कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कांग्रेस महासमिति बैठकको दायित्व

समसामयिक राजनीतिक, आर्थिक, कूटनीतिक र सामाजिक मुद्दामा कांग्रेसले स्पष्ट नीतिसहित आगामी बाटो तय गरी देश र समाजलाई अग्रगामी बाटोमा डोर्‍याउने आशा जगाउन सक्नुपर्छ ।
शेखर कोइराला

२०६२–६३ सालको जनआन्दोलनपश्चात् नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शान्ति वार्ता सम्पन्न भयो । संविधानसभामार्फत कांग्रेसकै तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा २०७२ सालमा मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाउन सफल भयो । तत्पश्चात् हामीले दुई वटा निर्वाचन सम्पन्न गरी सबै तहका सरकारले सत्ता सञ्चालन गरिरहेका छन् । 

कांग्रेस महासमिति बैठकको दायित्व

गत आठ वर्षमा विभिन्न राजनीतिक दल, विभिन्न तहका सरकार, संरचनाको कार्यशैली र प्राप्त उपलब्धिबारे जनताले महसुस गर्ने अवसर पाएका छन् । संविधानको प्रावधानअधनुसार मिश्रित निर्वाचन प्रणाली अपनाउँदा देशमा जहिले पनि गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता भइरहने अप्ठेरो अवस्था छ । बीपी कोइरालाको सिद्धान्त र विचारअनुसार जनताले २००७ सालमा लोकतन्त्रको बीजारोपण गरेकै दिनको शुभसाइतमा कांग्रेसको नीति महाधिवेशनका रूपमा महासमिति बैठक आज सुरु हुँदै छ ।

कांग्रेसको इतिहासमा केन्द्रीय कार्यसमितिको निर्णयमा नै दस्ताबेजीकरण गरेर कम्युनिस्टलगायत विभिन्न दलसँग यसअघि निर्वाचनपूर्व नै गठबन्धन गर्ने निर्णय गरेका थियौं । हामीले कांग्रेसका साथी र शुभेच्छुकलाई अन्य पार्टीको निर्वाचन चिह्नमा मत दिन लगायौं । सम्पन्न निर्वाचनले सबै तहमा सत्ता प्राप्त गर्न ठूलो पार्टी त बनायो तर कांग्रेसले मौलिकता गुमायो भनेर कांग्रेसका धेरै कार्यकर्ता, शुभेच्छुक र लोकतान्त्रिक विचारकबीच निराशा पैदा भएको छ । सत्ताका लागि विचार र सिद्धान्त त्यागेर हामी व्यावहारिक राजनीतिमा लाग्यौं, जसले हामीलाई अन्योलतिर धकेलेको गुनासो व्याप्त छ ।

राजनीतिमा विचार र सिद्धान्त छाडेपछि संगठन, नेता–कार्यकर्तामा विचलन आउन थाल्छ, आज कांग्रेसका धेरै साथीमा देखिरहेका छौं । आजदेखि हुने महासमिति बैठकले फेरि बीपीको दर्शन, विचार र सिद्धान्तमै अगाडि बढ्न र सधैं गठबन्धन सरकार बनाउनुपर्ने बाध्यताबाट मुक्त हुन ऊर्जा थप्ने आशा धेरै कांग्रेसी साथीहरूको छ । निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रतिबद्धतासहित हरेक तहका निर्वाचनमा अब उप्रान्त कांग्रेसले कुनै दलसँग चुनाव अगाडि गठबन्धन वा तालमेल गर्नु हुँदैन भन्ने खालका नीति कार्यक्रम पारित गर्ने उनीहरूको अपेक्षा छ । किनकि कांग्रेस सही मार्गमा हिँड्नु भनेको देश सही मार्गमा हिँड्नु हो । महासमिति सदस्यहरू यो अठोट र ऊर्जासहित गाउँबस्ती फर्कने अवस्था यो बैठकले गर्नेछ भन्ने सबैको विश्वास हो ।

कांग्रेसले २००७ सालमा नेपालको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रलाई जनताको जिम्मेवारीमा ल्याएको थियो । विभिन्न अस्थिरता बेहोर्दै २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा निर्वाचित सरकारले जनताको घरदैलोमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चार र रोजगारी पुर्‍याउनका लागि लोककल्याणकारी कार्यक्रम ल्यायो, त्यही जगमा आज देश अगाडि बढिरहेको छ । २०४६ सालमा लोकतन्त्र पुनःस्थापना गरेर कांग्रेसले आधुनिक लोकतान्त्रिक व्यवस्था र अर्थतन्त्रको जग हाल्यो । कांग्रेसका यिनै रूपान्तरणकारी कदमले नेपालीले अहिले आधुनिक विकासको बाटोमा हिँड्ने जमर्को गरेका छन् । देश आर्थिक, सामाजिक र राजनीतिक अप्ठ्यारोमा पर्दा समाधान गर्ने बाटोमा हामीलाई सधै साथ दिएका छन् ।

