२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

डेढ महिनायता कोशीमा २ सय १७ आगलागीका घटना

पर्वत पोर्तेल

झापा — मंसिर २५ मा मेचीनगर–४ बाहुनडाँगीको राईसिङ पुल टोलका प्रकाश चौहानको दुई तले गाई गोठमा अचानक आगो लाग्यो । खोले पकाउने क्रममा आगो लाग्दा जस्ताको छानो भएको गोठमा आंशिक क्षति भयो । काठपात र पराल जलेर नष्ट हुँदा करिब १ लाख २० हजारको भौतिक सम्पत्तिमा क्षति पुग्याे ।

डेढ महिनायता कोशीमा २ सय १७ आगलागीका घटना

पुस ७ मा भद्रपुर नगरपालिका–८ स्थित एक घरमा आगलागी हुँदा १४ लाख बढीको भौतिक सम्पत्ति जलेर नष्ट भयो । स्थानीय चूडामणि उप्रेतीको घरको माथिल्लो तलामा पानीको ट्यांकी राख्न तयार गरिएको फलामको रड वेल्डिङ गर्ने क्रममा आगो लागेको थियो । वेल्डिङबाट निस्किएको आगोको सानो झिल्को सल्किँदा निर्माणाधीन एसबाई प्यानलबाट निर्मित दुई कोठे टिनको छानाको घर जलेको हो ।

भोलिपल्टै, पुस ८ मा दमकस्थित भुटानी शरणार्थी शिविरमा आगो लाग्दा तीन वटा छाप्रा पूर्णरुपमा जले । बिहान ३ बजे दमक नगरपालिका–३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर सी ४, छाप्रा नं. ५३५ बस्ने भीमबहादुर घिमिरेको बाँसको घरमा अचानक विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो । घिमिरेसहित अन्य ३ वटा घर तथा भित्र रहेको लत्ताकपडा, भाडा, अन्नपातसमेत पूर्णरुपमा जल्दा करिब ५ लाख क्षति हुन गयो ।

सामान्यतया हावाहुरी चल्ने सिजन चैत र वैशाख आगलागीका लागि अत्यन्तै जोखिमपूर्ण मानिन्छ । तर, हावाहुरीको सिजन नआउँदै कोशी प्रदेशमा दैनिकजसो आगलागी घटना बढिरहेका छन् ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विगत डेढ महिनायता कोशीका १४ जिल्लामै आगलागीका घटना भएका छन् । यो अवधिमा जम्मा २ सय १७ आगलागी घटना भए । जसमा मंसिरमा १ सय ४५ र पुस १५ सम्म ७२ आगलागी घटना भएका छन् ।
आगलागीबाट ३ जनाको ज्यान गयो भजे १५ घाइते भए । मंसिरमा करिब ९ करोड ४० लाख र पुसमा ३ करोड ४३ लाख गरी कुल करिब १२ करोड ४७ लाख रुपैयाँ बढीको भौतिक सम्पत्तिमाथि क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापामा ५७, इलाममा ९, पाँचथरमा २, ताप्लेजुङ २, मोरङमा ५८, सुनसरीमा ३७, धनकुटा, तेह्रथुम र भोजपुरमा ४/४ घटना भयो । त्यस्तै उदयपुरमा १६, खोटाङ ७, ओखलढुंगा ३ र सोलुखुम्बुमा ८ आगलागीका घटना भएको प्रहरीले जनाएको छ ।

धेरैजसो घटना विद्युत् सर्टका कारण भएको पाइएको छ । बालबालिकाले हेल्चक्र्याई गर्दा पनि कतिपय आगलागीका घटना भएको प्रहरीले जनाएको छ । परालको भुस बाल्दा, वेल्डिङ गर्दा, जंगलमा चुरोट खाएर जथाभावी मिल्काउने जस्ता लापर्वाहीले धेरैजसो आगलागी भएको पाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत आगलागी पीडितलाई क्षतिपूर्ति उपलव्ध गराउने जनाए ।

मानवीय र भौतिक क्षति (घर) हुँदा मूल्यांकन गरी राहत उपलव्ध गराइने बताए । उनले हाल समितिको कोषमा करिब एक करोड रुपैयाँ सन्चित रहेको जनाउँदै आगलागीसहित अन्य विपद्मा परेकालाई उक्त कोषको रुकम उपलव्ध गराइने जनाए । अन्नबाली र पशुको क्षतिमा चाहिँ क्षतिपूर्ति दिने प्रावधान नरहेको उनले जनाए ।

प्रकाशित : पुस १९, २०८० २०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?