२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

ड्रेक प्यासेजको चिहानमाथि 

समुद्रमा बेपत्ता भएका भूताहा जहाजका जुन कथाले मलाई रहस्य–लोकमा लैजान्थ्यो, म त्यही लोकमा थिएँ । त्यो ‘तिलस्मी–संसार’ मेरै आँखा सामुन्ने थियो । र, कथामा जस्तै त्यसबेला पनि मसँग उही रोमाञ्च, कौतुहल, डर र उत्साह थियो । 
यदि अन्टार्कटिका संगीत हुन्थ्यो भने त्यो सायद मोजार्ट हुन्थ्यो । चित्रकारिता भएको भए माइकल एन्जेलो हुन्थ्यो र साहित्य भएको भए सेक्सपियर । तर, त्यहाँ पुगेपछि लाग्यो, ती सबैभन्दा माथिल्लो केही हो– अन्टार्कटिका । – एन्ड्रयु डेन्टन

समुद्रमा बेपत्ता भएका भूताहा जहाजका कथाले कुनै रहस्य–लोकतिर लैजान्थे मलाई । ती तिलस्मी लाग्ने कथा–श्रवणपछि मस्तिष्कमा अनेक नयाँ कथा जन्मिन्थे– जस्तो गहिरो नीलो समुद्रमुनि बिस्तारै डुबिरहेको विशाल जहाजको चित्र आउँथ्यो । बिस्तारै टुक्रिँदै गरेका जहाजका पार्टपुर्जा धीमा गतिमा समुद्रमा तैरिरहेका–डुब्दै गरेका हुन्थे ।

ड्रेक प्यासेजको चिहानमाथि 

जहाजमा सवार बाँच्न संघर्ष गरिरहेका, चिच्याइरहेका मान्छेहरू समुद्र–पिँधमा चिरनिद्रामा लीन हुन्थे । पिंँधमा जहाजका पार्टपुर्जाभित्र माछाहरू आउजाउ गर्थे, समुद्री जीव बास बस्थे । समुद्र–संसारको यस्तो कल्पनाले उसै मन आत्तिन्थ्यो, डरले शरीरमा काँडा उम्रिन्थे ।

समयको रफ्तारमा अगणित सपना, वेगले दौडिरहेका महत्त्वाकांक्षा र रहरले पखेटा हालेपछि कल्पना–लोकका ती भूताहा जहाज पनि मस्तिष्क–कोषभित्रै कतै विलुप्त भए । तर, केही समयअघि विशाल समुद्रको त्यो मायावी रहस्यको साक्षी भएँ म ।

युनाइटेड अरब इमिरेटको दुबई सहरबाट अर्जेन्टिनी राजधानी ब्युनर्स आयर्सको लामो प्लेनयात्रामा मन उद्वेलित थियो । नयाँ ठाउँ जाँदा मनमा यस्तो उद्वेलना कहिलेकाहीँ भइरहन्छ । यसपटकको अन्टार्कटिका यात्रामा भूताहा जहाजहरूको ‘लास’ माथि तैरिँदै जानुपर्छ भन्ने थाहा पाउँदा पनि मन ढुकढुक भएको थियो ।

पहिलो पटक अन्टार्कटिकाबारे कहाँ सुनेँ ? सम्भवतः विद्यालयमै हुनुपर्छ । हिउँ नै हिउँको

प्रदेश ! केवल प्रदेश होइन, पूरै महादेश हिउँकै कारण स्थायी रूपमा मानवविहीन बस्ती ! ती बर्फिला मानवविहीन थलोका कथा सुन्दा साँच्चै रोमाञ्चित हुन्थेँ म । नहोऊँ पनि कसरी, तराईमा जन्मिएको म, कहिलेकाहीँ पर्ने असिनाले त रोमाञ्चित पार्थ्यो । झन् पूरै महादेश नै हिउँ । सुन्दै अनौठो । समुद्र र हिउँ मलाई असाध्यै मनपर्छ । जहाँ म जन्मेँ, हुर्किएँ, त्यहाँ समुद्र र हिउँको अभाव थियो । अभावले नै तान्छ भन्थे, हो कि ? सायद त्यही भएर पो तिनले मलाई आकर्षित गरेका थिए कि !

