१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६०

पोर्चुगलमा भीषण डढेलोबाट हजारौं विस्थापित, सयौं नेपालीको उद्धार

ददि सापकोटा

पेरिस — केही दिनदेखि व्यापक रुपमा फैलिएको डढेलोबाट पोर्चुगलमा हजारौं हेक्टर जमिन प्रभावित भएपछि नजिकै बसोबास गर्नेहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आलेन्तेजो क्षेत्रबाट सयौं नेपालीलाई उद्धार गरिएको छ ।

पोर्चुगलमा भीषण डढेलोबाट हजारौं विस्थापित, सयौं नेपालीको उद्धार

पोर्चुगलको लिस्बोनमा बसोबास गर्ने नेपाली मनोज भट्टराईका अनुसार केही दिनदेखि व्यापक डढेलो फैलिएपछि अलेन्तेजोको कृषि क्षेत्रमा काम गर्ने नेपालीहरुलाई पोर्चुगिज सरकारले अन्य नागरिकसँगै उद्धार गरेर सुरक्षित स्थानमा सारेको हो ।

पोर्चुगलको सबैभन्दा बढी कृषि उत्पादन हुने क्षेत्र आलेन्तेजोमा हजारौं नेपाली, भारतीय र अन्य देशका श्रमिकहरू रहेकाले हाल तिनलाई अन्यत्र सारिएको छ ।

भट्टराईका अनुसार आगलागी व्यापक रुपमा फैलिएपछि त्यहाँबाट सारिएका नेपालीहरुलाई भारतीयहरुले खानपिन र बासका लागि ठूलो सहयोग पुर्‍याएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले पनि उद्धार गरेर अन्यत्र सरेका नेपालीलाई कुनै कठिनाइ भएमा सहयोग माग्न भन्दै मंगलबार सूचना जारी गरेको छ ।

नेपालीहरु सबै सुरक्षित रहेको भन्दै भट्टराईले कान्तिपुरसित भने, 'आलेन्तेजोमा हजारौं नेपाली कृषि फार्ममा काम गर्छन् । हालसम्म कुनै आपतबिपतको घटना सुनिएको छैन । भारतीयहरूले गुरुद्वारामार्फत् पनि नेपालीलाई पनि सहयोग गरेका छन् ।'

विशेषगरी शनिबारदेखि पोर्चुगलमा तीव्र रुपमा लागेको भीषण आगलागीका कारण हजारौं मानिसहरुलाई उद्धार गरी अन्यत्र सारिएको छ भने दर्जनौं अग्नि नियन्त्रक विमान र सयौं अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ ।

पोर्चुगलका हजारौं नागरिकहरु विस्थापित भए पनि नेपालीहरु भने सुरक्षित रहेको पोर्चुगलसमेत हेर्ने फ्रान्सस्थित नेपाली दूतावासले जनाएको छ ।

हजारौं हेक्टर जङ्गल र कृषि क्षेत्रमा लागेको आगलागी नियन्त्रणका लागि सयौं अग्नि नियन्त्रकहरू प्रयोग गरिएको छ ।

पोर्चुगलको दक्षिणी सहर ओदेमिरा नजिकै करिब एक हजार अग्निनियन्त्रकहरूले आगो निभाउन थालेपछि चौध सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

पोर्चुगल न्युजका अनुसार आगो निभाउने क्रममा हालसम्म कम्तीमा नौ अग्निनियन्त्रक घाइते भएका छन् ।शनिबार सुरु भएको आगलागी तीव्र हावाले पोर्चुगलको दक्षिणमा रहेको मुख्य पर्यटकीय क्षेत्र एल्गार्वेतर्फ धकेलिदिएपछि हजारौं पर्यटकहरुलाई समेत उद्धार गर्नुपरेको छ ।

आगलागीबाट सुरक्षित गर्न हालसम्म १९ वटा गाउँ खाली गरिसकिएको छ । देशका अन्य ठाउँमा लागेको डढेलोले सडकका धेरै भागहरू बन्द गरिएको छ । लिस्बन र पोर्तो सहरबीचको ए १ राजमार्गसमेत प्रभावित भएको छ ।

आगलागीकै कारण आलेन्तेजो क्षेत्रमा तापक्रम बढेर ४६ दशमलव ६ डिग्री पुगेको छ र अन्य क्षेत्रमा पनि ४० डिग्री नाघेको छ । यो हप्ता धेरै इबेरियन प्रायद्वीपमा ४० दिग्रीभन्दा बढी हुने अपेक्षा गरिएको छ ।

पोर्चुगलको छिमेकी देश स्पेनले पनि यस गर्मीमा तेस्रो गर्मीको लहर अनुभव गरिरहेको छ र धेरै जङ्गलमा लागेको आगोसँग लडिरहेको छ ।

प्रकाशित : श्रावण २४, २०८० २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?