२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

महिला हत्याको आरोपमा एक पक्राउ

कमल पन्थी

बर्दिया — ठाकुरबाबा नगरपालिका- १ भूरीगाउँमा एक महिलाको सडक किनारमा शव फेला परेको ६ दिनपछि हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलीकम कार्यालय, भुरीगाउँ नजिक कञ्चनपुर, नेउलापुर जाने सडक किनारमा ठाकुरबाबा-५ गोबिन्दपुर घुम्ना फाँटाकी ४२ वर्षीया सन्चुरीया थारु फागुन १६ गते मृत अवस्थामा फेला परेको थियो ।

सीसी टिभी फुटेजको आधारमा हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी हिक्मत बहादुर बोहोराले हत्या गरेको आरोपमा ठाकुरबाबा-४ मैनावार घर भई भुरीगाउँ डेरामा बस्दै आएका करिब ४५ वर्षीय जन्जिरे थारुलाई पक्राउ गरिएको बताए ।

विगतमा मृतक सन्चुरीया र जन्जिरेबीच पटकपटक फोन संवाद हुने गर्ने गरेको पनि प्रहरीको अनुसन्धानमा खुलेको बताइएको छ । प्रहरीका अनुसार हत्या भएको दिन पनि दुबै जनाबीच फोन संवाद भएको कल डिटेल फेला परेको छ ।

सन्चुरीयाले प्रयोग गरेको चप्पल जन्जिरेले खेतबारीमा लुकाएको अवस्थामा फेला परेको पनि प्रहरीले जनाएको छ । मृतकका श्रीमान् अतवारीले जन्जिरेलाई हत्याको आरोप लगाउँदै किटानी जाहेरी दिएका थिए । आइतबार बेलुका पक्राउ परेका जन्जिरेलाई कारबाहीका लागि सोमबार जिल्ला अदालतबाट सात दिनको म्याद थपेको डीएसपी बोहोराले बताए ।

फागुन १६ गते दिउँसो घरबाट पेट दुखेको औषधि लिन भुरीगाउँ हिँडेकी थारु अवेर राति घर फर्किएकी थिइनन् । घरका मानिसले सोही दिन अवेर सम्म खोजतलाश गर्दा सन्चुरिया फेला परेको थिइनन । अर्को दिन बिहान स्थानीयले सडक किनारामा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । मृतकको साइकल पनि घटनास्थल नजिक रहेको र मृतक महिलाको चप्पल र सल पनि नभएकाले शंकास्पद रहेको भन्दै पीडित परिवारले गम्भीर रुपमा छानबिन गर्न माग गरेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?