१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९६

लालीगुराँसले चलायो नगर बस

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिकाले दुई नगरलाई आफ्नै बस सेवामार्फत् यातायात सञ्जालमा जोडेको छ । लालीगुराँसले जिल्ला सदरमुकाम समेत रहेको म्याङलुङ नगरपालिकासम्म ग्रामीण रुटको प्रयोग गरी आफ्नै बस सेवा संचालनमा ल्याएको हो ।

लालीगुराँसले चलायो नगर बस

कोशी प्रदेशमै पहिलो पटक सार्वजनिक यातायातको रुपमा नगर बस संचालनमा ल्याएको नगरपालिकाले जनाएको छ । ग्रामीण क्षेत्रका बासिन्दालाई यातायात सेवा पुर्‍याउने उद्देश्यले नगर बस संचालनमा ल्याइएको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।

नगरपालिकाको ३९ लाख ८२ हजार रुपैयाँ लागतमा नगर बस खरिद गरी संचालनमा ल्याएको नगर प्रमुख माबोहाङले बताए । बसलाई नगर क्षेत्रका सबै वडामा पुग्ने गरी रुट निर्धारण गरेर संचालनमा ल्याउने तयारी गरिरहेको नगरपालिकाले म्याङलुङ नगरपालिकाको म्याङलुङ बजारसम्म सेवा सुचारु गरेको हो ।

बस सञ्चालनका लागि नगरपालिकाले छुट्टै कार्यविधि बनाएको छ । अन्य सार्वजनिक सवारी साधन भन्दा नगर बसको भाडा दर पनि निकै सहुलियतपूर्ण रहेको नगरप्रमुख माबोहाङले बताए । लालीगुराँस नगरपालिका केन्द्र बसन्तपुर वजार भएर ग्रामीण क्षेत्रको कच्ची सडक हुँदै म्याङलुङ बजारसम्म बस पुग्न थालेपछि सुङनाम, सोल्मा र म्याङलुङका तल्लो क्षेत्रका बासिन्दाका लागि सहज भएको छ ।

गाउँको बाटो भएर नगरबस संचालन हुन थालेपछि किसानले आफ्नो कृषि उपज बिक्रीका लागि म्याङलुङ बजारसम्म पुर्‍याउन थालेका छन् । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय तुम्बाहाङफेले छिमेकी नगरपालिकाले संचालन गरेको बसले आफ्ना नगरक्षेत्रका बासिन्दालाई समेत फाईदा पुगेको बताए ।

प्रकाशित : माघ १७, २०८० १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?