२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

सामुदायिक विद्यालय रित्तै

बागलुङ नगरपालिकाका १ सय ४ मध्ये ३५ वटा विद्यालयमा विद्यार्थीको संख्या न्युन छ। तीमध्ये २३ वटा विद्यालयमा हालको तह घटाउने र १२ वटाको पठनपाठन स्थगन गर्ने नगरपालिकाको तयारी छ।
प्रकाश बराल

बागलुङ — बागलुङ नगरपालिका-९ को रानीभूमे प्राविको हाजिरीकापीमा कक्षा-१ मा पढ्ने कृष्णा जिसीको मात्रै नाम छ । तर उनको परिवारले छोरीलाई एक्लै यो विद्यालयमा पढाउन नचाहेपछि यो वर्ष रानीभूमे प्रावि शुन्य भएको छ । 

सामुदायिक विद्यालय रित्तै

कक्षा-३ सम्मको स्वीकृत यो विद्यालयमा गत वर्षदेखिनै कक्षा-२ र ३ मा विद्यार्थी थिएनन् । दाङका डाँगी डेरा लिएर यहाँ बस्छन् । तर उनले काम पाएका छैनन् । सुनसान विद्यालय पुगेर फर्कने मात्रै काम भएको उनले बताए ।

अन्य शिक्षकहरु स्थानीय हुन् । त्यसैले उनीहरु पुगेर फर्कने र घरको काम गर्नेमा व्यस्त हुन्छन् । गएर पनि विद्यालयमा कुनै काम नभएपछि हाजिर गरेर फर्कनुको बिकल्प नभएको उनीहरु बताउँछन् । कामै नभएपछि दरबन्दीमा रहेकी शान्ति पौडेललाई नगरपालिकाले बागलुङ बहिरा विद्यालयमा काजमा पठाएको छ ।

सदरमुकाम नजिकैको यो विद्यालयमा विद्यार्थी शुन्य हुँदा ३ जना शिक्षक दरबन्दी कायमै छ । गतवर्ष नियुक्ती पाएका लोकेन्द्र डाँगी प्रअ हुन् । पौडेल काजमा गएपनि दरबन्दी यही छ । बालबिकास सहजकर्ता सरिता जिसी र विद्यालय सहयोगी समेत कार्यरत छन् ।

डाँगीले समय पाएमा अर्को वर्ष विद्यार्थी बढाउन सक्ने बताए । ‘समुदायमा १०-१५ जना विद्यार्थी छन्, तर सबै सिगाना माविमा गए,' उनले भने, ‘जंगल छेउमा भएकोले बालबालिका आउन मानेका छैनन् ।’ विद्यार्थी शुन्य भएपछि नगरपालिकाले यो विद्यालय स्थगन गरेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।

अनुगमनमा विद्यार्थी नभेटेपछि वडा नं ९ कै सरस्वती सामुदायिक प्रावि पनि स्थगन गरेको छ । सिमलपाटामा रहेको यो विद्यालयमा पनि ४ जना विद्यार्थी र ३ जना शिक्षक मात्रै थिए । समितिले नगरभर यस्तै हालतका विद्यालयको अनुगमन गरेर प्रतिवेदन तयार पारेको छ । स्थगन हुने त्यहाँका जनशक्तिलाइ नजिकको विद्यालयमा मिलान गराइएको हो ।

नगर अनुगमन समितिका सदस्य ज्ञानेन्द्र गौतमले यहाँ विद्यार्थी आउने सम्भावना नै नदेखिएको बताए । ‘राज्यको लाखौं श्रोत साधन गइरहेको छ, तर उपलब्धी छैन’ गौतमले भने, ‘यहाँका शिक्षकहरु आवश्यक भएका ठाउँमा पठाउन नगरपालिकालाई सिफारिस गरेका छौं ।’ अनुगमन समितिको प्रतिवेदनमा नगर भित्रका १२ वटा विद्यालय स्थगत गर्नुपर्ने सुझाव छ । तीमध्ये २ वटा भने तत्काल स्थगन भएका हुन् ।

