२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

बाढीले बगायो जल्दै गरेको चिता

विनोद भण्डारी

विराटनगर — शनिबार दिनभरि घमाइलो थियो । पहाडी क्षेत्रमा मुहान भएर मोरङको वेलवारी हुँदै दक्षिण बग्ने लोहन्द्रा खोलामा खसी–बाख्रा तर्न सक्ने पानी बग्दै थियो । त्यसैबेला बेलवारी–३ कि ८१ वर्षीया लीलामाया कोइरालाको अन्त्येष्टि गर्न परिवारजन र मलामीले शव लिएर खोलामा पुगे ।

आवश्यक प्रक्रिया पूरा गरेर कोइरालाको चितामा उनका छोरा मेघराजलगायत परिवारजनले दागबत्ती दिए । ‘मलामीले चितामा मिट्टी दिएर खोलाको डिलमा पनि पुगेका थिएनन् ।दागबत्ती दिएको पाँच मिनेट नबित्दै खोलामा अप्रत्याशित बाढी आयो अनि जल्दै गरेको चिता बगायो । खोलामा चिता बनाउदा र दागबत्ती दिँदासम्म बाख्राका पाठा तर्न सक्नेमात्र पानी बग्दै थियो,’ मलामी गएका स्थानीय राजेन्द्र अधिकारीले भने‚ ‘दागबत्ती दिएर मलामी र किरियापुत्री खोलाको डिलमा पनि पुग्न नपाउँदै अचानक ह्वात्तै बाढी आयो । मलामीको भागाभाग मच्चियो, बाढीले जल्दै गरेको चिता नै बगायो ।’

घटना शनिबार साँझ पाँच बजेतिरको हो । ‘जल्दै गरेको चिता बाढीले बगाएपछि मृतकका दुई छोरा र चार छोरीसहित परिवारजन र केही मलामी घर फर्किए,’ अधिकारीले भने, ‘केही मलामी चिता खोज्दै दक्षिणतर्फ दौडिए । करिब ४ किलोमिटर दक्षिणमा पर्ने सुन्दरहरैचा–१ को कुमार गाउँमा पुग्दा जल्दै गरेको शवसहितको चिता अड्किएको फेला पर्‍यो ।’

त्यसबेला साँझको झन्डै नौ बज्न लागेको थियो । अधिकारीका अनुसार त्यहाँ पुगेका मलामीले केही जलेको लिलामायाको शव उठाएर बेलवारीतिर लिएर आएको र बेलवारीमा पर्ने अमना सिसौली सामुदायिक वनमा जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहबरमा शव गाडेर घर फर्किए ।

बेलवारीमा शनिबार पानी नपरेकाले खोलामा पानी त्यति धेरै नभएको उनले बताए । यो खोला मोरङको पहाडी क्षेत्र केराबारी र लेटाङको बीचबाट बग्छ । खोलाको मुहान धनकुटाको राजारानी क्षेत्रमा पर्छ ।

संयोग पनि कस्तो २०५२ सालमा लीलामायाका पति लक्ष्मीप्रसादको निधन भयो । उनको अन्त्येष्टि गर्न नजिकको चिसाङ खोला लगिएको थियो । लक्ष्मीको चितामा पनि छोराछोरीले दागबत्ती दिएलगत्तै चिसाङ खोलामा अचानक आएको बाढीले जल्दै गरेको चिता बगाएको थियो ।

बेलवारी नगरपालिका र यस क्षेत्रका प्रदेश तथा संघीय सांसदले लोहन्द्रा र चिसाङ खोलामा व्यवस्थित शवदाह स्थल निर्माण गर्ने पहल नगर्दाको नतिजा भएको अधिकारीको आरोप छ ।

प्रकाशित : श्रावण २८, २०८० १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?