वेगवान समयको घोडाले मलाई हिम–देश पुर्‍याएर छाड्यो । अध्ययनका क्रममा म हिउँदेश पुगेँ– रुस । त्यहाँ अघाउन्जेल हिउँ हेरेँ, खेलेँ, रोम–रोममा हिउँ मसँग परिचित बन्यो । अथवा भनौं, मैले त्यसलाई आत्मसात गरेँ ।

दोस्रो पटक अन्टार्कटिका–कथा फेरि रुसमै सुनेँ । त्यहाँको टेलिभिजन च्यानलमा पृथ्वीका अनौठा ठाउँहरूबारे प्रायः कार्यक्रम प्रसारण भइरहन्थे । शीतयुद्धको चरम अवधि थियो त्यो । ‘को बढी विकसित ?’ भन्ने होडबाजीबीच त्यो बेला सोभियत संघले पनि अन्टार्कटिकामा गरिने अनुसन्धानका लागि ठूलै लगानी गरिरहेको थियो । त्यसैको परिणामस्वरूप टेलिभिजनमा त्यहाँका गतिविधि आइरहन्थे । हिउँ चिप्लेटी खेल्न सहजै पाइने ठाउँमा पनि जब अन्टार्कटिकाका प्रसंग आउँथे, जोर आँखा एकटक टेलिभिजनमै टाँस्सिइरहन्थे ।

खासगरी रुसी समुद्र–शास्त्री तथा आर्कटिक–अन्टार्कटिक अनुसन्धान केन्द्रका वैज्ञानिक आर्थर चिलिंगारोभ र उनको टोलीले गरेको अन्टार्कटिका अनुसन्धानसम्बन्धी एउटा कार्यक्रम सन् १९९० को दशकतिर रुसी टेलिभिजनमा आउँथ्यो । त्यो कार्यक्रमले मलाई कहिले त्यहाँ पुगुँला भन्ने हुटहुटी अझै बढाइदिएको थियो । जुन दिन मैले एक्लै युरोपभरि रेलयात्रा गरेको थिएँ, त्यस क्षणदेखि नै ममा यात्रा गर्ने आत्मविश्वास बढ्यो । थोरैथोरै पैसा जोगाएर भए पनि म संसार डुल्छु भन्ने संकल्प मैले त्यतिबेलै गरेको थिएँ ।

त्यसपछि नजाने कति ठाउँ गइयो । परिवारसँग डुलियो, साथीहरूसँग घुमियो, एक्लै पनि बरालिइयो । अन्टार्कटिकाको पालो भने आएन । त्यस बेलादेखि नै मैले अन्टार्कटिकाबारे लेखिएका किताबहरू पढेको थिएँ । टेलिभिजनका दृश्य, किताबका पाना, अखबारका पृष्ठमा अन्टार्कटिका देख्दा स्वाभाविक रूपमै नजर अडिने भइसकेको थियो । त्यही बेला मैले सर अर्नेस्ट स्याकलटनको बहुचर्चित अन्टार्कटिका यात्राबारे सुनेको थिएँ । अलि पछि किम स्टानली रबिन्सनको पुस्तक ‘अन्टार्कटिका’ किनेको थिएँ । पछि त मेरो सानो पुस्तकालयमा अन्टार्कटिकामाथि लेखिएका आधा दर्जन किताब जम्मा भइसकेका रहेछन् । केही पुस्तक आधा पढेँ, केहीका खोल मात्रै सुम्सुम्याएँ, केही पुस्तक भने यत्तिकै थन्किए । लाग्थ्यो, अन्टार्कटिका जाने बेला सँगै लिएर जाउँला, उतै पढुँला ।

अन्टार्कटिकामाथि एन्ड्रयु डेन्टनले भनेको सम्झन्छु, ‘यदि अन्टार्कटिका संगीत हुन्थ्यो भने त्यो सायद मोजार्ट हुन्थ्यो । चित्रकारिता भएको भए, माइकल एन्जेलो हुन्थ्यो होला र साहित्य भएको भए त्यो सेक्सपियर । तर, त्यहाँ पुगिसकेपछि मलाई लाग्यो, ती सबैभन्दा पनि माथिल्लो चिज अन्टार्कटिका हो ।’