नगर उपप्रमुख राजु खड्का, शिक्षा अधिकारी धनप्रसाद पोखरेल र सदस्य ज्ञानेन्द्र गौतमले गरेको अनुगमनपछि ती विद्यालयको अवस्था सहितको प्रतिवेदन पेश भएको हो । वडा नं १२ को कालीगण्डकी प्राविमा नगर अनुगमन समिति पुग्दा पनि एकदुइ जना मात्रै विद्यार्थी भेटिएको शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । पोखरेलका अनुसार एउटै विद्यार्थीको तीन वर्षदेखि सोही विद्यालयमा नाम राखेर हाजिर गरेको भेटिएको थियो । यहाँ पनि ३ जना शिक्षक दरबन्दी छ ।

बजार भित्रै रहेको देउराली प्रावि र बालमन्दिर आधारभूत विद्यालयमा पनि विद्यार्थी संख्या न्युन छ । मुख्य बजारमै रहेको बालमन्दिरमा कक्षा ७ र ८ मा विद्यार्थी नभएपछि समितिले तह मिलान गरेर कक्षा ६ सम्म मात्रै पढाउन सिफारिस गरेको हो । बालमन्दिरमा हाल ७ जना शिक्षकको दरबन्दी छ ।

समितिले नगर भित्रका २३ वटा विद्यालयको कक्षा घटाउनुपर्ने ठहर गरेर नगरप्रमुखलाई सिफारिस पठाएको पोखरेलले बताए । नरपालिकाले बनाएको ‘सामुदायिक तथा संस्थागत विद्यालय स्थगन, तहमिलान तथा दरबन्दी मिलान कार्यविधि २०८०’ अनुसार समितिले अनुगमन प्रतिवेदन समेत नगरप्रमुखलाई बुझाइ सकेको हो ।

स्थगत र तह मिलान गरिने विद्यालयका शिक्षकहरुलाई तत्काल नगरपालिकाले पुल दरबन्दीमा राख्ने पोखरेलले बताए । ‘कतिपय विद्यालयमा शिक्षक नभएर निजी श्रोतका राखेर पढाएका छन्, कतै रित्तै विद्यालय कुर्नु परेको छ,’ पोखरेलले भने, ‘अब आवश्यकताको आधारमा शिक्षक दरबन्दी बितरण गर्ने योजना बनाएका हौं ।’ राज्यको श्रोतको दुरुपयोग नहोस् भनेर यो कार्यविधि अनुसार अनुगमन गरी विद्यालय सुधार गर्ने योजना ल्याएको उनले बताए ।

बागलुङ नगरपालिका भित्र १ सय ४ वटा विद्यालय छन् । तीमध्ये ३५ वटा विद्यालयमा विद्यार्थीको संख्या न्युन देखिएको हो । २३ वटा विद्यालयलाई हालको तह घटाउँदा र १२ वटा स्थगन गर्दा विद्यार्थी संख्या बढी भएका बिद्यामन्दिर, कालीका कन्या, रुद्रे पिपल, धौलागिरि बहिरा लगायतका विद्यालयमा शिक्षक दरबन्दी थप हुनेछन् ।

ती विद्यालयमा शिक्षक अपुग भएर निजी श्रोतमा राखिएका छन् । विद्यालय स्थगन र तह मिलान गर्दा निस्कने शिक्षक दरबन्दी नगरपालिकाले पुलमा राखेर अन्यत्र पठाउने व्यवस्था मिलाएको छ । ‘विद्यालय खारेजी भएको होइन, भोलि विद्यार्थी बढे भने शिक्षक पठाएर संचालन गर्ने अनुमति दिन्छौं,' पोखरेलले भने, ‘तह मिलान भएकाले पनि विद्यार्थी अनुपात मिलाए कक्षा बढाउन सक्छन् ।’ शिक्षाको गुणस्तर बढाउन यो अभियान शुरु भएको उनले बताए ।

