२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेइजिङमा वर्षाका कारण ३८ जनाको मृत्यु

रासस/सिन्ह्वा

बेइजिङ — भारी वर्षाका कारण बेइजिङमा आएको भीषण बाढी, डुबान र पहिरोमा परी मंगलबार साँझसम्म ३३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

बेइजिङमा वर्षाका कारण ३८ जनाको मृत्यु

त्यसैगरी उक्त प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत कार्यमा सहभागी पाँच जनाको मृत्यु भएको चिनियाँ प्रशासनले जनाएको छ ।

बेइजिङका उपमेयर जिया लिनमाओले बुधबार आयोजित पत्रकार सम्मेलनमा उद्धारकर्तासहित अन्य १८ जना अझै हराइरहेको बताए । मुख्यतः, गत हप्ता परेको वर्षापछि आएको बाढी र घर भत्किएका कारण उनीहरूको ज्यान गएको हो । जुलाई २९ देखि अगस्ट २ सम्म बेइजिङमा आएको ‘डोक्सुरी आँधी’ का कारण मुसलधारे वर्षा भएको थियो । बेइजिङमा १४० वर्षअघि रेकर्ड सुरु भएयताको यो सबैभन्दा ठूलो वर्षा हो ।

वर्षाका कारण आएको बाढीले करिब १२ लाख ९० हजार मानिस प्रभावित भएका छन् भने करिब १५ हजार हेक्टर जमिनमा लगाइएको बालीनालीमा क्षति पुर्‍याएको छ । जियाका अनुसार, सम्पत्ति र भौतिक क्षतिको आँकलन भइरहेको र मृतक संख्यामा बढ्न सक्ने जनाइएको छ । मुसलधारे वर्षाका कारण हिमाली क्षेत्रका पूर्वाधारमा ठूलो क्षति पुगेको छ । ५ सय ७ गाउँमा पानी आपूर्ति प्रभावित भएको छ । २ सय ७३ गाउँ र १६ आवासीय समुदायमा विद्युत् कटौती भएको छ भने ३ सय ४२ गाउँमा सञ्चार सेवा अवरुद्ध भएको छ । वर्षाले सडक र पुलहरूमा क्षति पुगेपछि २ सय ५६ वटा गाउँमा यातायात सञ्चालनमा समस्या भएको छ ।

अथक उद्धार र पुनःस्थापना प्रयास जारी रहेको र अधिकांश गाउँमा सफलतापूर्वक बिजुली आपूर्ति, खानेपानी, दूरसञ्चार सेवा र यातायात पुनःसुचारु भएको छ । बेइजिङले प्रभावित जनसंख्याका लागि अत्यावश्यक दैनिक उपभोग्य वस्तु, आपत्कालीन आपूर्ति र चिकित्सा उपचार सुनिश्चित गरेको जनाइएको छ । विपद्पछिको महामारी रोकथाम कार्य सुरु गर्न द्रुत कदम चालेको उपमेयरले बताए । ‘बेइजिङ सहरले पुनरुत्थान र पुनर्निर्माण योजना बनाएको छ र यसको कार्यान्वयनलाई गति दिनेछ,’ जियाले भने । चीनको दक्षिण पश्चिमी सिचुआन प्रान्तमा बुधबार आएको बाढीमा परी सात जनाको मृत्यु भएको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक सीसीटीभीले सात जनाको मृत्यु भएको र अन्य चार जनालाई पानीबाट उद्धार गरिएको उल्लेख गर्दै ‘स्थानीय सार्वजनिक सुरक्षा, अग्नि नियन्त्रक र अन्य विभागहरूले खोजी र उद्धार कार्य जारी राखेको’ जनाएको छ ।

प्रान्तीय राजधानी छेन्दुको दक्षिण पश्चिममा रहेको तटबन्ध नजिकै बिहान १० बजे अप्रत्याशित आएको बाढीले १० जनाभन्दा बढी मानिसलाई बगाएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित : श्रावण २५, २०८० ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?