अन्टार्कटिका जाने प्रचलित केही रुट छन् । कोही चिलेको पुन्टा अरेनासबाट अन्टार्कटिकाको जर्ज आइल्यान्डसम्म हवाईजहाज यात्रा गर्छन् । तर, अधिकांश भने अर्जेन्टिनाको सुदूर दक्षिणमा रहेको उस्वाया पोर्ट सिटी हुँदै अन्टार्कटिका पुग्छन् । यो नै सबैभन्दा छोटो रुट हो ।

मेरा लागि ९ डिसेम्बर २०२३ महत्त्वको मिति बन्न पुग्यो । मैले त्यही दिन स्वूप ट्राभल नामक कम्पनीमार्फत अन्टार्कटिका यात्रा सुनिश्चित गरेको थिएँ ।

हुन त त्यसअघि पनि मैले जाने मिति तय नगरेको होइन । अन्टार्कटिका जाने प्रस्ताव राख्दा केही साथीभाइले चासो दिएनन् । केहीले डर माने, तर क्यानाडा निवासी घनश्याम राजभण्डारी तुरुन्तै तयार हुनुभयो । उहाँको स्वास्थ्य उति ठीक नभएकाले हामीले यात्रा सुनिश्चित गर्न सकेका थिएनौँ । उहाँको बढ्दो उमेर र मुटुसम्बन्धी समस्याका कारण सम्पूर्ण स्वास्थ्य जाँच गर्नुपर्थ्यो र चिकित्सकीय परामर्श चाहिन्थ्यो । ‘सावधानीपूर्वक यात्रा गर्दा फरक पर्दैन’ भन्ने सुझाव चिकित्सकबाट आएपछि हामीले यात्रा निश्चित गरेका थियौँं ।

युरोप–अमेरिकाका कैयौँ ठाउँमा पटक–पटक हामी दुईले मात्रै वा कहिलेकाहीँ सपरिवार यात्रा गरेका छौँ । उहाँ असाध्यै व्यावहारिक र आत्मीय हुनुहुन्छ । अन्टार्कटिकाको यात्रा–योजना उहाँलाई सुनाउँदा सुरुदेखि नै अत्यन्त उत्साहित हुनुभयो । १५ वर्षअघि उहाँको मुटुमा पेसमेकर राखिएको थियो र मुटुसम्बन्धी औषधी नियमित सेवन गरिरहनुभएको थियो । चिकित्सकको सिफारिसबिना यात्रा गर्नु सम्भव थिएन । यात्रा तय भइसकेपछि एउटा पुरानो प्रतीक्षा सकिएको थियो । अन्टार्कटिका पुग्ने लामो समयदेखिको त्यो सपना बल्ल पूरा हुँदै थियो । चिकित्सकले घनश्याम दाइलाई स्वीकृति नदिएको भए म एक्लै भए पनि यो यात्रामा जाऊँ कि भन्ने नलागेको होइन, तर मनले साथी नै खोज्यो । पहिले त ब्याकप्याक लिएर पनि हिँडिहाल्थेँ ।

क्रुइज यात्राका लागि धेरै कम्पनी थिए । दाइले नै स्वूप ट्राभल कम्पनी छान्नुभएको थियो । हामीलाई अन्टार्कटिका घुमाउने कम्पनीको नाम स्वान हेलेनिक र पानी जहाजको नाम स्वान हेलेनिक भेगा थियो । स्पिरिट अफ अन्टार्कटिका नाउँको एक्सपिडिसन कम्पनीले हामीलाई त्यहाँ डुलाउँदै थियो । उनीहरूले त त्यस यात्राको थिम बनाएका रहेछन्, ‘सी ह्वाट अदर्स डोन्ट । ’

त्यो हेर्नुस्, जो अरू हेर्न पाउँदैनन् वा सक्तैनन् वा हेर्नबाट जीवनैभर चुक्छन् । यो थिमले मलाई फेरि तान्यो । यात्रा संयोजन गर्ने कम्पनीबाट धमाधम सूचनाहरू आउन थाले । कम्पनीले हामीलाई ‘१२ जनवरीभित्र अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगिसक्नुपर्ने’ जनाएको थियो । जाने निश्चित भएपछि मैले परिवारका सबै सदस्यलाई जानकारी दिएँ । कान्छो छोरा अनुकृतले तुरुन्तै गुगल गरेछ । म्यासेजमा उसले लेख्यो, ‘अन्टार्कटिकामा पाइला टेक्ने पर्यटक, अन्वेषक, तिनका सहयोगी, ह्वेल सिकारीहरूसमेत जोड्दा अहिलेसम्म १० लाख पनि कटेका छैनन् ।’ मुस्कानको इमोजी पठाउँदै उसले लेख्यो, ‘यु विल बी एमोङ दोज ०.१२५ पर्सेंट लक्की पिपल अन अर्थ हु ह्याभ ल्यान्डेड इन् अन्टार्कटिका सो फार । ’

