तनावी समाजको नैतिक ऐना

मानिस नैतिक आचरणको आयतनमा विपरीत ध्रुवका सुर र असुर गुणहरू एकैसाथ बोक्न सक्ने विलक्षण प्राणी हो ।

सन् २०१० मा भारतको तमिलनाडु राज्यका ५४ गाउँमा बसोबास गर्ने ४६४ उखु किसानहरूबीच एउटा वैज्ञानिक अनुसन्धान गरियो । अनुसन्धानमा संलग्न उखु किसानहरूको जमिन १२–२४ रोपनीसम्म थियो । उनीहरूको घरेलु आम्दानीको करिब ६० प्रतिशत हिस्सा उखु खेतीबाट प्राप्त हुन्थ्यो । बेलायतको वारेक, अमेरिकाका हार्वर्ड र प्रिन्स्टन एवं क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयका अध्येताहरूले उक्त अनुसन्धान गरेका थिए ।

तनावी समाजको नैतिक ऐना

अध्येताहरूले किसानहरूसँग उखु काटेर बेचेपछि र उखु काट्नुअघिको चार महिनाको अवधिमा अन्तर्वार्ता गरेका थिए । मिललाई उखु बेच्दा पालो पर्खनुपर्ने भएकाले सबैले एकै पटक उखु लगाउने र काट्ने गर्दैनथे, जसले गर्दा उखु काट्ने र रोप्ने क्रम चार महिनासम्म चल्थ्यो । अध्ययनमा संलग्न अधिकांश उखु किसानहरू उखु काट्नुअघि आर्थिक संकटमा डुबेका हुन्थे र उनीहरूले सम्पत्ति/सरसामान बन्धकी राखेर ऋण लिएका हुन्थे । सरदर ऋणको मात्रा उखु काटेपछिको भन्दा उखु काट्नअघि करिब दोब्बर हुने गर्थ्यो । अन्तर्वार्ताका क्रममा अध्येताहरूले किसानहरूलाई राभेन्स म्याट्रिक्स भनिने बुद्धिमता परीक्षा (आईक्यू टेस्ट) मा प्रयोग गरिने प्रश्नावलीहरू सोधेका थिए । ६० वटासम्म प्रश्न समेटिने उक्त प्रश्नोत्तर विधि पाँच वर्षभन्दा बढी उमेरका मानिसहरूको संज्ञानात्मक कार्यक्षमता (कग्नेटिभ फङ्सन) मापन गर्न विश्वव्यापी रूपमा प्रयोग गरिन्छ ।

सर्वेक्षणको तथ्यांक केलाउँदा, एकै किसानले उखु भित्र्याएपछि भन्दा उखु काट्नुअघिको आईक्यू परीक्षामा कम नम्बर ल्याएको पाइयो । उखु काट्नुअघि किसानहरू ऋणको बोझ र खर्च गर्ने पैसा अभावका कारण तनावमा हुन्थे, जसले गर्दा उनीहरूको मस्तिष्कको ठूलो ऊर्जा तनावबाट कसरी छुटकारा पाउने भन्नेमा खर्च हुने गर्थ्यो । फलस्वरूप उनीहरूको मस्तिष्कको — तर्कसगंत ढंगले सोच्ने र समस्याहरूको हल गर्ने जस्ता — क्षमता (फ्ल्युड इन्टेलिजेन्स) मा ह्रास आएको थियो । उक्त अध्ययन र प्रयोगशालामा गरिएका अन्य परीक्षणको नतिजा २०१३ को अगस्टमा साइन्स जर्नलमा प्रकाशित भयो, जसको निष्कर्ष थियो— गरिबीसँगै जोडिएको तनावले मानिसको संज्ञानात्मक कार्यक्षमतालाई थला पार्छ ।

संसारमै न्यून आईक्यू भएका नेपाली ?

