर्मीलाई एकसाथ आश्चर्यले हेरेर भनें, 'क्रिसमस मनाउन लाग्नुभएको हो दाइ ?'
यसपालि पनि मेरो सोधाइको कुनै जवाफ दिने आवश्यकता ठानेनन्, उनले ।
'आज क्रिसमस होइन ?' मैले पूरक प्रश्न गरें ।
उनको अंग्रेजीको 'टी' अक्षर लाग्ने लाम्चो आकारको टाउको 'हो' को भावमा तलमाथि गरी हल्लियो ।
'तपाईंजस्तो खाँट्टी वामपन्थी पृष्ठभूमिको व्यक्तिले पनि इमाईहरूले जस्तै क्रिसमस मनाउन हुन्छ त दाइ ?' मैले प्रश्नाक्रमणा गरें, 'अझ तपाईं त एकताका कम्युनिष्ट पार्टीमा लागेर भूमिगत भइसकेको राजनीतिक मान्छे ।'
'क्रिस्चियन धर्मतिर लाग्नुभयो कि क्या हो ?' उनलाई सर्वथा मौन पाएर मैले पुनःप्रश्न गर्नुपर्‍यो ।
सुप्रसिद्ध नागरिक अधिकारकर्मीको सम्पूर्ण अनुहार अत्यधिक अप्ठ्यारो पाराले खुम्चियो । उनी सोही प्रकारमा स्थिर भएर मलाई क्वारक्वार्ती हेर्न थाले । अनि केही समयपश्चात भारी स्वरको प्रयोग गरेर भने, 'हेर्नोस्, कुरो यस्तो होइन । वास्तवमा कुरो के हो भने....।' उनी यति भनेर सहसा रोकिए । सायद मलाई बताउन नचाहेकोले वाक्य अधुरो नै रहन गयो ।
'के भयो दाइ ?'
'केही होइन ।'
'अनि कुरो भन्दाभन्दै किन चुप लाग्नुभयो त ?' मैले विस्तारै भनें, 'मलाई भन्नै नहुने कुरो हो र दाइ ?'
'होइन-होइन, कुरो यस्तो होइन ।' उनको आवाज अझ भारी भयो ।
'अनि कस्तो हो त कुरो दाइ ?'
'हेर्नोस्, मेरो सासू, ससुरा र श्रीमती पहिलेदेखि क्रिस्चियन धर्ममा लागेकाले हामीले क्रिसमस मनाउनु कुनै नौलो कुरा होइन ।' उनी थोरै मुस्कुराए, 'हो, पहिले यति खुलेर क्रिसमस मनाइँदैनथ्यो ।'
'के भूमिगत तरिकाले मनाउनुहुन्थ्यो क्रिसमस ?' मेरो बोलीमा हलुका व्यंग्य थियो ।
उनी अप्रसन्न भावले मतिर हेर्न थाले । फराकिलो निधारमा गुजुल्टो पर्‍यो । उनका चस्माभित्रका दुई आँखा तिखा भए । अनि मसँग बेस्सरी झोंक्किदै भने, 'तपाईं पूरा कुरा सुन्नोस् । यसरी बीचमा प्वाक्क बोल्ने बानी राम्रो होइन ।' एकाएक गम्भीर भए उनी, 'हेर्नाेस्, परिवारले मनाए, मैले नचाहँदा-नचाहँदै पनि साथ त दिनैपर्‍यो नि !' एकछिन मौन रहेर भने, 'तपाईं यथार्थलाई बुझ्ने कोसिस गर्नोस् ।' उनी मसँग असाध्यै क्रुद्ध भएका थिए ।
'माफ गर्नोस् दाइ ।' मैले क्षमाप्रार्थी अनुहार बनाएँ ।
उनको क्रोध केही मात्रामा मत्थर भयो । अर्थात् मैले तुरुन्तै माफी प्राप्त गरेको थिएँ । अतः खुसी लाग्यो । उनले मेरो प्रसन्न अनुहारतिर हेरेर आफ्नो भारी आवाजमा भने, 'श्रीमती र लन्डनबाट केही दिनअघि नेपाल आएकी छोरीको निमन्त्रणामा सियरालियनबाट एक वरिष्ठ पादरी पनि हाम्रो घरमा आउन लाग्नुभएको छ ।' उनी पुनः प्रफुल्लावस्थामा आए, 'म उनै होली फादरको स्वागतका लागि
यहाँ उभिएको हुँ ।' उनी आफ्नो पहेँलो गिँजामा रहेका गज्याङ-मज्याङ दाँतसहित मुस्कुराउन थालेका थिए ।
नागरिक अधिकारकर्मी इसाई धर्ममा लागेको विषयमा उनी सम्बन्धित एक ठूलो कम्युनिष्ट पार्टीको चौहद्दीभित्र हलुका गाइँगुइँ थियो । (स्मरण रहोस्, उनी पार्टीका पूर्वकेन्द्रीय सदस्य) यो उनको विरोधीहरूका बेमतलवको चंगाजस्तै उडाइने हल्ला लाग्थ्यो मलाई । तर यो वस्तुतः हल्लामात्र थिएन । यसको सशक्त प्रमाणको रूपमा उनी मअघि क्रिसमस टि्रजस्तै जगमग-जगमग गर्दै उभिएका थिए । मैले नागरिक अधिकारकर्मीका एक कट्टर विरोधी कमरेडको भनाइलाई दोहोर्‍याएर भनें, 'यस सिलसिलामा तपाईंलाई युरोप र अमेरिकाबाट बराबर डलर आउँछ भनिन्छ, हो र दाइ ?'
