कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७७

हिमाली बस्तीमै हिउँको प्रतीक्षा 

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका–२ सिउत्तीकुच्चाका मिमबहादुर मल्ललाई अहिलेदेखि नै आउँदो वर्ष अनिकाल हुने पीर लाग्न थालेको छ । गाउँमा व्यावसायिक स्याउ खेती गरेका उनी समयमा हिउँ नपर्दा उत्पादन घट्ने चिन्तामा छन् । पुस तेस्रो साता बितिसक्दा पनि हिउँ नपर्दा गहुँ र तरकारी खेती सुक्न थालेको उनले बताए ।

हिमाली बस्तीमै हिउँको प्रतीक्षा 

हिउँदे वर्षा र हिमपातको पर्खाइमा रहेका उनी अझै दुई साता मौसम यस्तै रहे उच्च पहाडी क्षेत्रमा बालीनाली उत्पादन प्रभावित हुने बताउँछन् ।

‘विगत वर्षमा पुसको सुरुआतमै घरआँगनसम्म हिउँले ढाकिएको हुन्थ्यो,’ उनले भने, ‘अहिले पुस २४ बितिसक्दासम्म हिउँ देख्न पाइएको छैन । खडेरीले सुक्खा बनाएको छ ।’ सुक्खाले असाध्यै चिसो फैलिएको र वर्षा भएर हिउँ परेपछि तातो बढ्ने उनको भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा मंसिरको तेस्रो साता हल्का हिमपात र थोरै पानी परे पनि बेंसीमा गत असोजदेखि पानी परेको छैन । लामो खडेरीले जौं, गहुँ बालीदेखि बारीको तरकारी समेत सुक्न थालेकाले स्थानीय चिन्तित हुन थालेका छन् । वर्षा र हिउँ नपर्दा बारीको तरकारी सुक्न थालेको छायानाथ रारा नगरपालिका–३ का रंगबहादुर कार्की सुनाउँछन् । ‘पुस हिउँको महिना हो,’ उनले भने, ‘बेलामा पानी पनि पर्दैन, हिउँ पनि परेको छैन । दुई/चार वर्षअघिसम्म पुस नलाग्दै हिउँले धारापँधेरा ढाक्ने गर्थ्यो,’ कार्कीले भने, ‘अहिले पुस तेस्रो साता लाग्दासम्म हिउँ न पानी भएको छ ।’

हिउँ नपर्दासम्म फलफूलदेखि अन्नबालीसम्म नसप्रिने उनको भनाइ छ । सुक्खा खडेरीले कात्तिक–मंसिरमा पाखो बारीमा छरेको जौ–गहुँ अझै उम्रिन नपाएको किसानको भनाइ छ । असोजदेखि पुससम्म वर्षा नहुँदा पानीका मुहान पनि सुक्न थालेका छन् । ‘उहिले जस्तो अहिले हिउँ पर्न छोडिसक्यो,’ सोरु–५ नेरताजा गाउँका ८५ वर्षीय लसुर शाही भन्छन्, ‘पुस लागेदेखि ढोका थुनिने गरी हिउँ आउँथ्यो बाहिर निस्कन मुस्किल हुन्थ्यो । अहिले अग्ला पहाडमा पनि हिउँ छैन ।’

स्याउमा आत्मनिर्भर लेकाली बस्तीका करिब ३ सयभन्दा बढी किसानलाई हिउँको बढी पर्खाइ छ । बोट निहुरिने गरी हिउँ नपरेसम्म स्याउको राम्रो उत्पादन नहुने भएकाले लेकतिरका किसानमा हिउँसँगै खुसी पनि भित्रिने गर्छ । छायानाथ रारा नगरपालिका–४ ताल्चाका हरिबहादुर रोकाया हिउँको पानी स्याउलाई असाध्यै राम्रो हुने र उत्पादन धेरै हुने भएकाले हिउँ पर्खेर बसेको बताउँछन् । हिउँले स्याउको बोटमा लाग्ने किरा पनि नष्ट गर्ने रोकायाको भनाइ छ ।

उच्च हिमाली बस्ती जडिबुटीमा आत्मनिर्भर स्थानीय पनि हिमपातको प्रतीक्षामा छन् । बाक्लो हिउँ नपरेको वर्ष जडीबुटी उत्पादन पनि घट्ने स्थानीयको अनुभव छ । धेरै हिउँ परेको वर्ष यार्सा, कटुकी भोल्ते, चिराइतो, गुच्ची च्याउ राम्रो फल्ने किम्री गाउँका फोञ्जोक तामाङले बताए । घरको ढोका नै थुनिने हिसाबले हिउँ पर्ने मुगुका उच्च पहाडी बस्तीमा यसपालि पुस तेस्रो सातासम्म बाक्लो हिउँ पर्न सकेको छैन । हिमपातको डरले बेंसी झरेका मुगु गाउँका बासिन्दा हिउँ नपर्दा चकित छन् ।

प्रायः पुस महिनामा सेताम्य देखिने पर्यटकीय क्षेत्र रारामा पनि यो पटक बाक्लो हिउँ छैन । गत मंसिरमा हल्का हिउँ परे पनि बाक्लो हिमपात नहुँदा रारा सुक्खा र उराठ देखिएको छ । रारा पुगेका पर्यटकले यसपालि अघिल्ला वर्ष जस्तो हिउँ खेल्न पाएका छैनन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका रेन्जर तथा सूचना अधिकारी जयहरि धितालले उराठ मौसमले गर्दा पर्यटक आगमन बढ्न नसकेको बताए ।

प्रकाशित : पुस २४, २०८० १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×