केही समयपहिले नेपालीको आईक्यू संसारमै न्यून भएको खबर एकाएक फैलियो । कतिपयले उक्त कुरा हल्ला ठाने त कतिपयले सत्य । नेपाल इकोनोमिक फोरमको एक्स ह्यान्डलबाट सेयर भएपछि उक्त तथ्यांकको स्रोत खोज्दै जाँदा वर्ल्ड पपुलेसन रिभ्यु डटकमको विश्व नक्सामा नेपालीको आइक्यू ४२.९९ देखाइएको थियो । उक्त नक्साको स्रोत अल्स्टर इन्स्टिच्युट फर सोसल रिसर्चका अध्येता रिचर्ड लिन र डेभिड बेकरद्वारा सन् २०१९ मा प्रकाशित ‘इन्टेलिजेन्स अफ नेसन्स’ पुस्तक थियो । पुस्तकका अनुसार, उक्त नम्बर सन् १९८४ मा विश्व बैंकले नेपालका बारा र रौटहट जिल्लामा गरेको अध्ययनका आधारमा निकालिएको हो । तर उक्त नम्बरलाई सहरी जनसंख्यासँग तुलना गर्नका लागि तथ्यांक उपलब्ध नभएकाले धेरै अपत्यारिलो (भेरी इम्प्लजिबल) भएको उक्त रिपोर्टको पृष्ठ ११७ मा उल्लेख छ । त्यसकारण, नेपालीको आईक्यू संसारमै कम भएको कुरा आफैंमा सन्देहास्पद छ ।

तथापि आईक्यू टेस्ट विगत एक शताब्दीभन्दा अघिदेखि विश्वभर मानिसको बुद्घिमत्ता मापन गर्न प्रयोग (र, दुरुपयोग) हुँदै आएको छ । यस विधिको उपादेयता, सान्दर्भिकता र वैधानिकताबारे अध्येताहरूबीच मतभेद भएकाले यसलाई अहिले मानव बुद्घि मापनको प्रयोगमा विवादास्पद सूचकांक मानिन्छ । तर मान्छेको बुद्घिभन्दा संज्ञानात्मक क्षमताको मापनमा भने यसको प्रयोग व्यापक छ । थप, मानिसको बुद्घिमत्ता जन्मजात निर्धारित जड विषयभन्दा पनि समयक्रममा परिमार्जित हुँदै जाने गतिशील क्षमता हो, जुन मानिसअनुसार फरकफरक हुन्छ र समयक्रममा निखारिँदै जान्छ ।

मानिसको आईक्यू बढोत्तरी सन्दर्भमा समाज वैज्ञानिक जेम्स फ्लिनले सन् १९८० मा एउटा तथ्य अघि सारे । उनका अनुसार, बीसौं शताब्दीको सुरुदेखि प्रत्येक दशकमा मानिसहरूको आईक्यू सरदर ३ पोइन्टले बढ्दो छ । ‘फ्लिन इफेक्ट’ भनिने उक्त दाबी आईक्यू टेस्टजस्तै विवादास्पद मानिन्छ, तथापि पछिल्लो समय मानिस आईक्यू टेस्टमा संलग्न गराइने विषयहरूमा बढी जानकार बन्दै छ । मानिसले टेस्टमा सोधिने तथ्य, गणित र शब्द भण्डारको क्षेत्रमा मात्रै होइन, जटिल कुराहरूलाई बुझ्न सक्ने, तर्क गर्न सक्ने, कोलाहलबाट संकेत बुझ्नेजस्ता क्षमता पनि बढाएको छ ।

बदलिँदो अर्थव्यवस्थाले ल्याएको चुनौतीको सामना गर्न मानिसमा त्यस्ता क्षमताहरूको वृद्घि भएको फ्लिनको ठम्याइ छ । १९ औं शताब्दीमा मानिस हलो, मेसिन र औजार खेलाउँथ्यो तर अहिले शब्द, संख्या र संकेत केलाउँछ । जीविका कृषिबाट उद्योग र सूचनाप्रविधितिर बढ्दै जाँदा र मानव बस्ती गाउँबाट सहरतिर सर्दै जाँदा जटिल कुराहरू बुझ्नैपर्ने दबाब मानिसमाथि छ । उनी थप्छन्, ‘सन् १९०० मा लगभग ३ प्रतिशत अमेरिकी संज्ञानात्मक क्षमता बढी चाहिने व्यवस्थापन, कानुन र डाक्टरी पेसामा संलग्न थिए भने, सन् २००० सम्म त्यसको संख्या ३५ प्रतिशत पुगेको छ ।’ यस्ता क्षेत्रहरूमा रोजगारी गर्नुपर्ने बाध्यताका कारण मानिसको जटिल कुराहरूलाई बुझ्ने क्षमतामा निखार आएको उनको तर्क छ ।

संज्ञानात्मक क्षमताको फैलावटसँगै यतिखेर मानिसको विश्वदृष्टिकोण पनि फेरिएको छ । मानिसमा जीवन र जगत्लाई मात्रै होइन, आर्थिक, राजनीतिक र सामाजिक घटनाक्रमहरूलाई पनि वस्तुनिष्ठ ढंगले हेर्ने र बुझ्ने पद्घतिको विकास भएको छ । यसले मानिसको नैतिक चेत (मोरालिटी) लाई थप उन्नत बनाउँदै लगेको तर्क गर्छन्, ‘द मोरल आर्क : हाउ साइन्स मेक्स अस बेटर पिपल’ का लेखक माइकल सार्मर । उनका अनुसार, मानिसहरूमा विकसित वैज्ञानिक चेतनाले भावनालाई तर्कले, उत्तेजनालाई सुझबुझले र प्रवृत्तिलाई पद्घतिले विस्थापित गरिदियो ।

