कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

पृथ्वी जोगाउने प्रण गरौं

एकदिन हरियो पहिरनमा सजिएर, बिरुवा समातेर फोटो खिचेर मात्रै वातावरण संरक्षण हुन्छ त ? हामीले हाम्रा भावीपुस्ताका लागि आजैबाट वातावरण संरक्षण सुरु गर्ने कि नगर्ने ? प्रदूषण नियन्त्रणका उपायहरू अवलम्बन गर्ने कि नगर्ने ? पानी सञ्चय गर्ने कि नगर्ने ? प्राकृतिक स्रोतको अनावश्यक दोहन नियन्त्रणका लागि पहल गर्ने कि नगर्ने ? युद्धको विरोध गर्ने कि नगर्ने ?
अनिता खरेल

‘संसार’ अर्थात् पृथ्वी । गर्भाशयमा अस्थिर अग्निपुञ्ज बोकेर बसेकी पृथ्वीको शरीर पनि दिन प्रतिदिन रापिन थालेको छ । अनि त्यसको प्रत्यक्ष असर परिरहेको छ, पृथ्वीका सन्तानमाथि । अत्यधिक गर्मीको प्रभावबाट कुनै पनि जीव अक्षुण्ण रहन सक्दैनन् ।

पृथ्वी जोगाउने प्रण गरौं

पशुपक्षी, जलचर, थलचर एवम् कीटपतङ्गलाई त थाहा नहोला कि पृथ्वी किन यति धेरै तातिइरहेकी छन्, तर के हामी मानिसलाई पनि थाहा छैन होला र ? यदि थाहा छ भने पृथ्वीलाई बचाउने कोसिस गर्ने कि नगर्ने ? कसैले गरिदेला भनेर मुख ताकेर बस्ने प्रवृत्तिको अन्त्य गर्दै हामी प्रत्येकले ढिला नगरी आ–आफ्नो ठाउँबाट पृथ्वीलाई जोगाउने अभियानको सुरुवात गर्न जरुरी छ ।

पृथ्वी किन तातिइरहेकी छन् ?

पृथ्वी र सूर्यबीचको दूरी हिजो जति थियो, आज पनि त्यति नै छ र भोलि पनि त्यति नै रहनेछ । यही निरपेक्ष सत्य हो । तर हिजोभन्दा आज पृथ्वीको तापक्रम प्रत्येक वर्ष किन बढ्दै गइरहेको छ त ? केही वर्षअघिसम्म अधिकतम तापक्रम २८ डिग्री सेल्सियस पुग्ने काठमाडौंमा हिजोआज ३५ डिग्री सेल्सियस तापक्रम पुग्नु सामान्य हुन थालिसक्यो । तराई–मधेशका गाउँसहरमा त बाँच्न गाह्रो पर्ने अवस्था सिर्जना भइसकेको छ ।

यही वर्ष नेपालगन्ज, धनगढी, भैरहवालगायत स्थानहरूमा दिउँसोको समयमा ४५ डिग्री सेल्सियसभन्दा माथिसम्म तापक्रम मापन भएको छ । यसो हुनुको प्रमुख कारण भनेको वातावरणीय प्रदूषणमा अत्यधिक वृद्धि, अनियन्त्रित बसोबास, जथाभाबी कङ्क्रिटको संरचना निर्माण, भूमिगत पानीको अनियन्त्रित दोहन, नदीनाला र वनजङ्गलजस्ता प्राकृतिक स्रोतको विनाश एवम् मानवसिर्जित प्रकोपहरू नै हुन् ।

देशको आर्थिक समृद्धिका लागि उद्योगधन्दा एवम् कलकारखानाहरू खुल्न एकदम जरुरी छ । यसले देशको आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै देशमै रोजगारी सिर्जनासमेत गर्ने वातावरण तयार हुन्छ । तर वातावरण प्रदूषण रोकथामका लागि उद्योगधन्दा एवम् कलकारखानाले आधुनिक प्रविधिको अनुसरण गर्दै प्रकृतिप्रतिको आफ्नो जवाफदेहिता प्रकट गर्नैपर्छ ।

