१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

बेलायतमा पनि उडुसको हैरानी 

ददि सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसमा उडुस र साङ्लाको बिगबिगीको अन्तर्राष्ट्रिय चर्चा भईरहेकै बेला अहिले त्यो हैरानी बेलायतमा पनि बढेको छ । अधिकारीहरुले पेरिसबाट बेलायत पुग्ने रेलका कारण उडुस फैलिएको सार्वजनिक गरेका छन् । 

बेलायतमा पनि उडुसको हैरानी 

बेलायत र फ्रान्सबीच युरोस्टार नामको उच्चगतिको रेल चल्ने गरेको छ । हरेक दिन दर्जनभन्दा बढी ती उच्चगतिका रेल पेरिस र लण्डनबीच आतेजाते गर्छन् । दोहोरो यात्राका क्रममा पेरिसका उडुसहरु त्यही उच्च गतिको रेलमा लण्डन पुगेको भनाई विशेषज्ञहरुको छ ।

पेरिसका मेट्रो, बस, रेल, अस्पत्तालहरुमा समेत उडुसको बिगबिगी चलेको व्यापक चर्चा भएपछि अन्तर्राष्ट्रिय रेल कम्पनीले आफ्ना रेलहरूमा उडुस र अन्य किराहरूको आक्रमण रोक्न द्रुत कारबाही गरिरहेको बताएको छ ।

एक आणविक जीववैज्ञानिक र उडुस निमूल पार्ने संस्था बेडबग्स लिमिटेडका संस्थापक डेभिड केनले पेरिसमा पाइने उडुसहरु लण्डनसम्म पत्ता लगाएको दाबी गरेपछि पेरिसका उडुस लण्डन पुगेको चर्चा चलेको हो ।

कीट नियन्त्रण विशेषज्ञ केनले भनेका छन्- 'एउटा व्यक्तिले आफ्नो लन्डनको घरको ओछ्यानहरूमा उडुस परेको रिपोर्ट गरेको थियो । त्यो व्यक्ति एक हप्ता अघि यूरोस्टार रेल चढेर लण्डन आएको थियो ।'

कतिपय मानिसहरु लण्डनबाट पेरिस दिनभरिका लागि जाने, घुम्ने र एकरातपनि नबिताइ लण्डन फर्किने र तिनले उडुस ल्याउने गरेको उनले बेलायतको द इन्डिपेन्डेन्ट अखबारलाई बताएका छन् ।

रेलबाट उडुसहरु बेलायत पुगेको चर्चा चल्नासाथ युरोस्टारले आफ्ना रेलहरुमा सफाई तीब्र पारेको बताएको छ ।

आफ्नो यात्राका क्रममा उडुसबाट बच्न सुनिश्चित हुनकालागि यात्रुले कीटनाशक औषधी र रेलको सिट र अन्य फर्निचर सफा गर्न तातोपानी रेलमा माग्नसक्ने विकल्प दिएको पनि युरोस्टारले जनाएको छ ।

यसैबीच पेरिससितै जोडिएको सँ सेन्ट डेनिस क्षेत्रमा गत एक दशकदेखि उडुस र साङ्लाको बिगबिगी भएपनि सम्बन्धित अधिकारीहरुले हालसम्म बेवास्ता गरेको आरोप लगाइएको छ ।

सँ सेन्ट डेनिस नगरपालिकाका बासिन्दाहरुले एक दशकसम्म बेवास्ता गरेर अहिले सन् २०२४ को ओलम्पिक खेललाई मध्यनजर गर्दै उडुस साङ्लाका बारेमा जानकारी नपाएको र अकस्मात देखापरे झैं गरेर ढाँटेको आरोप लगाएका छन् ।

प्रकाशित : आश्विन २४, २०८० १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?