२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्ड 'सी' सँग खेल्दै

नवीन पोख्रेल

लन्डन — नेपालको राष्ट्रिय फुटबल टिमले पहिलोपटक बेलायत आएर इंग्ल्यान्डको 'सी' टिमसँग प्रतिस्पर्धा गर्ने भएको छ ।  अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिख सोमबार नेपालको राष्ट्रिय टिम र इंग्ल्यान्ड 'सी' टिमबीच प्रतिस्पर्धा गराउने भएको हो । 

नेपाली राष्ट्रिय फुटबल टोली इंग्ल्यान्ड 'सी' सँग खेल्दै

नेपालसँग खेल्ने ‘इंग्ल्यान्ड सी’ यहाँको राष्ट्रिय टिमकै मान्यता प्राप्त टिम हो जसले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग सद्भावना खेल खेल्ने गर्छ । दुई देशबीच ऐतिहासिक खेलका लागि अल्डरसट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनसँग सम्झौता गरिसकेको छ ।

सोमबार अल्डरसटस्थित इबीबी रंगशाला परिसरमा आयोजित एक पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष साहिद अजिमले नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरी ३० जनाको टिम बेलायत आउने जानकारी दिए । खेलाडीहरुले बेलायतको भिसा समेत लिइसकेका छन् र उनीहरू अप्रिल २९ मा बेलायत आइपुग्नेछन् ।

'अल्डरसट र इबीबी स्टेडियममा अन्तर्राष्ट्रिय फुटबललाई स्वागत गर्न पाउँदा हामी साँच्चै उत्साहित छौं। यो क्लब र समग्र सहरका लागि एक ऐतिहासिक र सानदार अवसर हुनेछ,' अल्डरसट टाउन फुटबल क्लबका अध्यक्ष अजिमले भने, 'यो सहरलाई ब्रिटिस सेनाको घर भनेर चिनिन्छ जहाँ १०० वर्षभन्दा बढी समयदेखि गोर्खा रेजिमेन्ट तैनाथ छ । स्थानीय समुदायलाई एकीकृत गर्ने र अल्डरसट टाउन फुटबल क्लबलाई पूर्ण समावेशी क्लब बनाउने यो ठूलो अवसर हो ।'

फुटबल एसोसिएसनका नेसनल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले भने 'मेमा अखिल नेपाल फुटबल संघलाई इंग्ल्यान्डमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। फुटबलमा समुदायहरूलाई एकसाथ ल्याउने अद्वितीय शक्ति छ । खेलले यस क्षेत्रमा बसोबास गर्ने ठूलो नेपाली समुदाय साथै अल्डरसट ग्यारिसनमा रहेको गोर्खा रेजिमेन्टहरूसँग संलग्न हुन पाउनु हाम्रा लागि राम्रो अवसर हुनेछ।'

एन्फाले पनि इंग्ल्यान्डसँगको पहिलो खेललाई नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रूपमा लिएको जनाएको छ । दुई देशीय ऐतिहासिक म्याच सफल बनाउन आयोजकले लन्डनस्थित नेपाली राजदूतावास, एनआरएनए यूकेसहित समग्र नेपाली समुदायसँग सहयोगको अपिल गरेका छन् । ८ हजार दर्शक क्षमताको उक्त प्रतियोगितामा कम्तीमा ५ हजार दर्शक उतार्ने आयोजकको योजना छ । सो अवसरमा खेल अलवा खानाका विभिन्न ७ वटा स्टल समेत राखेर यसलाई मेलाकै झल्को दिइने आयोजकले जनाएका छन् । करिब ५० हजार पाउण्ड बजेट लाग्ने बताइएको उक्त म्याच खेल्न आएका नेपाली खेलाडीको प्रशिक्षण, खान, बस्न, यातायात आदि खर्च आयोजकले नै बेहोर्ने छन्।

एक साता बेलायतमा रहँदा नेपाली टिमले बिहान तालिम लिने र बाँकी समय विभिन्न गतिविधिमा सहभागी हुने तय भएको अध्यक्ष अजिमले बताए । बेलायत आउने नेपाली टिमले वेम्ली स्टेडियममा मे ४ मा हुने नेसनल लिग फाइनल खेल हेर्ने, ह्याम्पसायर एफसी अवलोकन भ्रमण र गोर्खा रेजिमेन्टसँग फ्रेन्ड्ली म्याच खेल्ने तय भइसकेको छ । उक्त खेल हेर्न यहाँका विभिन्न लिगका प्रशिक्षकहरू पनि आउने भएकाले उनीहरूले मन पराए भने अनुबन्धनका लागि प्रस्ताव राख्न सक्ने अजिमले बताए ।

प्रकाशित : फाल्गुन २९, २०८० ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?