यस कार्यका लागि सम्बन्धित निकायले वातावरण प्रदूषण नियन्त्रणका लागि पालना गर्नैपर्ने न्यूनतम मापदण्ड पूर्णरूपले पालना भएको वा नभएको नियमन गर्न जरुरी छ । साथै, हरेक घरमा धूवाँरहित चुलोको स्थापना गर्ने गराउने सम्बन्धमा समेत स्थानीय सरकार र सरोकारवालाहरूले कदम चाल्नैपर्ने देखिन्छ । चुलोबाट निस्किने धूवाँ, डढेलो र उद्योग/कलकारखानाबाट निस्किने धूवाँबाट निस्किने हानिकारक ग्यास जस्तैः कार्बन मोनोअक्साइड, एमोनिया, मर्करीलगायतको उत्सर्जनमा ह्रास ल्याउन सकिन्छ । यस्ता खतरनाक ग्यासहरू आजको पृथ्वीको बढ्दो तापक्रमका लागि प्रमुख जिम्मेवार तत्त्व हुन् ।

अनियन्त्रित बसोबास

नेपालका प्रमुख सहर (हाल प्रदेश राजधानीहरूसमेत) मा अनियन्त्रित बसोबास वृद्धि हुनु पर्यावरणीय सङ्कटको अर्को प्रमुख कारण हो । युवाहरू विदेशिने र तिनका परिवार सहर पस्ने क्रम तीव्र रूपमा बढेको छ । फलस्वरूप गाउँघर खासगरी पहाडमा खेतीयोग्य जमिन बाँझो छाड्नुका साथै वनजङ्गलमा बर्सेनि डढेलोको क्रम बढिरहेको छ ।

सहरमा बढिरहेको अनियन्त्रित जनसङ्ख्या वृद्धिले भीडभाड बढाउनुका साथै उचित बासको प्रबन्ध बढाउनुपर्ने क्रमलाई पनि बढावा दिइरहेको छ । न्यूनतम आधारभूत आवश्यकता र आयमूलक रोजगारमा सहज पहुँच गाउँमै उपलब्ध गराउन सकिने अवस्था सिर्जना गर्न सकिन्थ्यो भने न युवापुस्ता विदेश जाने रहर गर्थे न त उनका परिवार नै गाउँ खाली गर्दै सहरतिर बसाइँ सर्थे । हिमाल, पहाड र तराईका गाउँसहर सबैतिर समानान्तर बसोबास गराउने अभियान स्थानीय सरकारले अब तत्काल सुरु गर्नुपर्ने देखिन्छ । साथै, प्रत्येक घर अगाडि कम्तीमा पनि दुई रूख अनिवार्य रोप्नैपर्ने प्रावधान पनि ल्याउन जरुरी देखिन्छ ।

२०७२ सालको भूकम्पले गोरखा, सिन्धुपाल्चोक, दोलखा र रसुवा जिल्लाहरूमा पुर्‍याएको संरचनागत क्षतिको पुनर्निर्माण गर्ने क्रममा विभिन्न दाता तथा नेपाल सरकारले संरचना पुनर्निर्माण गर्दा कङ्क्रिटकै पक्की घर बनाउनुपर्ने प्रावधान ल्याए । फलस्वरूप हाल नेपालका सहरहरूमा मात्र नभई गाउँगाउँमा समेत परम्परागत शैलीका घर र संरचना हटाउँदै कङ्क्रिटका संरचना निर्माण भइरहेका छन् ।