विभिन्न कारण आज नेपाली समाजको स्वरूप र बनोट फेरिएको छ । युवाको क्षमताका साथसाथै आकांक्षा पनि फेरिएका छन् । उद्यमी, किसान, विद्यार्थी, ज्येष्ठ नागरिक, महिला र सबै वर्ग, समुदाय एवं क्षेत्रको गुनासो दिनानुदिन हामीप्रति बढ्दै छ । समाजमा पेसा, व्यवसाय, उद्यम गरेर सरकारलाई कर तिरेर गरिखाने वर्गले नसोचेको आर्थिक कठिनाइ बेहोरेको छ । उत्पादनले बजार र उचित मूल्य पाएको छैन । समाजका यी सबै वर्ग र समुदाय विशेष गरेर कर तिरेर सरकार र समाजलाई पाल्ने वर्गलाई महासमितिमार्फत कांग्रेसले कस्तो राहतको सन्देश दिन्छ भनेर सबैले प्रतीक्षा गरेका छन् ।

अहिले मुख्य समस्या बेरोजगारी, सुशासनको अभाव, दण्डहीनता र सामाजिक असमानता देखिएको छ । यसले गर्दा विशेष गरेर युवाहरूमा उज्यालो भविष्य नदेखेर बाह्य देशको शिक्षा र श्रम बजारलाई गन्तव्य बनाउने क्रम बढ्दो छ । हिजोसम्म विद्यार्थीका रूपमा र वैदेशिक रोजगारीका लागि मात्रै नेपाली युवा विदेश पलायन हुन्थे भने अब प्रोफेसनल व्यक्ति पनि स्थायी र सुरक्षित बसोबासका लागि विदेश जान थालेका छन् ।

बढ्दो सामाजिक अपराध, गरिबी र असमानताले विद्रोह ल्याउने सम्भावनालाई नकार्न सकिँदैन । भ्रम र निराशाको खेती गरेर लोकरिझ्याइँको राजनीतिमा रमाउनाले देशलाई अस्थिरतातिर पुर्‍याउँछ र अन्ततोगत्वा यसले लोकतन्त्र नै धरापमा पर्छ । त्यो अवस्थामा अरूभन्दा लोकतन्त्रको पहरेदार कांग्रेस नै बढी जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । यो महासमिति बैठकले सुशासन कायम गर्नमा पार्टी र पार्टीमा संलग्न सबै तहका सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध शून्य सहनशीलताका नीति लिन स्पष्ट मार्ग निर्देशन अवश्य गर्नेछ ।

२०७२ सालमा संविधान जारी भएपछिको दोस्रो निर्वाचनपश्चात् हामी सबै तहका गठबन्धन सरकारमा छौं । तीनै तहको सरकारलाई जनअपेक्षाअनुसार समन्वयात्मक ढंगले सञ्चालन गर्न, सुशासनको प्रत्याभूति गर्न र आवश्यक कानुन अविलम्ब निर्माण गराउन हामी संलग्न सरकारलाई निर्देशन दिन आवश्यक छ । विभिन्न संरचनामा अनावश्यक हस्तक्षेप र समग्र प्रणालीको अक्षमताका कारण राज्यको विभिन्न अंगमा फैलिएको भ्रष्टाचार र आर्थिक अनुशासनहीनताले सुशासन सुनिश्चित गर्न सकेको छैन । यसले एकातिर जनतामा सार्वजनिक व्यक्ति र संस्थाप्रति विश्वास घटेको छ भने अर्कोतर्फ राजनीतिक दल र प्रणालीप्रति वितृष्णा बढ्ने माहोल सिर्जना भएको छ । यी सबै नीति निर्माण गर्ने काम अविलम्ब सुरु गर्न सरकारलाई कांग्रेसको महासमितिको बैठकले निर्देश गर्नैपर्छ ।

देश संघीयतामा गइसके तापनि संघमा झन् धेरै संरचना निर्माण गरिएका छन् र फजुल खर्च बढाइएको छ । सीमित साधन र स्रोत परिचालन गरी उत्पादनमूलक क्षेत्रमा कसरी लगानी गर्ने भनेर सफल देशहरूबाट सिक्दै आफूअनुकूल अगाडि बढ्नुपर्नेछ । सामुदायिक विद्यालयको उत्थान, विश्वविद्यालयलाई राजनीतिमुक्त र कक्षा सञ्चालनमा भन्दा सिकाइ र अनुसन्धानमा प्राथमिकता दिन जरुरी छ । प्रभावकारी स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकहरूको रेखदेखको समस्यालगायत राज्यले दायित्वमा लिनुपर्ने विषयमा कांग्रेसले नीतिगत स्पष्टता महासमितिमार्फत देखाउनुपर्छ ।