त्यसैको कारण हाल संसारमा हत्या, हिंसा, क्रूरता घटेको छ । नागरिक अधिकार, प्रजातान्त्रिक प्रणाली र भोट हाल्ने मानिसको संख्या बढेको छ । संसारबाट दासत्वको लगभग उन्मूलन भएको छ । एक हिसाबले भन्दा, सम्मानपूर्ण जीवन जिउने, अरूलाई दुःखकष्ट नदिने मानिसको संख्या उल्लेख्य रूपमा बढेको छ । संसारभर देखिएको यस्तो सकारात्मक परिवर्तनलाई स्टिभन पिंकरले ‘द बेटर एन्जेल्स अफ आवर नेचर : ह्वाई भायलेन्स ह्याज डिक्लाइन’ पुस्तकमा ‘मोरल फ्लिन इफेक्ट’ को संज्ञा दिएका छन् ।

मान्छेभित्रको सुर र असुर

१ करोड १० लाख मानव हत्याको कारक बनेका हिटलर मिलनसार र सहानुभूतिशील थिए । शाकाहारी हिटलरलाई जनावरमाथिको क्रूरता बिल्कुल मन पर्दैनथ्यो । उनी आफूले पालेको कुकुर मर्दा अशान्त बनेका थिए । त्यसैगरी, मृदुभाषी र दयालु शिक्षक फेरिएर क्रूर पोलपोट बनेका थिए । मानिस नैतिक आचरणको आयतनमा विपरीत ध्रुवका सुर र असुर गुणहरू एकैसाथ बोक्न सक्ने विलक्षण प्राणी हो । त्यसैले मानव इतिहासमा हत्या, हिंसा, क्रूरता, षड्यन्त्र र छलकपटका कथाहरू मात्रै होइन, दया, करुणा, माया, प्रेम, सद्भाव र सहकार्यका प्रशस्त गाथाहरूसमेत भेटिन्छन् । रिचर्ड र्‍यांगमले ‘द गुडनेस प्याराडक्स : द स्ट्रेन्ज रिलेसनसिप बिट्विन भर्चु एन्ड भायलेन्स इन ह्युमन इभोलुसन’ मा लेखेका छन्, ‘मान्छेको नैतिक आयतनको फैलावट बयानै गर्न नसकिने दुस्ट्याइँदेखि हृदयविदारक उदारतासम्म फैलिएको छ ।’

नैतिकता मान्छेले आफूप्रति र समाजका अरूप्रति गर्ने व्यवहारको कसी हो । त्यसैले नैतिकताको कुरा गर्दा समाजमा मान्छेहरूबीच व्यवहार हुँदा न्याय, निष्पक्षता, अधिकार र नियमको कसरी वितरण भइरहेको छ भन्ने सन्दर्भ जोडिन्छ । मानव समाजमा केही आधारभूत कुराहरूलाई राम्रो–नराम्रो, सही–गलत, न्यायपूर्ण–अन्यायपूर्ण, सदाचार–दुराचार हो भनेर हेर्ने विश्वव्यापी मान्यता छ । जस्तै— कसैलाई बिनाकारण पिट्नु गलत हो वा अरूलाई मद्दत गर्नु सही हो भन्ने बुझाइ सबैजसो मानव समुदायमा स्थापित छ । दुई वर्षको बच्चामा समेत यस्ता सुकृत आचरण (राइटिअसनेस) बनिसकेको हुने अनुसन्धानहरूले देखाएका छन् । त्यसकारण मानिसले गर्ने सुकृत आचरण वा नैतिक व्यवहारहरू मानवीय भावनाहरू (इमोसन्स) का अभिव्यक्ति हुन् ।

मानिसमा निहित यस्ता थुप्रै भावना बाँच्नका लागि अत्यावश्यक छन् । तिर्खाएको नहुँदो हो त मान्छेले पानी पिउँदैनथ्यो । भोक नलाग्ने भए मान्छे नखाईकन मर्न सक्थ्यो । कामवासना नहुने भए सन्तान उत्पत्ति असम्भव हुन्थ्यो । भोक, तिर्खा र कामवासनाजस्ता भावनाहरूले मानिसलाई बाँच्न र आफ्नो अनुवंशको रक्षा गर्न सघाएजस्तै नैतिकतासँग जोडिएका मानवीय भावनाहरूले मानिसलाई बाँच्नका लागि चाहिने सामूहिक सहकार्य गर्न सघाउँछन् ।