संस्थागत विद्यालयले बस राखेर गाउँगाउँका विद्यार्थी ओसारेकोले गाउँमा कक्षा कोठा खाली भएको शिक्षकहरु बताउँछन् । ‘बोर्डिङका गाडी गाउँमै आइपुग्छन्, ओसारेर लैजान्छन्,' बागलुङ नगरपालिका ६ का अध्यक्ष रुद्रबहादुर केसीले भने, ‘सामुदायिकमा गुणस्तर दिन नसके अब सबै खाली हुनेछन् ।’ शिक्षकहरु जागिरे मनस्थितिको भएकोले पनि विद्यार्थी घटेको उनले बताए ।

अभिभावकपनि शिक्षकको कमजोरीले विद्यालय खाली भएको टिप्पणी गर्छन् । ‘शिक्षकले जागिर मात्र खान्छन्, पढाउँदैनन्’ स्थानीय गोपालप्रसाद शर्माले भने, ‘कक्षा कोठामा नजाने शिक्षकबाटै सामुदायिक विद्यालयको स्तर खस्केको हो ।’ ३८ वर्ष लामो शिक्षण पेशाबाट निवृत्त शर्माले विद्यालय बनाउने प्रमुख जिम्मा शिक्षकको हुने बताए ।

शिक्षकनै जिम्मेवार नभएपछि अभिभावकले बाध्य भएर बालबालिकालाई निजीमा पठाउन थालेको अभिभावकको गुनासो छ । ‘विद्यार्थी सबै बजार जाने बाध्यता बनाएपछि अभिभावकले पनि गाउँको विद्यालय र शिक्षक भनेर कसरी सहयोग गर्ने ?’ स्थानीय राजु शर्माले भने, ‘शिक्षकले चाहेमा गर्न सकिने काम पनि नगरेपछि विद्यालय भताभुंग भएका छन् ।’ बालबालिका नभएपछि शिक्षकको आफ्नै क्षमता पनि कमजोर भएको उनले टिप्पणी गरे ।

विद्यालयले केही वर्षदेखि भर्ना अभियान संचालन समेत गरेको छैन । निजी विद्यालयमा पठाउन खोज्नेलाई सामुदायिकले पनि गुणस्तरीय शिक्षा दिन सक्छ भनेर कुनै पहल पनि नगरेको अभिभावकको गुनासो छ । ‘हामीलाई पैसा तिरेर पढाउने रहर छैन, तर सरकारी विद्यालयमै पढाएर छोराछोरी बिगारियो भने भोलि हामीलाई सराप्लान भन्ने भएको छ,' अभिभावक बिरबहादुर किसान भन्छन्, ‘मजदुरी गरेर कमाएको पैसाले एक छाक खाएर पनि बालबालिकालाई बोर्डिङ पठाएका छौं ।’

विद्यार्थी नभएपछि कतिपय विद्यालयका शिक्षकले पालो मिलाएर आउने र नआएको दिनको पनि हाजिरी गरेका थिए । ‘एक जना शिक्षकले त आँफू राजनीतिमा हिड्नु परेकोले सट्टा शिक्षकको व्यवस्थापन गरिदिन समेत आग्रह गर्नुभयो,' पोखरेलले भने, ‘त्यस्तो त गर्न सकिंदैन भनेपछि रिसाउनु भएको छ ।’ वडा अध्यक्ष, राजनीतिक दलका नेता र शिक्षक संघसंगठनका पदाधिकारीले भने नगरपालिकाले विद्यालय स्थगन र तहघटाउने काम गर्न नहुने भन्दै दवाव दिइरहेका छन् । नगरपालिकाले भने आफ्नो निर्णय कार्यान्वयनको तयारी गरिसकेको छ ।

