१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८

लहर कौसी खेतीको

दीपक केसी

काठमाडौँ — सहरीकरण बढ्दै जाँदा काठमाडौंसँगै मुलुकका प्रमुख सहरहरुमा कौसी खेतीको लहर चलेको छ । गमलामा फूल लगाएजसरी पक्की घर–घरका छतमा हरियाली देखियो भने कौसी खेती गरेको बुझे हुन्छ । कौसीमा फलफूल तथा तरकारी लगाउँदा ताजा खान पाइन्छ । घरबाट निस्कने कुहिने फोहोर र खेर जाने पानीको पुनर्प्रयोग पनि सहज हुन्छ । उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका केही घरमा पुग्दा कौसी खेतीमा अनुभव स्मरणीय छन् ।

भक्तपुरको सिर्जनानगरकी विनीता राजभण्डारीले १० वर्षदेखि कौसी खेती गर्दै आएकी छन् । कौसीमा उनले फूलसँगै तरकारी लगाएकी छन् । भन्छिन्, ‘कौसीमा हुने उब्जनीले ताजा तरकारी खान पुगेको छ ।’ कुलेश्वरकी कृष्णमाया अधिकारीले घरको छतमा तरकारी फलाउन थालेको धेरै भएको छैन । कोरोना महामारीसँगै भएको लकडाउनका बेला मात्रै थालेकी हुन् । त्यो बेला बाहिर निस्कन गाह्रो थियो । कौसीमै तरकारी फलाउन सकिन्छ भने किन नगर्ने भनेर उनले थालेकी हुन् ।

‘सिजनअनुसारका तरकारी फलाउन सफल भएकी छु,’ उनले भनिन्, ‘कुखुराको सुलीले मल बनाउन पुगेको छ ।’ ललितपुरको कुसुन्तीकी डेबोरा अधिकारीले २० वर्ष भयो कौसी खेती थालेको । पहिले पहिले धेरै तरकारी लगाउने गरेकी थिइनन् । रहरले फूलसँगै फाट्टफुट्ट मात्रै लगाउँथिन् । लकडाउनपछि उनले मौसमअनुसारका तरकारी फलाउन धेरै काम गरिन् । भन्छिन्, ‘मिहिनेत गर्दा कौसीमा सबै प्रकारका तरकारी फलाउन सम्भव रहेछ ।’

काठमाडौं ठूलो भर्‍याङकी भगवती श्रेष्ठ कौसी खेती गर्दै आएको धेरै भयो । थोरै कुखरापालन पनि गरेकी उनले तरकारी फलाउन मल र सिँचाइ व्यवस्थापनमा राम्रै ध्यान दिएकी छन्, जसको प्रतिफल पनि राम्रो छ । हलचोकका नारायण अधिकारीले पनि कौसी खेती गरेको लामो समय भयो । उनी रहर गर्नेलाई तरिका पनि बताउँछन् । ‘यो सहरी कृषिको काम हो, स्वास्थ्यमात्रै होइन पर्यावरण र खर्चमा पनि सकारात्मक प्रभाव पार्छ,’ उनी भन्छन्, ‘तर यो रहर गर्नेले घर कस्तो छ, छानोले भार थाम्छ/थाम्दैन, पानी र मल कसरी पुर्‍याउने भन्ने ध्यान दिनुपर्छ ।’

प्रकाशित : श्रावण १७, २०८० ११:२०
प्रतिक्रिया
पठाउनुहोस्