'नचाहिँदो कुरो नगर्नोस् ।' उनी फेरि क्रुद्ध भए ।
'मैले त यस्तो हल्ला सुनेर भनेको हुँ दाइ ।'
'तपाईंजस्तो बुद्धिजीवीले हल्लाको पछि-पछि लाग्न सुहाउँछ र ?' उनको क्रोध अरु वृद्धि भयो, 'यही त हामीकहाँ हुँदैन ।'
'त्यसो भए, यो केवल हल्लामात्र हो त दाइ ?' मैले तत्कालै सोधें ।
'नत्र के हो त ?' उनको आँखा क्रोधको आधिक्यताले रातो भयो, 'जे पायो त्यही डलर-सलरको हल्ला गरिरहन मिल्छ ?'
'मैले त अरु हल्ला पनि सुनेको छु दाइ ।'
'के हल्ला सुन्नुभयो ?' उनी पूर्णतया सतर्क भए ।
सुप्रसिद्ध नागरिक अधिकारकर्मीको हालसम्म सुमधुर सम्बन्ध रहेको कम्युनिष्ट पार्टीभित्रकै उनको एक अतिपि्रय मित्र रहेका कमरेडले मसँग फुसफुसाएको स्वरमा केही महिनाअघि भनेको एउटा कुरा मैले अनायास सम्झेँ । एकछिन यो सोधुँ कि नसोधुँ भयो । अन्ततः सोध्ने निश्चय गरेर उनीसँग भनेँ, 'पहिले तपाईं पार्टीमा भूमिगत रहँदा भूमिगत नाम राखेजस्तै क्रिस्चियन हुने बेलामा पनि छुट्टै क्रिस्चियन नाम राख्नुभएको छ रे ! असल कुरो के हो दाइ ?'
यसको प्रत्युत्तरमा नागरिक अधिकारकर्मीले आफ्नो टाउको उचालेर मलाई चस्माभित्रका प्रश्नवाचक आँखाले हेर्न थाले ।
'सासू, ससुरा, श्रीमती र छोरीका एक-एकवटा क्रिस्चियन नाम रहेझैं तपाईंको क्रिश्चियन नाम ग्लाडी स्टोन हो भनिन्छ, हो र दाइ ?'
'मेरो नाम ग्लाडी स्टोन हो भनेर कसले भन्यो तपाईंलाई ?' उनको लगभग कामिरहेको आवाजमा क्रोध र आश्चर्यको मिश्रण थियो ।
'ग्लाडी स्टोन पोलजोसुवा ।' मैले उनको क्रिस्चियन नाम पूरा गर्नासाथ एउटा चिल्लो कार सरर्र आएर घर अगाडि घ्याच्च रोकियो । उनी 'तपाईं वाहियात कुरा नगर्नाेस्' भन्दै त्यतैतिर दगुरिए । सुप्रसिद्ध नागरिक अधिकारकर्मीका विशिष्ट पाहुना सियरालियनका पादरी 'होली फादर' आइसकेका थिए क्यारे ! अब मैले यहाँ उभिइरहनुको कुनै खास अर्थ थिएन । त्यसकारण फटाफट आफ्नो गन्तव्यस्थलतर्फ लम्किएँ ।

प्रकाशित : पुस १४, २०६९ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?