विदेशमा विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली र डायस्पोराबाट पनि महासमितिमा प्रतिनिधित्व हुने छ । रेमिट्यान्सको व्यावहारिक विकल्प के हुन सक्छ भन्ने उनीहरूको अनुभव नयाँ नीति बनाउन काम लाग्नेछ । आर्थिक, सामाजिक क्षेत्रमा योगदान दिन नेपाली गैरराजनीतिक संरचनामा समावेश भएर सहयोग गर्न कस्ता नीति आवश्यक हुन्छन् भन्ने बहस पनि हुनेछ । साथै, डायस्पोरासमेतको सहयोगमा हाम्रो खस्कँदो र ओज घटेको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने पहल पनि गर्नुपर्नेछ । कांग्रेसले डायस्पोरासँगको सञ्जाल निर्माण गरी हाम्रा कृषि, हस्तकला, जडीबुटी, सूचना प्रविधि सफ्टवेयरलगायतका उत्पादनको बजार पनि बढाउन सक्छ । यसले नेपालको निर्यात बढ्नेछ र रोजगारी अवसर पनि सिर्जना हुनेछन् ।

दिगो औद्योगिकीकरण र सेवा क्षेत्रमा विकास गरी ठूलो मात्रामा भएको बेरोजगारी कम गर्न कृषिमा पूरै स्ट्रक्चरल परिवर्तनमा जोड दिनुपर्छ । आयातमा न्यूनीकरण, तराई मधेशमा अविलम्ब सिँचाइका आयोजना सम्पन्न गरी कम्तीमा खाद्यान्नमा आत्मनिर्भर हुने, बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक महत्त्व बोकेका कारण धार्मिक पर्यटनको विकासतर्फ ध्यान दिनुपर्छ । हाम्रा धार्मिक धरोहरको प्रचारप्रसारमार्फत पर्यटक भित्र्याउन आवश्यक पूर्वाधारमा लगानी प्रवर्द्धन गरी मर्यादित रोजगारी सिर्जना गर्दै आर्थिक गतिविधि बढाउने कुरामा स्पष्टता हुनुपर्छ ।

पार्टी र जनप्रतिनिधिबीच समन्वय कायम गरी राज्यको सेवाप्रवाह र विकासलाई प्रभावकारी बनाउन पार्टीको विधानमा एक स्थायी संयन्त्रको व्यवस्था गरिनुपर्छ । नेताहरूको एउटा तप्काको जीवनशैलीमा ठूलै परिवर्तन आएको तर दुर्गम गाउँबस्तीमा बसेर संगठनमा अहोरात्र काम गर्ने निष्ठावान कार्यकर्ता अवसरबाट पटकपटक वञ्चित भएकाले कार्यकर्तामा नैराश्य छाएको छ । कतै हाम्रै अक्षमता र असमान व्यवहारका कारणले त निराशा बढिरहेको छैन ? यसबारे सम्पूर्ण कांग्रेसजनले आत्मसमीक्षा गर्नुपर्छ ।

महासमितिले पार्टीको पन्ध्रौं महाधिवेशन २०८२ सालमा हुने सुनिश्चितता गर्दै संगठनलाई चुस्तदुरुस्त बनाउन विधान संशोधन गर्ने समिति बनाई अब पार्टी विधिविधानअनुसार चल्छ र सबैलाई न्याय हुनेछ भन्ने भरोसा जगाउन अपरिहार्य भएको छ । संगठनमा अब के गर्ने भन्ने खाकाको अभाव छ, जुन यो महासमितिले अवश्य हटाउनेछ । क्रियाशील सदस्यता वितरणदेखि विभाग तथा भ्रातृ संस्था, शुभेच्छुक संघसंस्थालाई चलायमान र विधिसम्मत अघि बढाउने प्रतिबद्धता महासमितिले गर्नुपर्छ । समसामयिक राजनीतिक, आर्थिक, कूटनीतिक र सामाजिक मुद्दामा कांग्रेसले स्पष्ट नीतिसहित आगामी बाटो तय गरी देश र समाजलाई अग्रगामी बाटोमा डोर्‍याउने आशा जगाउन सक्नुपर्छ ।

प्रकाशित : फाल्गुन ७, २०८० ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?