धेरै जिल्लामा त स्थानीय निकायले नै कङ्क्रिटको भ्युटावरसमेत निर्माण गर्न भ्याइसकेका छन् । प्राकृतिक प्रकोपको जोखिम कम गर्नका लागि आधुनिक प्रणालीबाट परम्परागत शैलीकै घरहरू निर्माण गर्न र गराउन पनि सकिन्छ भन्ने कुराको हेक्का राखिएन । जापानमा आठ रेक्टर स्केलसम्मका भूकम्प जाँदासमेत कुनै संरचनामा क्षति नपुग्ने तरिकाले घर निर्माण गरिन्छन् । तर हामीले सिर्फ कङ्क्रिटको संरचनालाई बढावा दियौं, जसका कारण हाम्रा गाउँहरूमा पानीका मुहान सुकिरहेका छन् । कङ्क्रिटको फोहोर थुप्रिरहेको छ । उत्पादनमुखी जमिनमा त्यस्ता फोहोर गाड्नु भनेको पनि जमिनको उत्पादकत्व र भूमिगत पानीको स्रोतमा ह्रास ल्याउनु हो ।

पानीको अनियन्त्रित दोहन

नेपालका अधिकांश सहर र तराई क्षेत्रमा डिप बोरिङ गर्ने क्रम धेरै बढिरहेको छ । अझ डिप बोरिङ गरेर पानीको पाइपलाई खुला छोड्ने प्रवृत्ति त झन् हानिकारक छ । पृथ्वीले जति मात्रामा भूमिगत पानी निर्माण गर्न सक्छिन्, जति मात्रामा पानीलाई शुद्धीकरण गर्न सक्छिन्, त्यो भन्दा अत्यधिक पानी बोरिङको माध्यमबाट खेर गइरहेको हुन्छ । अनावश्यक भूमिगत पानीको दोहनले भविष्यमा खडेरी निम्त्याउनुका साथै भावीपुस्ताका लागि भूमिगत पानी नै नरहने अवस्थासमेत सिर्जना हुन सक्छ । यस्तो किसिमको अनियन्त्रित भूमिगत दोहनलाई स्थानीय निकाय वा सरोकारवालाले उचित ध्यान दिएको देखिँदैन ।

त्यतिमात्र कहाँ हो र ? पिउने पानी शुद्धीकरणका लागि आधुनिक फिल्टरहरू अहिले हरेक घरघरमा जडान गर्न थालिएको छ । तर ती फिल्टरबाट एक लिटर पानी शुद्धीकरण हुँदा न्यूनतम दुई लिटर पानी खेर गइरहेको हुन्छ । सिंगापुरले आफ्नो देशको फोहोर र ढलको पानीलाई प्रशोधन गरेर पिउनयोग्य पानीमा रूपान्तरण गरेर संसारलाई चकित बनाइरहेको अवस्थामा हामीचाहिँ सफा पानीलाई अशुद्ध भन्दै ढलमा बगाइरहेका छौं । बरु परम्परागत शैलीकै सिलिन्डरयुक्त फिल्टरबाट पानी शुद्धीकरण गर्दा वा पानी उमालेर सफा कपडाले छान्दा पानी खेर जाँदैनथ्यो । तसर्थ प्रविधिको देखासिकी गरेर आधुनिकीकरणतर्फ अग्रसर हुँदै गर्दा हामीले जल संरक्षण गर्ने दायित्वलाई बेवास्ता गरेका होइनौं र ?

प्राकृतिक स्रोतको विनाश

नदीनाला, वनजङ्गल, चरणक्षेत्र तथा चुरेजस्ता प्राकृतिक स्रोतहरूको विनाश जलवायु परिवर्तन गराउन र पृथ्वीको तापक्रम बढाउनमा भूमिका निर्वाह गर्ने अर्को प्रमुख कारण हो । भूमिगत पानी जतिजति कम हुँदै गइरहेको छ, त्यति नै नदीनाला सुक्ने क्रम बढ्दो छ ।

जमिनको मूल रिचार्ज हुन नपाउँदा र वनजङ्गलमा चट्याङबाट लाग्ने डढेलोका कारणले प्राकृतिक स्रोतमा क्षति पुग्नुका साथै सुक्खा पहिरो जाने, जमिन भासिने, पहाडै फुटेर बग्ने जस्ता विपद्का घटना दिनानुदिन बढिरहेका छन् । थोरै समयमात्र पानी पर्दा पनि बाढी र पहिरोका घटना बढ्न थालेका छन् । पशुपक्षीहरूको बासको विनाश भइरहेको छ । फलस्वरूप पर्यावरण असन्तुलन हुँदै गइरहेको छ । यस्ता घटनाले प्राकृतिक मात्र नभई मानवीय क्षतिको समेत जोखिम बढाइरहेको छ ।