दया, माया, करुणा, सद्भाव र विश्वासजस्ता मानवीय सकारात्मक भावनाले मान्छेलाई राम्रो भनिने कार्य गर्न उत्प्रेरणा दिइरहेका हुन्छन् भने, लज्जाबोध, दोषभागी, डर आदि नकारात्मक भावनाले नराम्रो भनिने कार्य गर्नबाट रोकिरहेका हुन्छन् । त्यस्तै, अरूसँगको व्यवहारमा मान्छेले कृतज्ञता प्रकट गरेर, क्षमाशील भएर राम्रो भनिने कार्य गर्न एकअर्कालाई उत्प्रेरित गर्ने गर्छ भने, आक्रोश पोखेर वा घृणा फैलाएर समाजमा भइरहेको अन्याय र बेथितिमाथि खबरदारी गरिरहेको हुन्छ । मान्छेमा आक्रोश नहुँदो हो त अरूले आफूमाथि अन्याय गर्दा प्रतिरोध गर्न सक्दैनथ्यो र पिल्सिराख्थ्यो । त्यसो गर्दा आफ्नै अस्तित्वमाथि संकट पैदा हुन सक्थ्यो । त्यसकारण मानिसमा निहित नैतिकता सामूहिक सहकार्यको गुणात्मक फल खान उद्विकासले सिर्जना गरेको मनोवैज्ञानिक अनुकूलता हो । यस्तो अनुकूलनका उपाय मानिसमा मात्रै होइन, अन्य सामाजिक प्राइमेटहरू र मौरीजस्ता सामाजिक कीरामा समेत हुने अध्ययनहरूले देखाएका छन् ।

तर सबै मानव समाजमा नैतिक मूल्य र मान्यता एकै हुँदैनन् । कुनै समाजमा नैतिक मानिने कर्म अर्को समाजमा अनैतिक र दण्डनीय मानिन्छ । त्यसैले मानिसमा विकसित नैतिक चेतना उद्विकासले रोपेको बीउ मात्रै होइन, सामाजिक–सांस्कृतिक मलजलको उपज पनि हो । त्यसकारण मानिसको नैतिक आचरण निर्माणमा ऊ हुर्केको समाजको सांस्कृतिक अनुभव, ज्ञान, चालचलन र आस्थाको गहिरो छाप परेको हुन्छ ।

अन्त्यमा, मानिसभित्रको नैतिक चेतनाको कम्पासलाई सकारात्मक र नकारात्मक कतातिर मोड्ने भन्ने कुरालाई त्यहाँको धार्मिक–सामाजिक मान्यता र कानुनले निर्देशित गर्छ । आधुनिकतासँगै नैतिक चेतको कम्पास यतिखेर न्याय र सदाचारतिर धकेलिँदै गएको छ । फलस्वरूप मानव समाजमा यतिखेर नागरिक स्वतन्त्रता र अधिकार, महिला अधिकार र अल्पसंख्यकको अधिकारजस्ता मान्यताहरू स्थापित भइराखेका छन् । मान्छेले एकअर्कालाई कष्ट दिने, सताउने काम विश्वव्यापी रूपमा कम हुँदै गएको छ ।

तर पछिल्लो समय नेपाली समाजमा सामूहिक स्वार्थको ठाउँमा व्यक्तिगत स्वार्थका लागि, पीडितको भन्दा पीडकका पक्षमा केही आक्रोश उठेको देखिन्छ, जसको जड ‘महिलाभन्दा पुरुष श्रेष्ठ’, ‘मर्दकी दस वटी’, ‘ठूलो माछाले सानो माछा खान्छ’ जस्ता सांस्कृतिक मान्यता हुन सक्छन् । न्याय र सदाचारतिर मोडिँदै गएको नेपाली नैतिक चेतको कम्पासलाई रोक्न त्यस्ता सांस्कृतिक मान्यताको धङधङी बोक्नेले गरेको हर्कतलाई स्वाभाविक मान्न सकिन्छ । तर तमिलनाडुका किसानको जस्तै तनावमा बाँचेका कारण नेपाली समाजको संज्ञानात्मक कार्यक्षमता थला पर्दै गएको हो भने त्यसको सघन उपचार जरुरी छ ।

प्रकाशित : माघ ४, २०८० ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?