१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

धौलीगंगा बाँध खोल्दा महाकालीमा कटान सुरू

मनोज बडू

दार्चुला — भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजना बाँध खोल्दा महाकाली तटीय क्षेत्रमा कटान सुरु गरेको छ । महाकालीले नेपाल–भारतका तटीय क्षेत्रमा बिहानैबाट कटान सुरु गरेपछि स्थानीयहरु आत्तिएका छन् ।

धौलीगंगा बाँध खोल्दा महाकालीमा कटान सुरू

२८० मेगावाट क्षेत्रको जलविद्युत् परियोजनाको बाँधको सिल्ट सफाइ कार्यका लागि बाँधका ढोकाहरु खोलिएपछि नदी तटीय क्षेत्रमा कटान सुरु भएको हो । बिहान ५ बजेबाट बाँधका ढोकाहरु खोलिएका छन् । दार्चुला सदरमुकाम आसपास महाकाली नदीमा साढे ६ बजेबाट पानीको सतह बढेको दार्चुला प्रहरीका डिएसपी तर्कराज पाण्डेले बताए ।

स्थानीयका अनुसार महाकाली नगरपालिका–१ र दुहु गाउँपालिका–३ श्रीबगरको बस्तीमुनिबाट नदीले कटान गर्न थालेको छ । खेतका किनार काट्न थालेको स्थानीय सुरेन्द्रबहादुर बमले बताए ।

त्यस्तै, लास्कु खोला किनारमा पनि महाकालीले कटान गरेको छ । लास्कु खोला पारिपट्टी भारततर्फको खोतिला बस्तीमा कटान गरिरहेको छ । जिल्ला क्षेत्रहरुमा पनि नदीमा बहाब बढ्दा कटान गर्न थालेको छ । तटबन्ध निर्माण नभएको क्षेत्रमा कटान गरिएको स्थानीयले बताएका छन् ।

सदरमुकामको रिङ्नेताल क्षेत्र नजिक नेपालतर्फको तटबन्धको माथिल्लो भागमा महाकाली उर्लने प्रयास गरिरहेको छ । उक्त क्षेत्रमा भारतले नेपालभन्दा अग्लो तटबन्ध निर्माण भएको नदीको बहाब नेपालतर्फ मोडिएकाले नदीमा पानीको बहाव अझ बढे तटबन्ध माथि पानी पुग्ने सम्भावना रहेको छ ।

आइतबार परियोजना जिल्ला प्रशासन कार्यालयलाई पठाएको जानकारी पत्रमा मंगलबारका दिन बिहान ५ बजेदेखि राति ८ बजेसम्मका लागि बाँधका ढोकाहरु खोलिने जनाएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाब बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी आग्रह गरेको हो ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न समेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित : असार २६, २०८० ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?