मानवसिर्जित प्रकोप

मानवसिर्जित प्रकोप भन्नाले जङ्गलमा सुक्खा पातपतिङ्गरमा लगाइने डढेलो, विकास निर्माणका क्रममा हुने विस्फोट, अप्राकृतिक रूपले नदीनाला नियन्त्रणका लागि लगाइने बाँध तथा युद्धजन्य क्रियाकलापलाई भन्न खोजिएको हो । यस्ता प्रकोपले वातावरणमा अत्यधिक प्रदूषण बढाइरहेका छन् । डढेलो फैलिएर सुक्खा पातपतिङ्गरको साटो हरिया रूखबिरुवा नै सखाप पारिरहेका छन् ।

जङ्गली पशुपक्षी मरिरहेका छन् । केही आफ्नो ज्यान बचाउनका लागि बस्ती छिरिरहेका छन्, यता बस्तीका मानिस भने ती पशुपक्षीबाट जोखिम मोलिरहेका छन् । यस्तै, नदीको धार परिवर्तन भएर खेतीयोग्य जमिन बाँझो रहने अनि बस्तीचाहिँ डुबानमा पर्ने गरेका छन् । वनजङ्गल, मानिस, पशुपक्षी सबै असुरक्षित भइरहेका छन् । मानिसहरू आफ्नो भएको थोरै जमिनको उत्पादनले छाक टार्न नसक्ने अवस्थाबाट गुज्रिनु परिरहेको छ । अनि त बढ्ने गरेको छ, विदेशिने र गाउँ खाली हुने क्रम । यस्ता प्रकोपहरूले आम मानिसमा निराशासमेत सिर्जना गर्ने गरेको छ ।

निष्कर्ष

थोरै दूरीको यात्रा गर्नुछ भने पनि यातायातको साधन नै प्रयोग गर्ने प्रवृत्तिसमेत बढ्दै गइरहेको छ । जतिजति हामी यातायातको साधन प्रयोग गर्छौं त्यति नै पेट्रोलियम पदार्थको खपत बढिरहेको हुन्छ भन्ने कुराको ख्याल नै गर्दैनौं । केही समयदेखि विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेकै छ । तर त्यसले पनि प्रकृतिको दोहन त गरेकै हुन्छ । तसर्थ अनावश्यक रूपमा प्राकृतिक स्रोतको उपभोग, सुविधाको उपभोग घटाउन जरुरी छ । आफ्नो सानो कोसिसले पनि पृथ्वीलाई बचाउन सकिन्छ भन्ने कुरा मनन गर्न जरुरी छ ।

गत ५ जुनमा हामीले विश्व वातावरण दिवस मनायौं । तर के एकदिन हरियो पहिरनमा सजिएर, बिरुवा समातेर फोटो खिचेर मात्रै वातावरण संरक्षण हुन्छ त ? हामीले हाम्रा भावीपुस्ताका लागि आजैबाट वातावरण संरक्षण सुरु गर्ने कि नगर्ने ? प्रदूषण नियन्त्रणका उपायहरू अवलम्बन गर्ने कि नगर्ने ? पानी सञ्चय गर्ने कि नगर्ने ? प्राकृतिक स्रोतको अनावश्यक दोहन नियन्त्रणका लागि पहल गर्ने कि नगर्ने ? युद्धको विरोध गर्ने कि नगर्ने ? पृथ्वी रहे न हामी रहन्छौं । एक पटक सोचौं, मनन गरौं अनि आजै प्रण गरौं— ‘म मेरो पृथ्वीलाई जोगाउँछु ।’

प्रकाशित : असार ५, २०८१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×