२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

जनकपुरमा महिलाको शंकास्पद मृत्यु

श्यामसुन्दर शशि

जनकपुर — जनकपुरधाम ९ स्थित थापा चोकमा एक महिलाको शंकास्पद मृत्यु भएको छ । २२ वर्षीया आरती देवी साहको आइतबार साँझ मृत्यु भएपछि माइती पक्षले निजका श्रीमान र सासु-ससुराविरुद्ध मुद्दा दायर गरेका छन् ।

सिकिस्त अवस्थामा काव्य अस्पतालमा भर्ना गरिएकी साहलाई परिवारबाट हत्या गरेको माइती पक्षको आरोप छ । मृतकको घाँटीमा रातो डाम देखिएकाले उनलाई कुटपिट गरी हत्या गरिएको आरतीकी आमा निर्मला देवीले आरोप लगाएकी छन् । निर्मला देवीका अनुसार आरतीको शरीरको अन्य भागमा पनि कुटपिट गरेको निलडाम छन् ।

नगराईन नगरपालिका–८ खिरखिरिया बस्ने बिनोद कुमार साहकी छोरी आरती र हाल जनकपुरधाम –९ थापाचोक घर भएका मदनमोहन साहका छोरा मोतीबाबु साहबीच सामाजिक परम्परा अनुसार २०७८ असार २९ गते विवाह भएको थियो । मोतीबाबु साह पेसाले इन्जिनियर हुन् ।

आरतीका पिता विनोदकुमार साह विवाहको बेला केटा पक्षलाई २५ लाख दाइजो दिएको बताउँछन् । विवाहपछि केटा पक्षले दाइजो माग्दै पटकपटक दबाब दिँदै आएको साहको भनाइ छ । तर आफूहरूले दाइजो नदिएपछि छोरीको हत्या गरिएको साहले आरोप लगाए ।

‘केटा पक्षले थप दाइजोको लागि पटकपटक मानसिक यातना दिन्थे । कुटपिट पनि गर्थे । यस प्रसंगमा सामाजिक पञ्चायती पनि भएको थियो,’ आरतीका काका रन्जित साहले कान्तिपुरसँग भने ।

‘आइतबार साँझ ५ बजे आरती सिँढीबाट लडेको सूचना हामीलाई दिइयो । काव्या अस्पतालमा भर्ना गरिएको पनि भनियो । अस्पताल आउँदा आरती मरिसकेकी थिइन्,’ आरतीकी आमा निर्मला देवी साहले भनिन् । आरतीलाई हत्या गरेर अस्पताल भर्ना गराइएको उनको आरोप छ । आमा निर्मलाका अनुसार १८ दिनअघि मात्र आरती माइतीबाट श्रीमानको घर फर्किएकी थिइन् ।

ससुरा मदनमोहन साहले भने आरती आफ्नै कोठामा पासो लगाएको अवस्थामा फेला परेको बताएका छन् । उनले भने, ‘साँझ ५ बजेतिर आरती सुत्ने कोठाको भित्रबाट बन्द गरेको देखेर हामीले उसलाई उठाउन खोज्यौं । तर कुनै प्रतिक्रिया नआएपछि ढोका फोरेर भित्र गयौं । ज्यान जोगाउन सकिन्छ कि भनेर सरासर काव्या अस्पताल भर्ना गरेका थियौं ।’

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर स्थायी घर भएका मदनमोहन साह एक ब्यापारी पनि हुन् । उनले मिल्स एरियामा सरिता वस्त्रालय संचालन गर्दै आएका छन् । उनीहरुको थापा चोकमा श्रीनारायण मार्केट नामको सुविधा सम्पन्न घर छ । जहाँ आरती आफ्ना श्रीमान र सासु ससुरासँग बस्दै आएकी थिइन् ।

आरतीको मृत्युपछि हत्याको आरोप लगाउँदै आएका माइती पक्ष र श्रीमानको परिवारबीच दाह संस्कारको विषयलाई लिएर झण्डै हात हालाहाल भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले भने आरतीले आत्महत्या गरेको सूचना प्राप्त भएको प्रतिक्रिया दिएका छन् । आरतीको माइतीको उजुरीका आधारमा पोस्टमार्टमबाट नयाँ तथ्य खुल्न आएमा सोही अनुसार अनुसन्धान र कारबाही अगाडि बढाउने प्रहरी नायव उपरीक्षक गौतमले बताएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०८० १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?