शिक्षा मन्त्रालयले बैसाख महिनालाई भर्ना अभियान चलाउने नीति बनाएको छ । निजी विद्यालयका संचालक घरघरमा पुग्दा सामुदायिकका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीले वास्ता समेत नगरेका हुन् । शुन्य विद्यार्थीको कारण स्थगन भएका विद्यालयका संरचना पनि जीर्ण बन्दै गएका छन् ।

विद्यार्थी अभावमा स्थगन भएको बागलुङ नगरपालिका-१४ को शिव प्रावि अहिले भग्नावषेशको रुपमा परिणत भैसकेको छ । यो विद्यालय तीन वर्ष अघि स्थगनमा परेको थियो । बागलुङ नगरपालिका-१४ कै सरस्वती प्रावि, वडा नं १३ को कृष्ण प्राविको भवन पनि भत्केर जीर्ण भएको छ । लाखौं लगानी भएका भवन भत्केर राज्यको लगानी समेत बर्बाद भएको स्थानीय राजेन्द्र ढकालले बताए । ‘अन्य कामकालागि भएपनि यी भवनहरु सदुपयोग गर्न सकिन्थ्यो, त्यो पनि वास्ता छैन’ ढकालले भने ।

विद्यार्थी संख्या न्युन भएपनि कतिपय विद्यालयमा त राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र नगरस्तरीय बजेट पारेर भवन बनेका छन् । बागलुङ नगरपालिका १४ को आधारभूत विद्यालयमा त चालुवर्षपनि २० लाख रुपैयाँको दुइकोठे नयाँ भवन निर्माण भएको छ । तर कक्षा ७ र ८ मा विद्यार्थी शुन्य भएका छन् । गतवर्षपनि यहाँ चारकोठे भवन बनेको थियो । यो विद्यालयमा कुल १६ कोठा छन् । वडा नं ३ को बसुनधरा प्राविमा पनि १० कोठा छन् । तर ३ वटा मात्रै कक्षा संचालनमा आएको हो । ती विद्यालयमा गरिएको लगानी सदुपयोग हुन नसकेको उपप्रमुख खड्काले बताए । ‘ती विद्यालयमा पुग्दा करोडौं रकम खेर फालिएछ भन्ने लाग्छ’ खड्काले भने, ‘त्यहींका शिक्षक र राजनीतिक नेताहरुले अनावस्यक दवाव दिनुभएको छ ।’ अब भने नगरपालिका पछि नहट्ने उनले बताए ।

शिक्षा ऐन आउन नसक्दा अहिले सम्म २०२८ सालको कानूनमा टेकेर काम गर्नुपर्ने चुनौती रहेको शिक्षा बिकास तथा समन्वय इकाई बागलुङका प्रमुख युक्तप्रसाद शर्माले बताए । ‘पुरानो ऐन र नियमाबलीमा ४५ जना विद्यार्थीलाई एकजना शिक्षक भन्ने थियो अहिले त्यो मिल्दैन’ शर्माले भने, ‘ऐन नियमाबली एकातिर आवस्यकता अर्को तिर भैसकेको छ ।’ बसाइ सराई र सहरकेन्द्रीत बसोबासले गाउँका विद्यालय रित्ता भएको उनले बताए ।

अहिले पनि कक्षा १ को मात्रै विद्यालय स्विकृत गर्नु पर्दा हिमालमा भए ३०, पहाडमा भए ४० र तराइमा भए ५० विद्यार्थी परिकल्पना गरिएको शर्माको भनाइ छ । बालबिकास केन्द्रमा २५ जना भए मात्र एउटा सहयोगी कार्यकर्ताको दरबन्दी दिने नियम छ । तर अहिले ग्रामीण क्षेत्रका अधिकांस बालबिकासमा ७ जना पनि पुग्दैनन् । ७ जना सम्म भएमा बालबिकास स्थगन नगर्ने बागलुङ नगरपालिकाले बनाएको कार्यविधिमा उल्लेख छ ।

प्रकाशित : वैशाख ८, २०८१ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?