२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

ब्याजदर बढाएको भन्दै वित्तीय संस्थाविरुद्ध धनगढीमा प्रदर्शन

डीआर पन्त

धनगढी — बैंक तथा वित्तीय संस्थाहरुले आफुखुसी ब्याजदरमा वृद्धि गरेको भन्दै धनगढीमा व्यवसायीहरूले प्रदर्शन गरेका छन् । उद्योग वाणिज्य संघ कैलालीको नेतृत्वमा विभिन्न व्यवसायमा संलग्न व्यवसायीहरूले यस विषयमा सरकार गम्भीर नभए थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

ब्याजदर बढाएको भन्दै वित्तीय संस्थाविरुद्ध धनगढीमा प्रदर्शन

मनोमानी ब्याजदरका कारण व्यवसायीहरु धराशायी हुँदै गएपछि आन्दोलन गर्नुपरेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए । ‘एकातिर आर्थिक मन्दी छ । अर्कोतिर बैंकहरुले १६ प्रतिशतसम्म ब्याजदर बढाएर व्यवसायीहरू धराशायी हुँदै गएका छन्,’ ओझाले भने ।

बैंक तथा वित्तीय संस्थाहरुले ८ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म बढाएपछि व्यवसायीहरु व्यवसायबाट पलायन हुने क्रम बढ्न थालेको पनि उनले बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरका नाममा कालोबजारी गरिरहेको आरोप पनि व्यवसायीहरुको छ । ‘गएको असारअघि १ अंकले ब्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरुले अहिले दुइ अंकले ब्याजदर बढाएर कालोबजारी गरिरहेको छ,’ उद्योग वाणिज्य महासंघ प्रदेश उपाध्यक्ष अनिल कुमार भुजानीयाले भने ‘पटक पटक अर्थमन्त्री र सरकारलाई ज्ञापनपत्रसहित ध्यानाकर्षण गराउँदा पनि कुनै सुनवाइ हुन सकेको छैन ।’

उपाध्यक्ष भुजानीयाले बैंकहरुले असुल गरिरहेको चर्को ब्याजको मारमा व्यवसायी मात्र होइन सर्वसाधारण पनि परेकाले सरकारले अविलम्ब हस्तक्षेप गर्नु पर्ने बताए ।

कैलालीको धनगढी र अत्तरीयामा भएका छुट्टाछुट्टै विरोध कार्यक्रममा विभिन्न वस्तुगत संघ संगठनहरुले पनि ऐक्यवद्धता जनाएका थिए । व्यवसायीहरुले सरकारले समयमा हस्तक्षेप नगरे थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने पनि व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित : फाल्गुन ९, २०७९ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?