मनले भन्यो, ‘अहो ! साँच्चि ? के म तिनै केही सीमित भाग्यमानीमध्येमा परेँं त ?’

त्यसपछि भने अचानक लाग्यो– कति नेपाली अन्टार्कटिका पुगे होलान् ? पुगेकामध्ये उनीहरूसँगै म पनि जोडिने भएँ ।

यसपछि मैले भिसाका लागि प्रक्रिया सुरु गरेँ । अर्जेन्टिनाले अमेरिका र कतिपय युरोपेली देशका नागरिकलाई अनअराइभल भिसाको सहुलियत दिएको छ । ती देशको भ्यालिड भिसा भएका विदेशी नागरिकलाई पनि अर्जेन्टिनाले पर्यटकीय भिसा दिन्छ । इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (एटा) नामक ट्राभल भिसा लिन त दूतावास पनि पुग्नुनपर्ने रहेछ । सबै अनलाइनबाटै लिन सकिने रहेछ । यो सुविधा नेपालसहित विश्वका ७० देशले उपयोग गर्न पाउँदा रहेछन् । अन्य कतै जान लागेका पर्यटकलाई बीचमा ट्रान्जिट पर्ने अवस्थामा पनि यो सुविधा दिइएको

रहेछ । यात्राका लागि सबै तयारी भइसकेको थियो, तर भिसा अप्रुभल भइसकेको थिएन । अनलाइन एप्लाई गर्दा २० वर्किङ डेसम्म लाग्न सक्ने सूचना आयो । साँच्चिकै २० दिन लाग्ने भए त बुकिङ नै रद्द गर्नुपर्ने पो हो कि ? भन्ने चिन्ता बढेर आयो, तर २८ डिसेम्बरको बिहानै भिसा स्वीकृत भएको इमेल पाएँ ।

त्यसपछि भने यात्राका लागि चाहिने आवश्यक सामग्री किनमेलमा लागियो । कम्पनीले नै किन्नुपर्ने सामग्रीको सूची पठाएको थियो । अन्टार्कटिकाको ठन्डी र चिसो बतास सामना गर्न सक्ने कपडा खरिद गरियो । ट्राभल कम्पनीले आफैं डाउन ज्याकेट र यात्रा अवधिभरिका लागि बुट उपलब्ध गराउने जानकारी दिएको थियो ।

छोराहरू हुर्किएपछि यात्रामा एउटा आनन्दचाहिँ मलाई भइरहेको छ । यात्रामा छोटो समयमा कहाँ के गर्न सकिन्छ भन्ने सुझावसहित इमेल गरिरहन्छन् । उनीहरू ‘ब्युनर्स आयर्स र रिओ डे जेनेरोमा हेर्ने ठाउँ के–के हुन सक्छन्, के–के भ्याउन सकिन्छ ?’ सुझाइरहेका छन् । अनुकृतले चेताउँदै भन्यो, ‘दक्षिण अमेरिकाचाहिँ यात्रुका लागि साह्रै असुरक्षित छ है !’ उनीहरूले मप्रति दर्साएको चिन्ताको एक झमट रमाइलो पनि लाग्छ र उताको तयारी सक्छु ।

