कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

शिक्षितबाटै त्रिविको दोहन

पाठक पत्र

‘त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर रकम असुल्दै प्राध्यापक र कर्मचारी’ शीर्षकको खबर फोहोर र कुशासनको भारीले थिचिएको त्रिविलाई अरू लुछेर क्षतविक्षत वनाउन खोजिएको विषयसँग सम्बन्धित छ ।

शिक्षितबाटै त्रिविको दोहन

राजधानीमा रहेको त्रिवि परिसरको अनमोल जग्गामाथि शिक्षा क्षेत्रकै दिग्गजहरूबाट लामो समयदेखि व्यक्तिगत सम्पत्तिजस्तो गरी भाडामा लगाएर मोजमस्ती गरेको विषयले सबैलाई स्तब्ध तुल्याएको छ भने त्रिविको शैक्षिक बेथितिबाट दुखित बन्दै आएकाहरूमाथि अरू निराशा थपेको छ ।

जग्गामाथि हालीमुहाली गर्दै नांगो नाच देखाउनेहरूमा नेपाल प्राध्यापक संघले त्रिवि मूल गेटअगाडि ७ रोपनीमा नर्सरी र भवन बनाएर भाडामा दिएको छ । त्रिवि प्राध्यापक संघले बल्खुको ६ रोपनीमा सुमो पार्क र नर्सरीलाई अनि त्रिवि कर्मचारी संघले त्रिवि मूल गेटअगाडि ५ रोपनीमा पेट्रोल पम्प र भवन बनाएर भाडामा दिएको छ । शिक्षित, प्रबुद्ध, प्राज्ञिक, चेतनशील वर्गबाट त्रिविको जग्गामा हालीमुहाली भइरहेको होला भनी धेरैले विश्वास गरेका थिएनन् । वस्तुतः नेपाल प्राध्यापक संघ देशभरका विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापकको छाता संस्था भएका कारण शैक्षिक अराजकता, बेथिति, विसंगति नियन्त्रण गर्नुपर्ने अपेक्षा सबैको थियो । यता त्रिवि प्राध्यापक र कर्मचारी संघ पनि त्रिविमा कार्यरत प्राध्यापक, कर्मचारीको छाता संगठनका रूपमा चिनिँदै आएको, जसको उत्कृष्ट व्यवस्थापनबाट त्रिविको गरिमा, पहिचान बढ्ने आशा शिक्षाका पारखीले गर्दै आएका थिए । हुन त उक्त जग्गाको अपचलनबारे संघका जिम्मेवार पदाधिकारीसँग प्रश्न गर्दा ‘सिनियरहरूको कामलाई निरन्तरता दिएको’ भन्नेजस्ता हल्का, अनुत्तरदायी, जिम्मेवारीविहीनतासँग जोडिएका जवाफ आइरहेका छन्, जुन हास्यास्पद छ । नेपाली कांग्रेससँग ती संघहरू आबद्ध भएका कारण राजनीतिक संरक्षण पाइरहेको यथार्थ स्पष्ट छ । यसअघि पनि त्रिविको शैक्षिक अराजकता, जग्गामाथि मच्चाइएको ताण्डवमा ठूला राजनीतिक दलसँग आबद्ध संघ, संगठनको संलग्नता रहेको कसैबाट लुकेको छैन । पछिल्लो प्रकरणमा संलग्न व्यक्तिलाई पनि शिक्षामन्त्री एवं त्रिविका उपकुलपतिले कारबाही गर्न सकेनन् भने त्रिवि अरू तहसनहस वन्ने निश्चित छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख २३, २०८१ ०५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?