२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

टुँडिखेलमा बुधबारदेखि ‘सीप मेला’

काठमाडौँ — काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ आयोजना गर्दैछ । महानगर गौरव ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजनाअन्तर्गत ‘सीप मेला’ आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी हुन् । मेलामा ३४ भन्दा धेरै पेसासम्बन्धि तालिम दिइने छ । 

टुँडिखेलमा बुधबारदेखि ‘सीप मेला’

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि योजनाअन्तर्गत महानगरपालिकाले विभिन्न कार्यक्रम अघि सारेको छ,’ उपप्रमुख डंगोलले भनिन्, ‘हामीले यो कार्यक्रमअन्तर्गत पाँच हजार जनालाई रोजगारी दिने लक्ष्यसहित काम गर्दै आएका छौँ । त्यति संख्यामा रोजगारी दिनका लागि थरीथरीका कार्यक्रम गर्नुपर्ने हुन्छ । हामीले त्यहीअनुसार ‘सीप मेला’ को आयोजना गर्न लागेका हौँ ।'

‘सीप मेला’ मा २ हजार ८१ जनालाई एक महिने निःशुल्क तालिम दिन लागेको पनि डंगोलले जानकारी दिइन् । ‘सीप मेला’मा रोजगारदाता र बेरोजगार अनि रोजगारीका लागि अवसर खोजिरहेकाहरुलाई एकै ठाउँमा राखेर व्यावसायिक तालिमसहित रोजगारी सिर्जना गर्ने उद्देश्य रहेको उनले बताइन् । डंगोलले नजानेकालाई सीप सिकाउने, सीपको आधारभूत तालिम लिएकालाई स्तरोन्नति गराएपछि बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने वातावरण निर्माण गर्नेलगायतका उद्देश्य पनि ‘सीप मेला’ मा राखिएको जानकारी दिइन् ।

उनका अनुसार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान), नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ एफपी टीइएन, ग्लोकल, सिप्रदी ट्रेडिङ् र सीसीईटीभी स्टेशन एण्ड स्मार्ट होमसँग तालिम सञ्चालन गर्न सहकार्य भएको छ । तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएको महानगरले जनाएको छ। ती क्षेत्रभित्र २९ प्रकारका पेसागत तालिम हुनेछन् ।

तालिममा अटो मोबाइल्स, निर्माण क्षेत्र, हस्पिटालिटी एण्ड म्यानेजमेन्ट, सूचना प्रविधि, मेकानिकलमा वेल्डिङ र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियन, आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चर, गार्मेन्ट्स, व्युटिसियन, डिजाइनिङ, पुरोहित विषय समेटिनेछ । तालिमको अन्तिम दिन रोजगार मेलासमेत हुने महानगरले जनाएको छ ।

प्रकाशित : वैशाख १८, २०८१ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?