कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

निगमको ओरालो यात्रा

पाठक पत्र

‘जहाज ५ महिनासम्म ग्राउन्डेड हुँदा अर्ब घाटा, जिम्मेवार को ?’ शीर्षकको सम्पादकीय स्वार्थ, चरम व्यवस्थापकीय लापरबाहीका कारण नेपाल वायुसेवा निगम (नेवानि) अर्बौं ऋणमा डुब्नुका साथै देशले विदेशमा बदनामी कमाएको विषयसँग सम्बन्धित छ । मूलतः २०४६ सालपछि धराशायी बन्दै आएको नेवानिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा कुनै पर्यटनमन्त्री र प्रधानमन्त्रीले ध्यानै दिएको पाइएन ।

जिम्मेवार नेतृत्व उदासीन बनिरहँदा व्यवस्थापन पक्षबाट निगमलाई घाटामाथि घाटा थोपर्ने क्रियाकलापले निरन्तरता पाइरहेको छ । पछिल्लो समय न्यारोबडी जहाज ५ महिनासम्म ‘ग्राउन्डेड’ भई निगमले एक अर्ब रुपैयाँभन्दा बढी कारोबार गुमाउँदासमेत सत्ताधारी, सरोकारवाला समस्याप्रति चिन्तित नबनेको देखिन्छ । सुरुमा जिम्मेवार नेतृत्व, नेवानिका प्रशासकले चासो नदिँदा बल्लतल्ल ५ महिना लगाएर इजरायलमा विमान मर्मत गरिएको र सो अवधिमा दैनिक ११ लाख रुपैयाँ ऋणबापतको ब्याज सरकारले तिर्नुपरेको, नेपाल आवतजावत गर्ने लाखौं स्वदेशी, विदेशीलाई मर्का परेकोलगायत यथार्थ दुःखद छन् ।

वस्तुतः पहिले देशविदेशमा चर्चित बनेको नेपाल वायुसेवा निगमलाई क्षतविक्षत पार्न उद्यत् हालसम्म २९ वटा सरकारको नेतृत्व गर्ने कार्यकारी प्रमुखलाई दोषी ठहर्‍याउन कर लाग्छ । नेवानिका कर्मचारीको मात्र कमजोरी हुँदो हो त पहिले तिनैबाट कसरी नेवानि विश्वकै उत्कृष्टमध्येको हवाई कम्पनी बन्न सक्यो ? २०४६ सालयताको तितो यथार्थ कोट्याउँदै परमधाम भइसकेका प्रधानमन्त्रीबाहेक बाँकीसँग नेवानि डुब्नुमा ‘तपाईं कति दोषी हुनुहुन्छ ?’ भन्ने प्रश्न तेर्स्यायो भने सबैले भएभरको दोष अरूमाथि थोपर्ने निश्चित छ ।

विगतका नेवानिसँग सम्बन्धित धमिजा, लाउडा काण्ड, अर्बौं रुपैयाँमा चिनियाँ विमान किनेर थन्किएको दुर्दशादेखि वाइडबडी विमान खरिद प्रकरणसम्म जिम्मेवार नेतृत्वको भूमिका उल्लेख्य रहेको यथार्थ उत्तिकै पीडादायी बनेको छ । अर्को सन्दर्भ, कुशासनले चुरे क्षेत्रलाई मरुभूमिसरह बनाइएको कारणले मुलुक डढेलो, आगलागीबाट जलिरहँदा जनताको दुःखपीडाभन्दा राजनीतिक अभीष्ट पूरा गर्न इलाममा उल्टेका दलहरूको स्वार्थ टिठलाग्दो बनेको छ । यावत् सन्दर्भ केलाउँदा सञ्चार क्षेत्र अर्थात् चौथो अंग अरू सक्रिय नभएसम्म मुलुक उँभो नलाग्ने निश्चित छ ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख २१, २०८१ ०५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?