२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

इलामका मतदाता भन्छन्, ‘३३ वर्षमा नभएको काम ३ वर्षमा के नै पो होला र ? ’

लक्ष्मी गौतम

इलाम — उपनिर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरू हुलका हुल कार्यकर्ताको लस्कर लिएर गाउँ, चोक र चौतारातिर पुग्न थाले पनि इलामको देउमाइ नगरपालिका–१ चमैताका कुमार गुरुङलाई चुनावले खासै छोएको छैन । आफ्नो घरखेतको बाटो भएर आउजाउ गर्ने उम्मेदवार र तिनका प्रतिनिधि विकास निर्माण र अधुरा योजनालाई पूर्णता दिने सपना सुनाउँछन् ।

इलामका मतदाता भन्छन्, ‘३३ वर्षमा नभएको काम ३ वर्षमा के नै पो होला र ? ’

तर उनलाई यस्ता कुरामा विश्वास भए पो । भन्छन्, ‘जसले जे भने पनि हामी भुइँमान्छेको दिनचर्या फेरिएको छैन । पार्टीका कुरा त २०४८ सालदेखि सुनेकै त हो नि, ३३ वर्षमा नगरेको काम ३ वर्षमा कै नै पो गर्लान् र ?’

कान्तिपुरसँग कुराकानीमा गुरुङले पहिले बनेको बाटोघाटो भत्किइसकेको र बस्तीमा अझैसम्म बिजुलीका पोल नपुगेको गुनासो गरे, ‘जुन जोगी आए पनि कानै चिर्‍याका ।’ कुमारलाई जस्तै देउमाई–१ कै लोकबहादुर गुरुङलाई पनि चुनावको उत्साहले छोएको छैन । मेची राजमार्ग नजिकै दुग्ध व्यवसाय गर्दै आएका उनलाई गत असारदेखि घीउ, छुर्पी र चीजजस्ता दुग्धजन्य वस्तु बिक्री नहुँदाको पिरलोले सताएको छ । त्यसैले उनी चुनावका बेला मात्रै झुल्किने र अरु बेला सामान्य मान्छेका समस्याबारे चासोसम्म नराख्ने नेताहरूको पारा मन नपरेको बताउँछन् । ‘यसअघि विभिन्न चुनावमा भोट दिएर जिताएकाहरू जितेपछि फर्केर आएनन्,’ उनले भने, ‘अब त भोट दिने जाँगर नै मर्न थाल्यो ।’ उनले दुग्धजन्य वस्तुको उत्पादन भण्डारणका लागि शीतभण्डार निर्माणसँगै बिक्रीका लागि केन्द्र र जिल्ला स्तरका नेताबाट पहल नै नभएको तीतो अनुभव पनि सुनाए ।

स्थानीय प्रेम चापागाई बारी जोतिरहेको अवस्थामा भेटिए । इलामबाट निर्वाचित जनप्रतिनिधिले राष्ट्रिय राजनीतिमा राम्रो दख्खल राखे पनि जिल्लालाई बिर्सिने गरेको गुनासो सुनाउँदै उनले भने, ‘भोट माग्नेहरू ठूलठूला सपना बाँड्दै आउँछन्, जितेर गएपछि विर्सिन्छन् । यो नेताहरूको साझा रोग हो ।’

उम्मेदवारहरू गाउँ बस्तीका टोलटोल पुगेर भोट मागिरहे पनि पनि चुनावी गतिविधिमा स्थानीय मतदाताको सहभागिता पातलो देखिन्छ । किनकि, धेरैजसो ग्रामीण क्षेत्रका मतदाता खेतबारीमा व्यस्त छन् । स्थानीय मतदाता फुर्वा शेर्पाले गाउँका मतदाता यतिबेला मकै छर्नका लागि बारी जोत्न व्यस्त रहेको बताए । ‘दिनको दुई/तीन हुल आएर कोणसभामा बोलाउँछन्, त्यहाँ गएर नेताका भाषण सुन्दा चुल्हो बल्दैन,’ उनले भने, ‘त्यसैले हामी त आफ्नै काममा व्यस्त छौं ।’

स्थानीयको अपेक्षा उतिसारो ठूलो छैन । उनीहरू ग्रामीण सडकको स्तरोन्नति, विद्युत्, सुलभ शिक्षा र स्वास्थ्यका अपेक्षा सुनाउँछन् । कान्तिपुरले कुराकानी गरेका धेरैजसो मतदाताले ग्रामीण क्षेत्रमा २०५० कै दशकमा खनिएका कच्ची सडक हालसम्म ग्राबेलसम्म हुन नसकेको समस्या सुनँए । इलाम २ को देउमाई, फाकफोकथुम र माङसेवुङलाई छोएर अगाडि बढ्ने राँके रवि ६ नम्बर बुधबार सडक निर्माण भएको चार दशकसम्म कालोपत्र भएको छैन । दमकदेखि रवि जोड्ने रवि–चिसापानी–दमक सडकको हालत पनि उस्तै छ भने नेपालटार–मंगलबारे हुँदै जीतपुर जोड्ने सडकको स्तरोन्नति पनि नेताहरूको प्राथमिकतामा परेको छैन । २०३० को दशकमा निर्माण भएको मेची राजमार्गको हालत उस्तै छ ।

इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा दलका र स्वतन्त्र गरेर १९ उम्मेदवार प्रतिस्पर्धामा छन् । उनीहरू सबैले विकास निर्माण र अधुरा कामलाई पूर्णता दिने मुद्दालाई नै प्रमुख एजेण्डा बनाएका छन् । यहाँका १ लाख १५ हजार ८ सय ८९ मतदाताले वैशाख १५ मा हुने मतदानमा यीमध्ये कसलाई निर्वाचित गर्छन्, यसै भन्न सकिने अवस्था छैन ।

प्रकाशित : वैशाख ६, २०८१ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमालेको राष्ट्रिय महिला भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिको रुपमा सहभागी भएकोबारे तपाईंको बुझाई के छ ?