कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया

'स्वतन्त्र, व्यावसायिक र अनुसन्धानमूलक पत्रकारिताले पर्दाफास गरेका तथ्यबाट अत्तालिएको समूहले समाजमा भ्रम सिर्जना गर्न यस्तो हदसम्मको हर्कत गरेको हो '

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सर्वोच्च अदालतका न्यायाधीशदेखि आफूसमेतलाई जोडेर 'फेक न्युज' उत्पादन  तथा सम्प्रेषण' गर्नेलाई कारबाही गर्न माग गरेका छन् । 

'फेक न्युज' सम्प्रेषण गर्नेलाई कारबाही गर : अध्यक्ष सिरोहिया

'सिधाकुरा डट कम' अनलाइनले शुक्रबार अध्यक्ष सिरोहियासहितको नाम जोडेर भ्रामक अडियो बनाई संप्रेषित गरेपछि उनले प्रेस काउन्सिललाई पत्र पठाउँदै कारबाहीको माग गरेका हुन् । उनले यस्तो हथकण्डा गर्नेहरूको पछाडि को छ ? त्यसको पनि पहिचान गरी कारबाहीको दायरामा ल्याउन राज्यका निकायहरुलाई अनुरोध गरेका छन् ।

‘फेक न्युज’ उत्पादन तथा सम्प्रेषण कानुनी रूपमा पनि दण्डनीय अपराध हो । तर अहिले प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्री उत्पादन गर्ने कारखाना बनाएर छद्म व्यक्तिहरूले आफ्नो पूर्वाग्रह साध्नका लागि प्रयोग गरिरहेका छन् । यस्ता समूहले निष्ठावान् व्यक्ति र संस्थाको मानमर्दन मात्र होइन, राज्यका शासकीय संरचनाका विभिन्न अंगहरूलाई बदनाम गर्ने हथकण्डा पनि गरिरहेका छन् । यसैको पछिल्लो कडीस्वरूप सर्वोच्च न्यायपालिका र मिडिया हाउसको नाम जोडिएको हो,' अध्यक्ष सिरोहियाले काउन्सिललाई दिएको उजुरीपत्रमा छ ।

हुँदै नभएको बैठक रचना गरेर, पात्रहरूलाई उपस्थित भएको बनाएर तयार पारिएको यो नाटक निश्चित मिडिया हाउस र न्यायाधीशमाथि मात्र होइन, समग्र व्यावसायिक पत्रकारिता र न्यायपालिकामाथि अनास्था फैलाउने उद्देश्यबाट प्रेरित छ भन्ने स्पष्ट रहेको उनले उल्लेख गरेका छन् ।

'लोकतान्त्रिक व्यवस्थाका स्तम्भलाई कमजोर बनाएर भीडको शासनमा मनमौजी गर्न खोज्नेहरूलाई पहिचान गरी निरुत्साहित गर्न नसकिएमा अब ढिलो हुनेछ भन्ने मेरो ठहर छ' उनले भनेका छन्,'त्यसैले यो हथकण्डाका पछाडि को छ ? अनुसन्धान गरी कानुनप्रति जवाफदेही बनाउन कान्तिपुर मिडिया ग्रुप प्रेस काउन्सिल र सो संस्थामार्फत राज्यका सरोकारवाला सबै निकायसँग माग गर्दछ ।'

स्वतन्त्र, व्यावसायिक र अनुसन्धानमूलक पत्रकारिताले पर्दाफास गरेका तथ्यबाट अत्तालिएको समूहले समाजमा भ्रम सिर्जना गर्न यस्तो हदसम्मको हर्कत गरेको हो भन्ने अध्यक्ष सिरोहियाको शंका छ । 'अझ यसमा स्वतन्त्र न्यायपालिका र माननीय न्यायाधीशको नामसमेत जोडेर न्यायपालिकालाई बदनाम गर्ने प्रयास गरिएकामा दुःख व्यक्त गर्दछु,' उनले भनेका छन् ।

लोकतन्त्रको पक्षमा कान्तिपुर मिडियाले गरिरहेको पहरेदारी तथा भ्रष्टाचार र बेथितिप्रतिको खबरदारीलाई हतोत्साहित गर्न सकिन्छ कि भन्ने कुत्सित मनसायले यस्तो ‘फेक न्युज’ उत्पादन र सम्प्रेषण भएको अध्यक्ष सिरोहियाको ठम्याई छ । 'तर, यस्ता हथकण्डाबाट ‘कान्तिपुर मिडिया ग्रुप विचलित हुने छैन भन्ने प्रस्ट पार्न चाहन्छु' अध्यक्ष सिरोहियाले भनेका छन् ।

यही भ्रामक अडियोमा नाम जोडिएका सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले र संवाददाता सुरेन्द्र काफ्लेले पनि आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् ।


प्रकाशित : वैशाख १४, २०८१ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?