१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ७०० भन्दा बढी

गाजामा ४१३ जनाको मृत्यु
नोभा फेस्टिभलमा सरिक करिब २६० जना युवायुवतीको शवको अवशेष संकलन
रासस/सिन्ह्वा

गाजा/जेरुसेलम — हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएको छ । यस घटनापछि इजरायलको मन्त्रिपरिषद्ले आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ७०० भन्दा बढी

हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ ।

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ ।

हमासका प्रवक्ता डेनियल हागारीका अनुसार हमासका लडाकूले आइतबार साँझ दक्षिणी इजरायलका विभिन्न समुदायमालाई आफ्नो नियन्त्रणमा लिएको छ भने इजरायली रक्षा बल (आइडीएफ) का सैनिकसँग झडप भएको छ ।

इजरायली उद्धार सेवा जाकाले एक विज्ञप्ति जारी गर्दै गाजा–इजरायलको बोर्डर नजिकैको ग्रामीण कृषि क्षेत्रमा एक संगीत कार्यक्रम (नोभा फेस्टिभल) मा पार्टी गरिरहेका करिब २६० जना युवती र पुरुषको अवशेष संकलन गरिएको जनाएको छ ।

आइतबार राति पनि महोत्सवमा सहभागी धेरै जना हराइरहेका थिए । हमासले इजरायलमा हजारौं रकेट प्रहार सहितको विशाल आक्रमणमा उक्त कार्यक्रमसहितका यस क्षेत्रका अन्य स्थानहरूमा आक्रमण गरेपछि सामाजिक सञ्जालहरूमार्फत आफ्ना नातेदार र साथीहरूलाई खोज्ने अभियान चलाएका छन् ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले इजरायली सेना र हमासका लडाकुबीच बढ्दो द्वन्द्वबीच पेन्टागनले पूर्वी भूमध्यसागरीय क्षेत्रमा इजरायललाई समर्थन गर्न युद्धपोत र लडाकु विमान पठाउन लागेको बताएका छन् ।

अस्टिनले एक विज्ञप्ति जारी गर्दै ‘युएसएस जेराल्ड आर फोर्ड क्यारियर स्ट्राइक ग्रुप’को पूर्वी भूमध्यसागरीय क्षेत्रमा एक विमानवाहक पोत, एक गाइडेड मिसाइल क्रुजर र चार गाइडेड मिसाइल विध्वंसकको आवागमनलाई निर्देशन दिएको बताएका छन् ।

पेन्टागनले यस क्षेत्रमा अमेरिकी वायु सेनाको एफ–३५, एफ–१५, एफ–१६ र ए–१० लडाकु विमान स्क्वाड्रनको विस्तारका लागि पनि कदम चालेको छ । उनले अमेरिकी सरकारले इजरायली रक्षा बललाई युद्धसामग्रीलगायत थप उपकरण र स्रोत साधन द्रूत गतिमा उपलब्ध गराउने बताए ।

प्रकाशित : आश्विन २२, २०८० १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?