२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

७ वर्षपछि चिनियाँ विदेशमन्त्री क्यानबेरामा

अस्ट्रेलिया-चीन सम्बन्धमा सुधार आउँदै
नारायण खड्का

अस्ट्रेलिया — दुई देशबीचको सम्बन्धमा क्रमिक रूपमा सुधारका संकेत देखिएसँगै चिनियाँ विदेशमन्त्री वाङ यी सात वर्षपछि पहिलोपटक औपचारिक भेटवार्ताका लागि अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका छन् । अस्ट्रेलियामा चीनका माथिल्लो तहका उच्च अधिकारीले गरेको राजनीतिक भ्रमण सन् २०१७ यतापछिको पहिलो हो ।  

७ वर्षपछि चिनियाँ विदेशमन्त्री क्यानबेरामा

चीन र अस्ट्रेलियाबीचमा कोभिड सुरु भएपछि द्विदेशीय सम्बन्धमा तिक्तता उत्पन्न भएको थियो । अस्ट्रेलियाले कोभिडको उत्पन्नका विषयमा छानबिन गरिनुपर्ने माग उठाएपछि चीन असन्तुष्ट बनेको थियो । त्यसपछि चीनले अस्ट्रेलियाबाट निर्यात हुने अर्बौं डलर बराबरका जौ, वाइन, मासुलगायतका उत्पादनमा कडाइ गरेको थियो । जसका कारण दुई देशबीचको सम्बन्ध केही वर्षसम्म सुध्रन सकेको थिएन । तर दुई देशबीचको सम्बन्धमा सन २०२२ को डिसेम्बरमा अस्ट्रेलियाली विदेशमन्त्री पेन वोङले चीनको औपचारिक भ्रमण गरेपछि विस्तारै सहज बन्न थालेको थियो ।

गत अक्टोबरमा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजीले चीनको औपचारिक भ्रमण गरेपछि भने सम्बन्धमा क्रमिक रूपमा सुधार आएको हो । अहिले आएर चीनले अस्ट्रेलियाली उत्पादनहरूमा लगाएको कडाइलाई खुकुलो बनाउँदै गएको छ भने दुई देशबीचको व्यापारमा पहिलेको तुलनामा सुधार हुँदै गएको छ । यद्यपि अझै गाईको मासु, लोबस्टरलगायतका केही वस्तुमा लगाइएको कडाइ भने अझै पनि पूर्ण रूपमा खुल्ला हुन सकेको छैन । यसैगरी अस्ट्रेलियाले समेत चीनमा उत्पादित विन्ड टर्बाइनमा लगाएको प्रतिबन्ध हटाएको छ ।

चिनियाँ विदेशमन्त्री यी न्युजिल्यान्डको भ्रमण सकेर क्यानबेरामा आयोजित 'सातौं अस्ट्रेलिया चाइना फरेन स्ट्राटेजिक डाइलग'मा सहभागी हुन बुधबार अस्ट्रेलियाको राजधानी क्यानबेरा आइपुगेका हुन् । दुई देशका विदेशमन्त्रीका बीचमा आपसी सम्बन्ध सुधारका लागि अझ परिपक्व सम्बन्ध विस्तारमा ध्यान दिनुपर्ने विषयमा छलफल भएको समाचारमाध्यमले जनाएका छन् । छलफलमा अस्ट्रेलियाली विदेशमन्त्री वोङले चीनद्वारा भर्खरै अस्ट्रेलियाली नागरिक तथा लेखक डा. याङ जुनलाई दिइएको मृत्युदण्डको बारेमा सुनेर स्तब्ध भएको र आफ्ना नागरिक जुनलाई दिइएको सजायका बारेमा सरकारी तवरबाट वकालत गरिने बताएकी जनाइएको छ ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री वोङले बैठक दुवै देशका मन्त्रीका लागि राम्रो अवसर भएको र अस्ट्रेलियाले आफ्ना चासोका विषयलाई प्रस्ट रूपमा राखेको बताएकी थिइन् । विदेशमन्त्री वोङले दुई देशका बीचमा महत्त्वपूर्ण भिन्नता रहेको बताउँदै छलफल र संवादबाटै भिन्नतालाई व्यवस्थापन गर्न सकिने बताएकी छिन् ।

अस्ट्रेलियाका लागि चीन सबैभन्दा ठूलो निर्यात बजार हो । तथ्यांकअनुसार अस्ट्रेलियाबाट निर्यात हुने वस्तुमध्ये करिब एकतिहाई बजार चीनले ओगटेको छ । आर्थिक बर्ष २०२२–२३ को तथ्यांक हेर्ने हो भने अस्ट्रेलियाको निर्यात बजार चीनसँग करिब ३ सय १७ बिलियन डलर रहेको छ । आफ्नो सबैभन्दा ठूलो बजार प्रत्यक्ष रूपमा प्रभावित भएपछि यसलाई सहज बनाउन वा बैकल्पिक बजार खोज्नका लागि कृषक तथा व्यवसायी सरकारलाई पटक-पटक दबाब दिँदै आएका थिए । जसअनुरुप लेबर सरकार आएपछि चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर उच्चस्तरीय भेटवार्तालाई तीव्रता दिइएको थियो । जसका कारण समेत अहिले दुई देशबीचमा सम्बन्धमा सहजता आउँदै गएको विज्ञहरूको भनाइ छ ।

चिनियाँ विदेशमन्त्री अस्ट्रेलियाको दुई दिने भ्रमणमा आएका हुन । चीनका दोस्रो तहका उच्चनेता तथा प्रिमियर लि क्वाङले यस बर्षको अन्त्यमा अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजीसँग भेट हुने कार्यक्रम रहेको छ ।

प्रकाशित : चैत्र ७, २०८० १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?