१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सोरुलाई उपाध्यक्ष गोल्डकप 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिकाले आयोजना गरेको प्रथम उपाध्यक्ष फुटबल गोल्डकपमा सोरु फुटबल क्लब विजेता बनेको छ । निर्धारित ६० मिनेटमा गमगढीको ए वान युथ क्लब र सोरु फुटबल टिमबाट कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । पेनाल्टीमा सोरुले १ गोलले ए वानलाई पराजित गरेको हो ।

सोरुलाई उपाध्यक्ष गोल्डकप 

विजेता सोरुलाई जिल्ला समन्वय समिति प्रमुख मञ्जनबहादुर शाहीले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्रमाणपत्र, उपविजेता एवानलाई ६६ हजार ६ सय ६६ नगद पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरे । प्रतियोगितामा खत्याडको टाइगर फुटबल टिम तेस्रो भएको छ । टाइगरले प्रमाणपत्रसहित ३३ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गर्‍यो ।

सोरुका छक्क शाही उत्कृष्ट गोलकिपर बने । सोही टिमका सुवास शाही उत्कृष्ट डिफेन्डर भए भने एवानका निखिल तामाङ सर्वाधिक गोलकर्ता बनेका छन् । सोरुका डिलेन्द्र शाही फाइनलमा म्यान अफ दि म्याच घोषित भए ।

खेलाडीको संरक्षण र खेलकुदको विकास गर्न गोल्डकप आयोजना गरिएको उपाध्यक्ष केशरबहादुर शाहीले बताए । सोरुकोट पहिलो पटक सञ्चालन भएको गोल्डकपले जिल्लाभरिका फुटबलप्रति आस्थावानलाई उत्साह थपेको उनको विश्वास थियो । खेलाडीको उत्साह र स्थानीयको सहभागिताले आगामी दिनमा पालिकालाई खेलकुद गर्न हौसला बढेकोसमेत उपाध्यक्ष शाहीले बताए ।

अध्यक्ष धर्मबहादुर शाहीले विकास निर्माणको तीव्रतासँगै सोरु गाउँपालिकालाई खेलकुदको केन्द्र बनाउने दाबी गरे । उनले ५ वर्षभित्र सोरुकोट पोग्रीमा अखिल नेपाल फुटबल संघको मान्यता प्राप्त खेलकुल मैदान निर्माण गरी खेलकुद क्षेत्रलाई माथि उकास्ने अध्यक्ष शाहीले जनाए । उनले भने, 'खेलकुदको लागि बजेट अभाव हुन दिने छैनौं ।'

जेठ २० गतेदेखि सुरु भएको प्रथम उपाध्यक्ष गोल्डकपमा जिल्लाभरिका १७ वटा फुटबल टिमबाट करिब तीन सय खेलाडी सहभागी भएका सोरु गाउँपालिकाले जनाएको छ ।

प्रकाशित : जेष्ठ २६, २०८० १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?