२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

कैलालीका ९ सय घर डुबानमा

पहाडको लाइफलाइन सडक अनिश्चित
अर्जुन शाह

धनगढी — अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् ।

कैलालीका ९ सय घर डुबानमा

भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीका अनुसार भजनीका विभिन्न वडामा बसोवास भएका नौ सय परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित छन् । उनका अनुसार अत्यधिक प्रभावित वडा नम्बर ३ का गाउँहरु कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, ८ वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटा क्षेत्रका प्रभावित अधिकांश परिवारहरु हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

केही परिवार भने सार्वजनिक भवनहरुमा आश्रय लिएर बसिरहेका छन् । नगरप्रमुख चौधरीले ३ वडामा काँढा नदीको बहावले डुबान गरेको हो भने ८ नम्बर वडामा पथरैया नदीको बहावले डुबान गरेको बताए । ३ र ८ बाहेक ५ र ७ नम्बर वडाका बासिन्दाहरु पनि प्रभावित रहेको उनको भनाइ छ ।

प्रभावित परिवारहरु अलपत्र जस्तै परेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । ‘मेरो घर मात्रै होइन पूरै गाउँ नै डुुबानमा परेको छ । ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं,’ ढुसी गाउँका जनक चौधरीले भने, ‘कहिले बाढी घट्ने हो र कहिले फर्किन पाइने हो । केही ठेगान छैन ।’

बाढी प्रभावितहरुलाई नगरपालिकाले खानेपानीका बोतल उपलब्ध गराएको जनाएको छ । त्यस बाहेक उनीहरुलाई कुनै पनि निकायले राहत तथा सहयोग उपलब्ध गराएका छैनन् । ‘९ सय परिवारलाई तत्काल कुनै राहत उपलब्ध गराउने अवस्था छैन,’ नगरप्रमुख चौधरीले भने, ‘सुरक्षा निकाय र प्रदेशको टोलीले स्थलगत निरीक्षण गरेको छ । केही होला भन्ने अपेक्षा छ ।’

मंगलबार मध्यरातदेखि घरबाट दौडादौड गर्नुपरेका प्रभावित परिवारहरुले आफ्नै त्रिपाल र खानेकुराको जोहो गरेर छाक टार्ने तयारी गरिरहेका छन् । अधिकांशले अन्नपात भने जोगाएको बताएका छन् । उनीहरुले पशु आफैसँग सडक किनारमा ल्याएका छन् ।

भजनीका नगर प्रवक्ता विक्रम चौधरीले तथ्यांक संकलन कार्य जारी रहेको बताए । तर हालसम्म राहतका लागि कतैबाट पनि सहयोग नभएको उनको भनाइ छ । भजनी नगरपालिका क्षेत्रका बासिन्दाहरु वर्सेनि बाढीको प्रकोप झेल्दै आएका छन् । यस पालिकामा कन्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढी बस्तीमा पस्ने गरेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बाढीपीडित परिवारहरु तत्काल आफैंले जोहो गरी बसेको बताए । ‘हामीले स्थलगत अनुगमन गरेका छौं । अहिले उहाँहरु आफ्नै त्रिपाल प्रयोग गरी सडक किनारमा बस्नु भएको छ,’ प्रजिअ कटेलले भने ‘आवश्यकता अनुसार त्रिपाल, खाद्यान्न लगायतका सहायताहरु उपलब्ध गराउँछौं ।’

प्रजिअ कटेलले त्यस क्षेत्रमा हरेक वर्ष दोहोरिरहने समस्या भएकाले दिर्घकालीन समाधानको उपाय खोज्नुुपर्ने आवश्यकता औंल्याए । उनले वैकल्पिक आवासका कार्यक्रमहरुमा केन्द्रित हुनुपर्ने देखिएकाले स्थानीय तहसँग त्यस विषयमा छलफल गरेको पनि बताएका छन् ।

सुदूर पहाडको लाइफलाइन सञ्चालन अनिश्चित

सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग दोस्रो दिन बुधबार पनि सुचारु हुन सकेन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन मानिन्छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका ४ बुढीतोलास्थित बुढीतोला – खानीडाँडा खण्डमा करिब दुुई सय मिटर सडक भासिएको छ । माथिबाट पहिरो खसेको र सडकको सतह भासिएकाले सडक मर्मत कार्य कठिन भइरहेको प्रदेश ट्राफिक कार्यालय धनगढीले जनाएको छ ।

मंगलबार बिहानैदेखि डोजर परिचालन गरिएको भए पनि क्षतिग्रस्त सडक मर्मत सुधार गर्न सकिएको छैन । ‘बुधबार बिहानैदेखि पाँचवटा डोजर परिचालन गरेर मर्मतको प्रयास भइरहेको छ । तर मंगलबार राति भारी वर्षा भएकाले मर्मत कार्य उपलब्धिमूलक हुन सकेको छैन,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नेत्रमणि गिरीले भने ‘बुधबार राति पनि पानी पर्‍यो भने बिहीबार पनि वैकल्पिक मार्ग खोल्न सकिने निश्चित छैन ।’

सडक अवरुद्ध भएकाले पहाडी जिल्लाबाट आएका यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ । तराईबाट सुदूरपश्चिमका पहाडी जिल्लाका लागि छुट्ने कुुनै पनि सवारी तथा ढुवानीका साधनहरु ठप्प छन् । तीनपांग्रे अटो लगायतले बुढीतोलासम्म यात्रीहरुलाई ओहोरदोहोर गराइरहेका छन् । मंगलबार एम्बुलेन्सका बिरामी, वृद्धावृद्धा र बालबालिकाहरुलाई सुरक्षाकर्मीले ओहोरदोहोर गराएका थिए ।

बुुढीतोलामा राजमार्ग क्षतिग्रस्त हुनेगरी गएको पहिरोले कैलालीको गोदावरी नगरपालिका ४ बुढितोलाको भावरटोलका ९ परिवार पनि विस्थापित भएका छन् ।

प्रकाशित : श्रावण २४, २०८० २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?