जेलिएको राजधानी

शब्द/तस्बिर: संजोग मानन्धर

काठमाडौँ — काठमाडौं उपत्यकामा विद्युत् प्राधिकरणले तार भूमिगत गरिरहेको छ । टेलिफोनका तार पनि भूमिगत छन् । तर, जति भूमिगत भए पनि फोन, केबुल टेलिभिजन र इन्टरनेटका तारको जन्जाल दृश्यबाट हटिसकेको छैन । सहरका धेरै ठाउँमा तारमाथि तार छन् । जति केबुल र इन्टरनेट सेवा प्रदायक छन्, कम्पनीपिच्छे छुट्टाछुट्टै तार पोलहरुमा थपिएका छन् । त्यसमाथि चोक–चोकमा सीसीटीभी क्यामरा जोडिएका छन्, त्यसको पनि तार थपिएको छ ।

हेर्दै आँखा बिझाउने तारका गुजुल्टाले सहरी सुन्दरतामै प्रश्नचिह्न त लगाइरहेकै छन्, साथमा आगलागीको जोखिम पनि बढाएका छन् । मुख्य चोक–गल्ली र बजार क्षेत्रमै पोल–पोलमा तारका गुजुल्टा छन् । यी तार व्यवस्थापनमा कम्पनीहरुको ध्यान पुगेकै छैन । आफूले चाहे पनि अर्काका कारण भन्दै एउटाले अर्कोलाई दोष दिँदै आफ्नो व्यापार चलाइरहेका कम्पनीहरुलाई काठमाडौं महानगरपालिकाले झक्झक्याएको छ । सडक तथा सार्वजनिक स्थानको अव्यवस्थित तार हटाउन सम्बन्धित सरोकारवालालाई १५ दिन समय दिँदै महानगरले व्यवस्थापन नगरे हटाइदिने जनाएको छ । पोल–पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएर तथा लत्रिएर सडकमा छरिएका तारका कारण सहरी सुन्दरतामा ह्रास पुर्‍याएको भन्दै अनावश्यक अव्यवस्थित तार हटाउन र आवश्यक तारलाई संकेत चिह्न लगाएर पहिचान गर्न निर्देशन दिएको हो ।

पटक–पटक अनुरोध र ताकेता गरिसकेको सूचनामा उल्लेख छ । तोकेको अवधिभित्र तार नहटाइए महानगरले आफैं हटाउने जनाएको छ । महानगर आफैंले यसअघि अल्टिमेटमसहितको सूचना निकालेर तार काट्ने काम गरेको छैन । गुनासो आएको ठाउँमा नगर प्रहरीले लत्रिएका, झुन्डिएका तार काट्ने र व्यवस्थित गर्ने गर्थे । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणअघि दूरसञ्चार प्राधिकरणले त्रिपुरेश्वरदेखि चक्रपथसम्मको रूट, एयरपोर्टदेखि नयाँ बानेश्वर हुँदै सोल्टी होटलसम्म र चक्रपथ महाराजगन्जसम्मका असरल्ल तारहरु व्यवस्थित गर्ने काम गरेको थियो । लगत्तै पुस २०७६ मा ठमेल पर्यटन विकास परिषद्ले सहरलाई कुरुप बनाएको भन्दै पोलमा झुन्डिएका तथा सडकमा लत्रिएका विद्युत्बाहेक अन्य सबै तारहरु काटेको थियो । परिषद्ले सार्वजनिक सूचना गर्दासमेत सरोकारवाला निकाय अग्रसर नभएपछि आफैंले तार काटेको थियो । तार काटिएर इन्टरनेट सेवा अवरूद्ध भएपछि ठमेल क्षेत्रका होटल, रेस्टुरेन्ट र ट्राभल व्यवसायीसँगै आईएसपीहरुबीच खैलाबैला मच्चिएको थियो ।


प्रकाशित : वैशाख १७, २०८० ११:०१
प्रतिक्रिया
पठाउनुहोस्