१० जनवरी काठमाडौंबाट दुबई र त्यहाँबाट ब्राजिलको रिओतिर लागियो । दुबईदेखि रिओको उडान समय १५ घण्टामा अल्बर्ट पोडेलको ‘अराउन्ड द वर्ल्ड इन् फिफ्टी इयर्स’ किताब फेरि पढ्ने प्रयास गरेँ । केही बलिउड क्लासिक छानेँ । घनश्याम दाइ टोरन्टोबाट न्युयोर्क र त्यहाँबाट ब्युनर्स आयर्समा १२ जनवरीमा भेट हुनुभयो । त्यतिन्जेल मैले अर्जेन्टिनी राजधानीका केही ठाउँ हेरिभ्याइसकेको थिएँ । त्यहाँको ‘रिकोलेत्ता चिहानघर हेर्नैपर्ने’ भन्ने सुनेकाले निकै भव्य र कलात्मक त्यो ठाउँ पुगियो । हाम्रातिर चिहानघर, चिहाने डाँडो निकै उपेक्षित छन् तर पश्चिमा र खासगरी क्रिस्चियनहरूले त्यसलाई निकै सजाउने गरेको पाएको छु । धेरै चिहानघरहरू घुमेँ म, तर रिकोलेत्ता जत्तिको सजाइएको चिहान कुनै लागेन । यहाँ समाधिस्थ हुन पाउनु निकै गौरव मानिँदो रहेछ ।

१३ जनवरी हामी उस्वाया पुग्यौँ । यहीँबाट हाम्रो अन्टार्कटिकाको यात्रा सुरु हुँदै थियो । उस्वाया पृथ्वीको सबैभन्दा दक्षिणमा रहेको मानवबस्ती रहेको सहरका रूपमा समेत चिनिन्छ । त्यसैले सायद होला यो ठाउँले ‘इन्ड अफ दि वर्ल्ड’ भन्ने उपनाम पाएको छ । राति १० बजे हाम्रो जहाज जुन सामुद्रिक क्षेत्र प्रवेश गर्‍यो, त्यसलाई ड्रेक प्यासेज भनिन्छ । इतिहासमा यो ठाउँ निकै कुख्यात छ । साह्रै डरलाग्दो क्षेत्र मान्छन् यो लोकेसनलाई, नामुद सामुद्रिक यात्रुहरू पनि । जहाज उचाल्दै, पछार्दै गर्ने ठूला सामुद्रिक छालका कारण घनश्याम दाइलाई मोसन सिक्नेसले सुत्नै दिएनछ । म भने खाना खाइवरी सुतेको, भुसुक्कै निदाएछु ।

ड्रेक प्यासेज, जहाँबाट हामी अन्टार्कटिका प्रवेश गर्दै थियौँ, त्यो संसारकै खतरनाक बाटो थियो । यहाँको सामुद्रिक छाल यति उग्र थियो कि ‘मै हुँ’ भन्नेको पनि सातो जान्थ्यो । यस्तै उग्र छालका कारण यो प्यासेजमा ८०० भन्दा बढी पानी जहाज डुबिसकेका छन् । म मस्त निदाइरहेको बेला ती जहाजको कंकाल र करिब २० हजार नाविक तथा यात्रुहरूको चिहान पार हुँदै जाँदै थिएँ । यहाँबाट गुज्रँदै जानेहरू लामो श्वास तान्दै भन्छन्, ‘हामीले समुद्रको पहाड पार गरेका छौँ ।’ यो समुद्रको पहाड छिचोल्न त्यो बेला सहज थिएन । जहाज पनि अहिलेजस्तो यस क्षेत्रलाई छिचोल्ने गरी सायद बनेका थिएनन् । त्यसैले हजारौंको ज्यान गएको थियो । अहिले समय बदलिएको छ । एक जनालाई बचाउन पनि उनीहरू निकै ठूलो मिहिनेत गर्छन् भन्ने जहाजका एक जना चालक दलका सदस्यलाई निरन्तर उल्टी भएपछि हाम्रो एक दिनको कार्यक्रम नै परिवर्तन गरेर उनलाई रेस्क्यु गराएकोबाट बुझेको थिएँ ।

जुन खतरनाक छालले हामी चढेको आधुनिक पानीजहाजलाई हल्लाइरहेको थियो, त्यसको मूल कारणचाहिँ प्रशान्त, एटलान्टिक र दक्षिणी महासागरको त्रिवेणी थियो । एकातिर प्रशान्त महासागर छ, अर्कोतिर एटलान्टिक । त्यसपछि तल दक्षिणी महासागर छ । अन्टार्कटिकाबाट आएर मिसिने चिसो पानी र तुलनात्मक रूपमा तातो महासागरको पानीको संगमस्थल नै ड्रेक प्यासेज बन्न पुग्छ । तातो–चिसो पानीको संगमले यहाँ चक्रवात बन्ने गर्छ । यी दुई किसिमका पानीको संगमस्थलका कारण लगभग एक हजार किलोमिटर क्षेत्रमा फैलिएको यस क्षेत्रमा अति नै डरलाग्दो हुरी र पानीसँगै ठूला ठूला सामुद्रिक छाल आउँछन् । यो छालको प्रवाह यति ठूलो हुन्छ कि यसले कहिलेकाहीँ ५० देखि ६० फिटसम्म अग्लो छाल निर्माण गर्छ ।

