१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

अछाम — आधारभुत तह कक्षा-८ को नतिजा अछामका विद्यालयहरुमा कमजोर देखिएको छ । स्थानीय तहले लिने परीक्षामा जिल्लाको अवस्था नै नाजुक देखिएको हो । परीक्षाको सबै प्रक्रिया स्थानीय तहले लिएका बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका न्युन संख्यामा विद्यार्थी उर्तीण भएका छन् ।

सामुदायिक विद्यालयका आधारभूत तहको नतिजा नै नाजुक

मेल्लेख गाउँपालिकामा आधारभुत तहका १६ विद्यालयबाट कक्षा-८ को परीक्षा दिएका ६ सय २७ जना विद्यार्थीमा १ सय ४ जना मात्रै उत्तीर्ण भएका छन् ।

मेल्लेख गाउँपालिका-४ मा रहेको मालिका आधारभूत विद्यालय र वडा नम्बर ७ मा रहेको मंगला आधारभूत विद्यालयका कुनै पनि विद्यार्थी पास हुन सकेनन् । मेल्लेख गाउँपालिकाका शिक्षा शाखा अधिकृत बिरेन्द्र खड्काका अनुसार जम्मका विद्यार्थीको १६.१८ विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।

यसअघिका वर्षहरुमा विद्यालयहरुले नै परीक्षा लिने, उत्तरपूस्तिका जाँच गर्ने र नतिजा निकाल्दा ८० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने गरेको उनले बताए । अहिले कक्षा-८ को परीक्षादेखि नतिजा निकाल्दासम्म सबै काम गाउँपालिकाले गर्दा विद्यालयको वास्तविक अवस्था पत्ता लागेको उनले बताए ।

‘यो पटक एसईईभन्दा पनि व्यवस्थित गरेर परीक्षामा कडाइ गरेका थियौं । अहिले विद्यालयको वास्तविक अवस्था बाहिर आएको छ,’ उनले भने ,‘ अब विद्यालयको कमजोरी औंल्याउँछौं । विद्यालय र शिक्षकको पनि अनुगमन गर्छौं । २०८१ लाई शिक्षाको गुणस्तर सुधारको वर्षको रुपमा लिने गरी अभियान नै संचालन गर्ने योजना बनाएका छौं ।’

एकातिर सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटिरहेको र अर्कोतिर विद्यायको नतिजा नाजुक रहनुले चुनौती थपिएको उनले बताए । कक्षा ८ को नतिजा सार्वजसनक भइसकेपछि शून्य नतिजा भएका विद्यालयमा मंगलासैनी आधारभूत विद्यालयलाई कक्षा-५ मा झार्ने निर्णय भइसकेको उनले बताए ।

त्यस्तै, ५६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शोडषा आधारभूत विद्यालयलाई ३ लाख पुरस्कारको व्यवस्था गरिएको शिक्षा शाखा प्रमुख खड्काले बताए । ‘अन्य विद्यालयमा पनि २ /३ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । २ विषयसम्म लागेका विद्यार्थीलाई बैशाख १६ र १७ गते मौका परीक्षा दिने व्यवस्था गरेका छौं ।’ विद्यालयम निरन्तर अनुगमन, शिक्षकहरुमाथि पनि अनुगमन गरिने उनले बताए ।

बान्नीगढी जयगढ गाउँपालिकाका कक्षा-८ सम्म पढाइ हुने ८ वटा आधारभूत विद्यालयमा परीक्षा दिएका ३ सय ३७ जनामा ४८ जना विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बान्नीगढी जयगढ गाउँपालिका १ मा रहेको राष्ट्र भाषा मावि, वडा नम्बर ३ मा रहेको जनज्योति आधारभूत विद्यालय र वडा नम्बर ५ मा रहेको सान्नीकोट आधारभूत विद्यालयमा नतिजा शून्य भएको शिक्षा शाखा अधिकृत बसन्तराज जोशीले बताए ।

उनका अनुसार १४.२४ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । ‘गाउँपालिकाले नै पश्नपत्र तयार गरी परीक्षा लिएको र गाउपालिकामै ल्याएर उत्तरपूस्तिका जाच गरिएको हो । यसअघि ८ कक्षाको परीक्षा लिने सबै जिम्मा विद्यालयलाई दिएका थियौं । नतिजा राम्रै आउँथ्यो,' उनले भने ,‘यो पटक परीक्षाका सबै प्रक्रिया गाउँपालिकाबाट भए । आगामी दिनमा शैक्षिक अवस्था सुधार गर्नका लागि पनि सहज भएको छ ।’

विद्यालयको शैक्षिक गुणस्तर कमजोर भएकाले बैशाख पहिलो साता विद्यालयका प्रधानाध्यापक, सबै वडाअध्यक्ष र सरोकारवाला बिच छलफल गरेर नतिजा दिने गरि कार्यसम्झौता गर्न लागिएको उनले बताए ।

सदरमुकामसमेत रहेको मंगलसेन नगपालिकाभित्र रहेका १६ वटा आधारभुत तहबाट कक्षा-८ को परीक्षा दिएका ६ सय ८० मध्ये २ सय ५१ जना मात्रै उत्तीर्ण भएका छन् । मंगलसेन नगरपालिकाको शिक्षा शखाका सहायक प्रमुख दिपक भण्डारीका अनुसार ३६. ११ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् । कक्षा-८ का सबै उत्तरपुस्तिका जाँच गर्ने र नतिजा सार्वजनिक गर्नेसम्मको काम पहिलो पटक नगरपालिकाले गरेको उनले बताए ।

प्रकाशित : वैशाख १०, २०८१ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?