२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

अब्बल दर्जाको टेस्ट

हिमेश

टेस्ट क्रिकेट उत्तिकै रोचक हुन, के के चाहिन्छ त ? आक्रामक रणनीति, ब्याट्सम्यानको शतक, अनि बलरको उत्कृष्ट प्रदर्शन पनि । यी सबै देखापरे, अस्टे्रलिया र भारतबीच हालै मात्र टुंगेको पहिलो टेस्टमा ।

अब्बल दर्जाको टेस्ट
चार टेस्ट सिरिजको पहिलो टेस्ट हालै एडिलेड ओभलमा भएको थियो । त्यसो त यो टेस्ट सिरिजको पहिलो खेल हुनु पथ्र्यो, तर फिलिप ह्युजको निधनले बि्रसवेनमा हुनुपर्ने पहिलो खेल पछि सारियो ।
खेल सुरु हुनुअगाडि धेरैलाई के आशंका थियो भने यो टेस्ट तिनै ह्युजको निधनको कारणले ओझेलमा पर्नेछ । सायद मानसिक रूपमा खेलाडीले उत्तिकै राम्रो खेल प्रदर्शन गर्न सक्ने छैनन् । तर यो सबै अनुमान गलत मात्र सावित भएन, सर्वथा गलत नै रह्यो । एडिलेड टेस्ट पछिल्लो समय खेलिएका पाँच दिन खेलिने पहिलो श्रेणी क्रिकेटकै सर्वाधिक रोमाञ्चक र सनसनीपूर्ण खेल रह्यो ।
ब्याट्सम्यान मात्र होइन, बलर पनि हाबी रह्यो । अस्टे्रलियाको पहिलो इनिङ्समा चोटबाट गुजि्ररहेका माइकल क्लार्कले बहादुरीपूर्ण शतक बनाए । उनले चोट कम हुने इन्जेक्सन लगाएर खेले र शानदार शतक बनाए । भलै अब उनले सिरिजका अरू तीन टेस्ट खेल्ने छैनन् । तर त्यस एक टेस्टका लागि उनले चोटलाई पनि बिर्से । त्यस इनिङ्समा डेबिड वार्नरले पनि शतक बनाए ।
अस्टे्रलियाको दोस्रो इनिङ्समा पनि वार्नरले शतक बनाए । यस्तै उपलब्धि भारतीय टिमका लागि पहिलोपल्ट टेस्टमा नेतृत्व गरिरहेका विराट कोहली पनि आत्मसात् गरे । उनले पनि भारतका दुवै इनिङ्समा लगातार शतक बनाए । उनी भारतीय कप्तानका रूपमा पहिलो टेस्टमै दुई शतक बनाउने पहिलो ब्याट्सम्यान पनि बने । धेरैलाई याद छैन, एकै टेस्टमा दुई ब्याट्सम्यानले यस्तो उपलब्धि हात पारेको छ ।
एडिलेड टेस्टमा ब्याट्सम्यान मात्र चम्केका थिएनन् । बलर पनि उत्तिकै सफल रहे, विशेषतः अस्टे्रलियाली स्पिनर नथान लियोन । लियोनले भारतले दोस्रोपल्ट ब्याटिङ गर्दा सात विकेट लिए । उनले समग्रमा १२ विकेट लिए र टेस्टका निणर्ायक खेलाडी बने ।
टेस्ट अन्तिम दिनको अन्तिम समयसम्म रोमाञ्चक रहनुको कारण भने भारतले अपनाएको आक्रामक रणनीति थियो । अन्तिम दिन भारतले जित्नका लागि ३ सय ६४ रनको लक्ष्य पाएको थियो । भारतले निरश बराबरीका लागि खेलेन्, बरु बहादुरीपूर्वक जितकै लागि खेल्यो । नभन्दै भारत लगभग जितको संघारमा पनि पुगिसकेको थियो, तर अन्तिम सेसनमा लगातार विकेट गुमाएपछि ४८ रनको हार बेहोर्न बाध्य रह्यो । भारतीय ब्याट्सम्यानले जोगिएर खेलेको भए, जित उसकै हुन सक्थ्यो ।
यो जितपछि अस्टे्रलियाले सिरिजमा अग्रता लिएको छ । तर क्लार्क र कोहली दुवैले भनेजस्तै यो टेस्टलाई धेरैले पछिसम्म सम्झने छन् । दुवै टिमलाई गुनासो छैन, आफूले कसरी खेल्यो भनेकोमा । कोहलीकै भाषामा, भारतीय टिमले खेल्न जानेकै त्यसरी हो, त्यसैले हारमा कुनै गुनासो छैन, बरु गर्व छ । घरेलु टिमलाई त जितमा गर्व हुने भयो नै । आखिरमा टेस्ट क्रिकेटका सर्वोच्च संस्करण हो नै, जहाँ खेलाडीको वास्तविक परीक्षा हुन्छ ।

प्रकाशित : पुस ९, २०७१ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?