उपनिर्वाचन : इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता [अपडेट]

इलाम र बझाङ — प्रतिनिधिसभा इलाम–२ मा जारी मतगणनामा आइतबार राति ११ बजेसम्म एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । उनले एक हजार १ सय मतभन्दा बढीको अग्रता कायम गरेका छन् । मध्यान्नबाट सुरु भएको मतगणनाको प्रारम्भमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले अग्रता लिएका थिए ।

उपनिर्वाचन : इलाम र बझाङमा एमालेकै उम्मेदवारको अग्रता [अपडेट]

फाकफोकथुम गाउँपालिका–१, २, ३ को गणनापछि खड्कालाई उछिनेका नेम्वाङले अग्रता कायम राखेका छन् । विगतमा यो क्षेत्र कांग्रेसको पकड थियो ।

आइतबार राति ११ बजेसम्म फाकफोकथुकको ७ वटै वडाको गणना हुँदा नेम्वाङले ४ हजार ४ सय १३ र खड्काले ३ हजार २ सय ५८ मत पाएका छन् । पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ सय ६३ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ६ सय ४५ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले सोमबार साँझसम्म अन्तिम मत परिणाम सार्वजनिक गर्ने योजनाका साथ गणना भइरहेको बताए । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको यो क्षेत्रमा शनिबार भएको मतदानमा ६९ हजार २ ८७ मत खसेको थियो । आइतबार राति चुलाचुली गाउँपालिकाको मतगणना भइरहेको छ र चुलाचुलीका ६ वडामा ११ हजार १ सय ९८ मत खसेको थियो ।

अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २७ हृदयघातबाट निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो । एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाएको थियो भने कांग्रेसबाट फेरि खड्का उठेका थिए । यहाँ १२ दल र ७ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । गठबन्धनविहीन नेम्वाङले ३० हजार २० मत पाएका थिए भने प्रतिद्वन्द्वी माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनका कांग्रेस उम्मेदवार खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । यसपटक माओवादी एमालेतिर छ भने कांग्रेस एक्लै भिडेको छ ।

बझाङमा एमाले–कांग्रेस बीच कडा प्रतिस्पर्धा

६ पालिका रहेको बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनको मतगणनामा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ । आइतबार राति ११ बजेसम्म छबिस पाथीभेरा, खप्तड छान्ना पूरै र थलारा गाउँपालिका–९ को मतगणना हुँदा कांग्रेसले एमालेलाई ५६८ मतान्तरले पछ्याइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका दमन भण्डारीले ४ हजार १ सय ५८ र कांग्रेसका अभिषेकबहादुर सिंहले ३ हजार ५ सय ९० मत पाएका छन् ।

छबिस पाथीभेरा गाउँपालिका र थलारा–९ को मतगणनामा एमालेका भण्डारीले कांग्रेसका सिंहलाई ७७७ मतले पछि पारेका थिए । खप्तड छान्नाको गणनापछि कांग्रेसले मतान्तर घटाएको हो । माओवादीका जनक बुढाले २ हजार ९६ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले १ हजार २ सय २५ मत ल्याएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी प्रकाशबहादुर सिंहका अनुसार सोमबार दिउँसोसम्म अन्तिम मत परिणाम सार्वजनिक हुन सक्ने अनुमान छ । शनिबार भएको मतदानमा ३० हजार ३२८ मत खसेको छ । यहाँ ११ दलका उम्मेदवार थिए ।

२०७९ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भए पछि यहाँ उपनिर्वाचन भएको हो । कांग्रेस उम्मेदवार सिंह पृथ्वीबहादुरकै छोरा हुन् ।

गत निर्वाचनमा यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार रहेका सिंह १७ हजार १ सय १२ मत प्राप्त गरी विजयी भएका थिए भने प्रतिस्पर्धी एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ७६ मत पाएका थिए ।

प्रकाशित : वैशाख १६, २०८१ २३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?