२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

भारतीय बाँधले ३० वर्षदेखि सास्ती

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारका सहर बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो ३१ किलोमिटर लामो बााध बनाएपछि नेपालतिर डुबान
शिव पुरी

रौतहट — चैत अन्तिम साताको राष्ट्रिय सभाको बैठकमा रौतहटकी सांसद पूजा चौधरीले बर्खाका बेला रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलिस गेट (पानी निकास हुने ढोका) बन्द गरेपछि ठूलो विपत्तिको सामना गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सुलिस गेटको ढोका खोल्न सरकारले कूटनीतिक तबरबाट पहल थाल्न अनुरोध गरिन् । भारतीयले आफ्ना नागरिकलाई जोगाउन एक पक्षीय ढंगले निर्माण गरेको गौर बाँधमा लगाइएको यो त्यही गेट हो, जुन बर्खाका बेला पानीले निकास नपाउँदा रौतहटको सदरमुकाम गौरलगायत आसपासका गाउँ डुबानमा पर्छन् ।

गौर बाँधबारे सांसदहरूले सरकारको ध्यानाकर्षण गराएको यो पहिलो घटना होइन । डुबानका बेला सांसद र मन्त्रीहरूको वक्तव्यबाजी हुने क्रम चलिरहन्छ । डुबानको निरीक्षण भन्दै आउने सांसद मन्त्रीहरूको आँखा त्यही सुलिस गेटमा पर्छ । भारतले डुबानका बेला पानी निकासका लागि ढोका खोल्ने मौखिक सहमति गरे पनि पन्छिँदै आएको छ । ‘पहिले जे भयो मलाई थाहा छैन् । अब म निकास निकाल्न सरकारलाई निरन्तर घचघच्याई रहन्छु,’ सांसद चौधरीले भनिन्, ‘सरकारले चासो लियो भने कूटनीतिक पहलबाट समस्याको समाधान निकाल्न सकिन्छ । यसमा मेरो खबरदारी रहन्छ ।’ भारतीयले बर्खाका बेला बाँधको सुलिस गेट बन्द गर्दै आएको छ । यही कारण पानीले निकास नपाउँदा सदरमुकाम गौर डुबानमा पर्दै आएको हो ।

भारतले २०३२ सालमा आफ्नो भूमि बैरगनियालगायतका बिहारका सहर बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो झन्डै ३१ किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान सुरु भएको हो । भारतले उसैबेला बाँधमा पानीको निकासका लागि बनाइएको सुलिस गेट खोल्ने मौखिक सहमति गरेको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले बताए । २०७६ असार २७ गते लगातारको वर्षापछि पानीले निकास नपाउँदा गौर क्षेत्र डुबानमा पर्‍यो । त्यस बेला तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाले बाँधको ढोका खोल्न भारतको सीतामाढी जिल्लाका तत्कालीन प्रमुख डीएम रञ्जितकुमार सिंहलाई फोन गरे । लगातार फोन गर्दा सिंहले बेवास्ता गरेपछि उनले गृह मन्त्रालयलाई जानकारी गराएको सुनाए । बैरगनियाको पूर्वी क्षेत्रमा भारतले निर्माण गरेको बाँधको ३ वटा ढोका सुलिस गेट बन्द गर्दै आएको छ । नेपाली क्षेत्रमा पानीको सतह बढी भयो भने आपत्कालीन रूपमा ढोका खोल्नुपर्छ । गौर डुबानमा परेपछि नेपालीले बाँध भत्काउने र सुलिस गेट खोल्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली हतियारसहित २४ से घण्टा बाँधमै बस्छन् । २०५० सालअघिसम्म गौरमा पानी जमेपछि ढोका खोल्ने गरिन्थ्यो । अहिले बन्द गर्न थालेको नगरप्रमुख साहले सुनाए ।

डुबानका बेला सशस्त्र प्रहरीले विपद् व्यवस्थापन कुरिनटारबाट रबर बोट र तालिमप्राप्त उद्धार टोलीलाई रौतहट बोलाएर सतर्क अवस्थामा राख्ने गरिन्छ । बर्खाको बेला वाग्मती र लालबकैया नदीमा पानीको सतह बढेर सदरमुकाम गौर प्रवेश गर्छ, र पानीले निकास पाउँदैन । भारतीय बाँधका कारण जमेर डुबानमा पार्छ । कारागारका कैदीहरूसमेत ज्यान जोगाउन छतमै पुग्छन् । २०७७ साउनमा भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मुख्यालय मोतिहारीको राधाकृष्ण भवनमा भारतीय समकक्षीसितको समन्वय बैठकमा रौतहटका तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतको मोतिहारी जिल्लाका प्रमुख (डीएम) शीर्षक कपिल अशोकलाई बर्खाका बेला डुबानबाट जोगिन सुलिस गेट खोलिदिन प्रस्ताव राखे । भारतीय पक्षले हुन्छ भनेर आश्वस्त पारे ।

सीमा क्षेत्रमा हुने आपराधलगायत गतिविधि र आन्तरिक समस्या सुल्झाउन दुवै देशका सुरक्षा अधिकारीको समन्वय बैठक हुँदै आएको छ । तत्कालीन पञ्चायत सरकारको पालामा सीमामा भारतीयले बाँध लगाएका हुन् । त्यसैबेला सीमा क्षेत्रका बस्ती डुबानमा परेको बेला सुलिस गेट खोलेर पानीको निकास दिने मौखिक सहमति भएको हो । भारतले एकतर्फी रूपमा अन्तर्राष्ट्रिय सन्धि सम्झौता मिचेर निर्माण गरेको बाँधको स्तर वृद्धि र विस्तार गर्न थालेपछि स्थानीयले विरोध जनाउँदै आएका छन् ।

प्रकाशित : वैशाख १२, २०८१ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?