यो ठाउँबारे पहिलोपटक स्पेनी यात्रु फ्रान्सिस्को डि होसेले सन् १५२५ मा चर्चा गरेका थिए । पछि सन् १५७८ मा यो ठायउँ बेलायती सामुद्रिक डाकु फ्रान्सिस ड्रेकले पार गर्दा उनको जहाज दुर्घटनामा पर्‍यो । उनीसँगै यात्राम निस्केका दुई जहाज बेपत्ता भए पनि उनको जहाज ‘गोल्डेन हिन्द’ लाई यहाँको सामुद्रिक छालले उचाल्दै–पछार्दै किनारमा ल्याइदियो । उनी समुद्र पार गर्न नसकी हार मानेर अर्कै समुद्री रुट लिएर फर्किए । त्यो रुट उनले क्रस नगरे पनि यस खतरनाक ठाउँ नै अन्टार्कटिका पुग्ने छोटो बाटो हो भन्ने पत्ता लगाएकाले उनैको नाउँमा यसको नामकरण गरियो– ड्रेक प्यासेज ।

अरू केही अन्वेषक, नाविकहरूले पनि ड्रेक प्यासेज पार गर्ने प्रयास गरे । जेम्स कुकले त्यसको दुई सय वर्षपछि ड्रेक प्यासेज पार गरे पनि अन्टार्कटिकामा पुगिन्छ भन्ने मेसो पाउन सकेनन् ।

अर्का यात्रु सर अर्नेस्ट स्याकलटन सन् १९१५ मा अन्टार्कटिका पत्ता लगाउने मनसुबाका साथ यात्रामा निस्केका थिए । ड्रेक प्यासेज पुगेपछि उनको जहाज दुर्घटनामा पर्‍यो । त्यसपछि पनि उनले हिम्मत नहारी अन्टार्कटिका पत्ता लगाउने धुनमा केही महिनासम्म कठोर यात्रा गरिरहे । दुर्घटना परे पनि उनले सकुशल आफू र आफ्ना साथीहरूको उद्धार गरे ।

सन् १५२५ मा फ्रान्सिस्को डि होसेले ‘खतरा’ जनाउ दिएको यो प्यासेजमा म पाँच सय वर्षपछि पानीजहाज यात्रामा निस्केको छु । सर अर्नेस्ट स्याकलटनले यो प्यासेज पार गरेको ठीक सय वर्षमा म यो प्यासेजमा हल्लिरहेको छु । बिहान तीन बजे मलाई पानीको छालले जहाजसँगै हल्लाएर ब्युँझाइदियो । आँखा मिच्दै र आङ तान्दै म शौचालय जाने प्रयास गर्दा निकैबेर हल्लिरहेँ । शौचादि काम सक्न पनि हल्लाएका कारण निकै समय लाग्यो ।

बिहानको पहिलो किरण पर्दा मेरो आँखालाई अन्टार्कटिकाका हिउँथुप्राहरूले स्वागत गरिरहेका थिए । सर स्याकलटनले आफ्ना साथीहरू जोगाएको सय वर्षपछि म अन्टार्कटिका नाप्न गइरहेको पाउँदा मन रोमाञ्चित भयो । सय वर्षअघिको उनको अनुभवयुक्त २८३ पृष्ठको पुस्तक म श्रद्धा र रोमाञ्चले सुम्सुम्याइरहेको छु ।

समुद्रमा बेपत्ता भएका भूताहा जहाजका जुन कथाले मलाई रहस्य–लोकमा लैजान्थे, म त्यही लोकमा थिएँ । त्यो ‘तिलस्मी–संसार’ मेरै आँखा अघि थियो । र, त्यसबेला पनि मसँग अलिकति रोमाञ्चकता, कौतुहल, डर र उत्साह कायमै थियो ।

प्रकाशित : वैशाख ८, २०८१ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?