२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३०

प्रदेश राजधानीमा बढ्दै निजी क्षेत्रको लगानी

वीरेन्द्र केसी

देउखुरी, दाङ — राप्ती उपत्यकालाई लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेपछि स्थानीय नारायण केसीले अर्घाखाँची सातमारामा सुविधासम्पन्न होटल सञ्चालन गरेका छन् । राजधानीले अवसरका ढोका खुलेको भन्दै उनले एक करोड रुपैयाँ लगानीमा आरामदायी १६ कोठा भएको सूर्य होटल सञ्चालन गरेको बताए ।

प्रदेश राजधानीमा बढ्दै निजी क्षेत्रको लगानी

प्रदेश संसद् चलेका बेला सांसद होटल बुकिङ गरेरै बस्छन् । देउखुरीदेखि भालुवाङ नजिकैको सातमारा र भालुवाङ ६ किलोमिटर दूरीमा छ । सांसद, कर्मचारी, प्रदेशमा योजना माग्न आउने जनप्रतिनिधि, दलका नेतालगायतले होटलमा बस्ने, भोजन गर्ने उनले बताए ।

‘राजधानीले गर्दा सांसद, कर्मचारीसहित दलका नेताले खाना, खाजा र कोठा बुकिङ गरेर बस्दा बिजनेस बढेकै छ,’ उनले भने, ‘राजधानी तोक्नुअघि सांसद, नेता र कर्मचारी हाम्रा ग्राहक थिएनन् ।’ मन्त्रालयमा काम लिएर राजधानी आउजाउ गर्नेले व्यवसायको रौनक बढाइदिएका छन् । यहाँ बस्नलाई शीतल हावापानी, दाङको भालुवाङ र अर्घाखाँची सातमारा बीचमा राप्ती नदी दुवैतिरका अग्ला पहाडमा हरियाली सुन्दर दृश्य भएकाले यो स्थान बस्नेखानेको रोजाइमा पर्ने उनले बताए ।

‘होटलमा आएका पाहुना तथा पर्यटकलाई राप्ती नदी, राप्ती पुल, जंगलसहितको दृश्यले मोहित बनाउँछ । यहाँ पर्यटकको पहिलो रोजाई राप्ती पुलमा तस्बिर खिच्ने र टिकटक बनाउने हुन्छ,’ केसीले भने, ‘सामाजिक सञ्जालमा राखिने तस्बिर र भिडियोले यस क्षेत्रको आकर्षण बढाएको छ ।’ सरकारी गाडी चढ्नेले पनि रोकेरै तस्बिर खिच्छन्, त्यसैले यहाँको महत्त्व बढ्दै गएको उनको ठम्याइ छ ।

भालुवाङ पहिलेदेखि नै यस क्षेत्रको व्यापारिक बजार हो । पहिलेदेखि चहलपहल हुने यस स्थानमा सांसद, दलका नेता/कार्यकर्ता, सरोकारवाला, कर्मचारी ग्राहकका रूपमा थपिएकाले राजधानी आएपछि व्यवसाय बढेको व्यापारी बताउँछन् । राजधानी उपत्यकाअन्तर्गत राप्ती गाउँपालिकाका ९ वटै वडा, गढवा गाउँपालिकाको १, २ र ३ सहित अर्घाखाँचीको शीतगंगा नगरपालिका ८ र ९ वडाको क्षेत्रफल पर्छ । राप्ती उपत्यकालाई आधुनिक सहरका रूपमा विकास गर्ने भन्दै ३६ महिनादेखि प्रदेश सरकारले जग्गा रोक्का गरी राखेको छ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले आधुनिक सहरका लागि अध्ययनसहितको कामको प्रक्रिया अघि बढाएको जनाएको छ । केही युवा व्यवसायी आधुनिक सहर निर्माणपछि ठूला होटल खोल्ने योजनामा छन् । आधुनिक सहर विकासमा सम्भावनाका ढोका खुलेको भन्दै यस क्षेत्रका व्यवसायी र स्थानीय उत्साहित छन् ।

उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगार, होटल व्यवसाय जस्ता क्षेत्रमा विभिन्न विकासका सम्भावना देखिएको राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुरज खड्काले बताए । ‘प्रदेश राजधानी आसपास क्षेत्रमा औद्योगिक क्षेत्र विस्तार हुने आशामा हामी छौं, प्रदेश सरकारका सबै कार्यालय यहाँ अझै पूर्ण छैनन्, मन्त्रालयका पूर्वाधार बन्दै छन्,’ उनले भने, ‘पूर्ण भएपछि बिस्तारै विकास होला । राजधानी आएपछि होटलहरूमा लगानी भने धमाधम बढ्दो छ । कारोबार वृद्धि छ ।’ ठूला होटल सञ्चालनले यस क्षेत्रमा दूध, तरकारी, मासुका लागि लोकल र बोइलर कुखुरासहित खसीबोकाको माग बढेकाले उत्पादनमा वृद्धि हुँदै गएको उनले बताए । यसले किसानलाई समेत प्रभाव पारेको छ ।

पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्नेको खाना, खाजा खानेको रोजाइमा भालुवाङ र सातमारा पर्छ । त्यसैले होटल व्यवसायमा ग्राहक थपिएका छन् । राजधानी आउनुअघि भालुवाङ क्षेत्रमा ठूला क्षमताका होटल थिएनन् । अहिले होटलहरू थपिने र क्षमता वृद्धि हुने क्रम बढ्दो रहेको उनले बताए । राजधानी घोषणा हुनु अगाडि नै सातमारामा होटल एभरल्यान्ड सञ्चालनमा थियो । अहिले प्रदेश सरकार र अन्य संघसंस्थाका विभिन्न कार्यक्रम भइरहेका छन् । ‘कार्यक्रममा मुख्यमन्त्री, पूर्वमुख्यमन्त्री, मन्त्री, सांसद दलका नेता आउँछन् । दिनहुँजसो चहलपहल बढ्दो छ,’ होटल सञ्चालक दामोदर खनालले भने, ‘सेवा थपेर विस्तार गरेका छौं । व्यवसाय बढ्दो छ ।’

राजधानीले यस क्षेत्रको बिजनेसलाई हौस्याएको उनले बताए । होटलमा धेरै पाहुनाले यहाँको रैथाने उत्पादनको खानाका परिकार रोज्छन् । ‘स्थानीय उत्पादन तरकारी, मासुजन्य परिकार, कोदो, फापरको रोटी तयार गर्छौं,’ उनले भने, ‘हामीले स्थानीय उत्पादन किनेरै विभिन्न खानाका परिकार बनाउँछौं । स्थानीय खाजा, खाना नै पाहुनाको पहिलो रोजाइमा पर्छ ।’ होटलमा पाहुनाले स्थानीय उत्पादनका खानाका परिकार रुचाएपछि अर्घाखाँची र दाङका किसानबाट लोकल कुखुरा, अण्डा, खसीबोका, बंगुर, भैंसीको दूध, मकै, गहुँ, कोदो, फापर, जौं, तरकारीलगायतका वस्तु खरिद गर्ने उनले बताए । ‘यसले किसानलाई उद्यमी बनाएको छ,’ उनले भने, ‘उनीहरूको पनि राजधानी आएपछि आम्दानी बढेको छ । कृषिबाटै आफ्नो आम्दानी वृद्धि हुने देखेपछि यस क्षेत्रका किसान उत्साहित छन् ।’

यस क्षेत्रमा थारू समुदायका महिलाले आफूले फलाएको तरकारी ढकियामा राखेर होटलमा बिक्री गर्न ल्याउँछन् । जलजला होटलका सञ्चालक जितबहादुर घर्तीमगरको होटलमा सागको मुठा, तरकारी ल्याइदिने नियमित किसान छन् । ‘राजधानी आएपछि मेरोमा रोल्पा, रुकुम र प्यूठानका सांसद संसद् चल्दा होटलमा कोठा बुकिङ गरेर बस्छन्,’ उनले भने, ‘अरू बेला पनि नेता, सांसद, जनप्रतिनिधिले कोठा बुकिङ गर्छन् । व्यापार बढ्को छ ।’

राप्ती उपत्यकाभित्र दाङ र अर्घाखाँची जिल्ला पर्छ । पहाडमा उत्पादन भएको तरकारी, मासु र खाद्यवस्तु खानलाई स्वादिलो हुने भएकाले भरसक अर्घाखाँचीबाट लोकल कुखुरा ल्याएर विभिन्न परिकार बनाइने उनले बताए । ‘गाडी रिजर्भ गरेर पूर्वपश्चिम राजमार्गमा आउजाउ गर्ने यात्रुले यहाँ खाना र खाजा खान छिर्ने गर्छन्,’ उनले भने, ‘स्थानीय परिकारको खाना र विशेष गरी लोकल कुखुरा, कालिजको झोल, फापरको रोटी उनीहरूको रोजाइमा पर्छ ।’

अर्घाखाँची जलुकेका युवा रमेश खड्काले गाउँमै बंगुर र लोकल कुखुरा फार्म खोलेका छन् । पछिल्लो समय कुखुराको माग बढेको उनले बताए । ‘राजधानी आएपछि होटल तथा फ्रेस हाउसमा बंगुर र कुखुराको माग बढ्यो,’ उनले भने, ‘कुखुराको संख्या थपेको छु, आम्दानी झन्डै दोब्बर भएको छ ।’ यही कमाइले छोराछोरीको पढाइ र घरखर्च धानेको छु ।’ राजधानी घोषणा हुनअघि नै भालुवाङमा सञ्चालनमा रहेको होटल पौवाले क्षमता र सेवा विस्तार गरेको छ ।

मन्त्रालय र विभिन्न संघसंस्थाका कार्यक्रम, तालिम, गोष्ठी धेरै पौवामा हुन्छन् । यहाँ दैनिक चहलपहल बढ्दो छ । राजधानी देउखुरीदेखि करिब ३० किमि पश्चिम क्षेत्रको लमही र ७० किमि घोराहीमा पनि राजधानीलाई लक्षित गरी ठूला होटल खुलेका छन् । बुटवलबाट राजधानी दाङमा सर्ने कुरा चल्दै गर्दा लमहीमा होटल मन्त्र खुल्यो । सञ्चालक ऋषि खनालले राजधानी आएपछि व्यवसाय वृद्धि भएको बताए ।

प्रकाशित : कार्तिक ११, २०८० ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?