मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ - मधेस - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेसमा ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ 

एमालेका ३, जनता समाजवादी पार्टीका २ र जनमत पार्टीबाट १ जना नियुक्त
सन्तोष सिंह

धनुषा — मधेस प्रदेश सरकारको दोस्रो पटक मन्त्रिपरिषद् विस्तार भएको छ । शुक्रबार ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्रीहरूलाई शपथ गराए । नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमालेका ३, जनता समाजवादी पार्टीका २ र जनमत पार्टीबाट १ जना छन् ।

सामाजिक विकासमन्त्रीमा सुरिता साह र खानेपानी तथा ऊर्जा विकासमन्त्रीमा सिंहासन कलावार नियुक्त भएका छन् । उनीहरू जसपाका हुन् । एमालेका शत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री, राजकुमार लेखी कानुन न्याय तथा प्रदेश मामिलामन्त्री र मोहम्मद जयद आलम महिला बालबालिका, युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका छन् । जनमतका महेशप्रसाद यादव शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री नियुक्त भएका छन् । जसपाका शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, एमालेका केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको प्रदेश सरकारमा यसअघि एमालेका सरोज यादव भौतिक पूर्वाधार विकासमन्त्री, जनमतका वसन्त कुशवाहा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री र जसपाका सञ्जय यादवले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । प्रदेशमा जसपाका मुख्यमन्त्रीसहित ४, एमालेका ४, जनमतका २ गरी १० जना मन्त्री र ३ जना राज्यमन्त्री भएका छन् । सत्ता गठबन्धनको माओवादी केन्द्रले सरकारलाई समर्थन गरे पनि मन्त्री पद लिएको छैन । ९ जना प्रदेश सांसद रहेको माओवादीले २ वटा मन्त्रालय पाउनुपर्ने अडान राखे पनि मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय मात्र दिन सक्ने बताएपछि माओवादी सरकारमा सहभागी नभएको हो ।

मन्त्रालय बाँडफाँटमा सहमति नहुँदा मन्त्रिपरिषद् विस्तारमा सकस भएको थियो । जनमत पार्टीले सामाजिक विकास मन्त्रालयको अडान नछोडेपछि मुख्यमन्त्री यादवले उक्त मन्त्रालयबाट शिक्षालाई टुक्राएर विज्ञान प्रविधि मन्त्रालयमा जोडेर जनमतका महेश यादवलाई मन्त्री बनाएका छन् । मन्त्रीले शपथ लिए पनि जनमत भने सन्तुष्ट छैन । सामाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचार लुकाउन आफूलाई नदिइएको जनमतको आरोप छ । उक्त मन्त्रालयको बेरुजु र भ्रष्टाचारको आरोप लागेका कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरिरहेको छ ।


प्रकाशित : माघ २०, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्

मधेस प्रदेशमा मन्त्रालय भागबन्डामा विवाद, मन्त्रीको शपथ ढिलाई

भ्रष्टाचार लुकाउन समाजिक विकास मन्त्रालय दिइएन : जनमत
सन्तोष सिंह

धनुषा — मधेस प्रदेश सरकार दोस्रो पटक विस्तार गर्नेक्रममा सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँटको विषयमा विवाद भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले भागबन्डा मिलाउन मन्त्रालय टुक्राई विवादित मन्त्रालय आफै राख्न खोजेपछि विवाद चुलिएको हो ।

अन्तिम समयमा गठबन्धनमा विवाद बल्झिएपछि प्रदेश प्रमुखको कार्यालयले तयारी गरेको शपथग्रहण कार्यक्रममा ढिलाई भएको छ । दलहरुबीच सहमति नहुFदा ४ बजेका लागि तोकिएको शपथ अन्योलमा परेको छ ।

सामाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचार लुकाउन उक्त मन्त्रालय जनमत पार्टीलाई नदिएको आरोप जनमतले लगाएको छ । दोस्रो पटकमा सामाजिक विकास मन्त्रालय टुक्राएर स्वास्थ्य तथा वातावारण मन्त्रालय जसपाले राखेको छ । सामाजिक टुक्रयाएर शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय जनमतलाई दिने सहमति भएको छ । तर, कर्मचारी, बजेट र गाडीसमेत नभएको मन्त्रालय जबर्जस्ती दिन खोजेको भन्दै जनमतका नेताहरु आक्रोशित भएका छन् ।

मुख्यमन्त्री यादवले सामाजिक विकासको स्वास्थ्यमा रहेको बेरुजु सुल्झाउन र यस अघिका मन्त्री नवलकिशोर साहले गरेको भ्रष्टाचारको कागजात मिलाउन मन्त्रालय आफू मातहत राख्न खोजेको जनमतका एक सांसदले आरोप लगाए ।

सामाजिक विकास मन्त्रालयमा बेरुजु र भ्रष्टाचार भएको कतिपय विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनसमेत गरिरहेको छ । जनमतले सरकारमा आउनुभन्दा पहिले नै सामाजिक विकास मन्त्रालयमा भएको भ्रष्टाचार छानबिन गराउने बताएको थियो ।

मन्त्रिपरिषद् विस्तारमा माओवादी केन्द्र पनि असन्तुष्ट छ । मुख्यमन्त्री कार्यालयले ४ बजे मन्त्रीको शपथका लागि प्रदेश प्रमुखलाई पत्र पठाएको छ । मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार एमालेका राजकुमार लेखी गृह तथा सञ्चार, शत्रुधन महतो कोइरी महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनमतलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय जसपाले लिने जनाइएको छ ।

सरकारमा मन्त्री पठाउने विषयमा समेत असन्तुष्टि बढेको छ । दलका नेतासFग एमालेका सांसदहरुको बैठक बसिरहेको छ ।

प्रकाशित : माघ २०, २०७९ १६:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×