२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

रुस जाँदै चिनियाँ विदेशमन्त्री

रासस/सिन्ह्वा

बेइजिङ — चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि सोमबारदेखि रुसको चारदिने भ्रमणमा जाने भएका छन् । चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ ।

यसअघिको ब्रिफिङमा रुसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो । गत मार्चमा चिनियाँ राष्ट्रपति सी चिनफिङले मस्कोको राजकीय भ्रमण गर्दै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका थिए । यस्तै जुलाईमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीले रुसी राष्ट्रपतिले अक्टोबरमा चीन भ्रमण गर्ने योजना बनाइरहेको बताएका थिए । वाङको भ्रमणले पुटिनको चीन यात्रा तय गर्ने बताइएको छ ।

चीन र रुस रणनीतिक सहयोगी हुन् र दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् । गत वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो । चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षका रूपमा स्थापित गर्न खोजेको छ । तर, मस्कोलाई महत्त्वपूर्ण कूटनीतिक र वित्तीय आधारप्रदान गरेको चीनमाथि आरोप छ ।

प्रकाशित : आश्विन २, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?