१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९०

शीत भण्डारमै कुहिए सुन्तला

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–२ पोखराथोकस्थित शिवशक्ति शीत भण्डारमा राखेको सुन्तला कुहिएर नष्ट भएका छन् । जिल्लाको सबैभन्दा धेरै सुन्तला उत्पादन हुने पणेनाको सिम्ले गाउँ र पोखराथोकका कृषकले राखेको ९० मेट्रिक टन मध्ये ६० मेट्रिक टन सुन्तलाका दाना ढुसी लागेर नष्ट भएका छन् ।

शीत भण्डारमै कुहिए सुन्तला

अघिल्ला दुई वर्षमा पनि यस्तै कुहिएर नोक्सान भएका थिए । यसवर्ष लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले गत मंसिरमा विज्ञ प्राविधिक ल्याएर कृषकलाई गाउँमै कोल्डस्टोरमा सुन्तला राख्ने तरिका सिकाएको थियो ।

तालिममा सिके अनुसार स्टोरमा राखेको एक महिना नबित्दै सुन्तला हेर्दा धमाधम कुहिएको सिम्लेस्थित शिवशक्ति मिश्रित कृषक समूहका अध्यक्ष रेवतीप्रसाद पौडेलले बताए । उनले भने, ‘यसवर्ष कृषिका विज्ञसँग तालिम लिएर राख्दा सुरक्षित रहन्छ भन्नेमा हामी ढुक्क थियौं । क्यारेटमा राखेका सुन्तलाका दानामा धमाधम सेतो ढुसी लागेर कुहियो ।’

अघिल्ला दुई वर्षमा केही मात्रामा कुहिए पनि यसपटक एकैसाथ नष्ट भएको हो । यसरी वर्षेनी सुन्तलामा बिग्रदा किसान चिन्तित भएका छन् । ‘विज्ञले जे सिकाए त्यही अनुसार हामीले सेनिटाइज गरेर राख्यौं,’ उनले भने, ‘झनै बर्वाद भयो । स्टोरमा नराखी जे मुल्य छ, त्यसैमा बिक्री गरेको भए आम्दानी हुन्थ्यो । अहिले त दुःख गरेर उत्पादन गरेको सुन्तला यसरी नष्ट हुँदा घाटा भयो ।’ दुई महिनासम्म स्टोरमा राख्ने भनिए पनि महिनादिन नपुग्दै कुहिदै गएकाले दाना छानेर बाहिर फालेको उनले बताए ।

महंगोमा बिक्री गर्ने लोभमा स्टोरमा राख्दा कृषकले नोक्सान व्यहोर्नु परेको उनले बताए । गतवर्ष स्टोरमा राखेका सुन्तला फागुन/चैतमा प्रतिकिलो एकसय ३० रुपैयाँमा बिक्री भएको थियो । अहिले स्टोरमा राख्दा महिना दिनअघि सुन्तला प्रतिकिलो ५० रुपैयाँमा बिक्री भएको थियो । अघिल्लो वर्षमा कुहिएर कम नोक्सान भए पनि यसपाली धेरै घाटा भएको उनले बताए ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनि गाउँपालिकाले तीन वर्ष अघि ३ सय मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण गरेको थियो । कोल्डस्टोर सिम्लेका सुन्तला कृषकको शिवशक्ति मिश्रित कृषक समूहले सञ्चालन गरेको छ । ‘सुन्तला स्टोरभित्र सेतो ढुसी लागेर धमाधम कुहिएर नोक्सान भएको छ,’ कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी शिवलाल घिमिरेले भने, ‘९० मेट्रिक टन मध्ये ६१ कुहिइसक्यो, अझै कुहिँदै गएको छ । मैले स्टोरमै पुगेर हेरें, अब ढुसी लाग्नबाट बचेको दाना निकालेर बेच्न सुझाव दिएको छु ।’

बिग्रनबाट बचेको सुन्तलालाई स्टोरमा नराख्न भनेको उनले बताए । दानामा बोटमै इन्फेक्सन थियो या स्टोरमा राखेपछि कसरी ढुसी लागेर बिग्रियो अहिल्यै भन्न नसकिने उनले बताए ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले कोल्डस्टोरमा राखेका सुन्तला हेर्ने दक्ष जनशक्ति र उपकरण नभएकाले समस्या परेको बताए । ‘धमाधम कोल्डस्टोर त बने,’ उनले भने, ‘स्टोरामा राखेको सुन्तला तथा अन्य वस्तुलाई जोगाई राख्न तापक्रम हेर्ने, अध्ययन गर्न सहयोग गर्ने प्राविधिक जनशक्ति लुम्बिनी प्रदेशमा छैन ।’ शीत भण्डारमा राखिएका सुन्तला कुहिएकोबारे कृषि अनुसन्धान केन्द्र काठमाडौंमा पत्राचार गरिएको उनले बताए ।

प्रकाशित : माघ १०, २०८० १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?