दोश्रो चरणमा लोकसभाका ८८ सिटका लागि मतदान
नयाँ दिल्ली — भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन शुक्रबार सम्पन्न भएको छ । विभिन्न प्रदेशका ८८ सिटमा दोस्रो चरणमा मतदान भएको हो ।
कांग्रेस नेता राहुल गान्धी, शशी थरूर तथा भाजपा नेता लोकसभा अध्यक्ष ओम बिरला, हेमा मालिनी, केन्द्रीय मन्त्री राजीव चन्द्रशेखर जस्ता ‘हेवी वेट’ नेताहरु राजनीतिक भविष्यको निर्णय मतदाताले दिएका छन् । परिणाम भने ४ जुनामा मात्रै आउने हो । गान्धी केरलको वायनाडबाट चुनाव लडेका छन् । अघिल्लो पटक उनी त्यहाँबाट जितेका थिए ।
केरलको २०, कर्नाटकको १४, राजस्थानको १३, महराष्ट्र र उत्तरप्रदेशको ८/८ सिटमा मतादान हुनेछ । त्यस्तै, मध्यप्रदेशको ६, बिहार र असमको ५/५, छत्तिसगढ् र पश्चिम बंगालको ३/३ सिटमा दोस्रो चरणमा मतदान भएको हो ।
त्यस्तै, मणिपुर, त्रिपुरा र जम्मु–कश्मिरको १/१ सिट मा मतदान भएको छ । दोस्रो चरणपछि केरल, राजस्थान र त्रिपुराको राज्यको सबै क्षेत्रको मतदान पूरा भएको छ । पहिलो चरणमा तलिलनाडु, उत्तराखंड, अरुणाचल प्रदेश, मेघालय, अंडमान निकोबार, मिजोरम, नागालैंढ, पुड्डुचेरी, सिक्किम र लक्षद्वीपको मतदान पूरा भएको थियो । पहिलो चरणमा १ सय २ सिटमा मतदान भएको थियो ।
प्रारम्भिक जानकारी अनुसार उत्तर प्रदेश, बिहार र महाराष्ट्रमा अपेक्षित भन्द कम मतदान भएको छ । तीनवटै प्रदेशका निर्धारित सिटहरुमा ५३ प्रतिशत हाराहारी मत खसेको जनाइएको छ । प्रथम चरणमा पनि बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा मतदान कम भएको थियो ।
असम, पश्चिम बंगाल, त्रिपुरा र छत्तिसगढमा ७० प्रतिशत भन्दा बढी मतदान भएको छ । दोस्रो चरणमा नेपालसँग सीमा जोडिएको पश्चिम बंगालको दार्जलिङ र बिहारको किसनगंज निर्वाचन क्षेत्रमा मतदान भएको हो ।
प्रकाशित : वैशाख १४, २०८१ १९:५३