१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

केरुङ-रक्सौल रेलमार्गको मिलनबिन्दु कहाँ ?

बद्री खतिवडा

काठमाडौं–केरुङ रेलमार्गको अन्तिम बिन्दु काभ्रेस्थली हुने रेल विभागको भनाइ कान्तिपुर दैनिकमा पढेपछि ममा आक्रोश उब्जियो । यो नेपाल सरकारको चरम लापरबाही हो । केरुङबाट प्रवेश गर्ने रेलमार्गको अन्तिम बिन्दु काभ्रेस्थली र रक्सौलबाट काठमाडौं उपत्यका प्रवेश गर्ने रेलमार्गको अन्तिम बिन्दु खोकना हुने भनिएको छ । यी दुई दिशाबाट उपत्यका प्रवेश गर्ने रेलमार्गको मिलनबिन्दु कहाँ कुन ठाउँमा हुने हो, कतै उल्लेख छैन । 

केरुङ-रक्सौल रेलमार्गको मिलनबिन्दु कहाँ ?

ललितपुर महानगरको वडा नं. २१ मा पर्ने खोकना र काठमाडौं सहरको उत्तरस्थित काभ्रेस्थलीबीचको दूरी कम्तीमा २० किमि हुन्छ । सहरको घना बस्तीलाई छिचोलेर दुवै दिशाबाट प्रवेश गर्ने रेलको मिलनबिन्दु कहाँ कुन ठाउँमा हुन्छ, यसबारे नेपाल पक्ष मौन छ । दुवै मित्र देशका सर्वेक्षण टोलीसँग प्रारम्भबाटै साथ लागेर नेपाल पक्षले आफ्ना जनताको सर्वोपरि हित हुने गरी तिनलाई उचित सल्लाह–सुझाव दिने काम भएन ।

गत असारमै भारतीय पक्षले नेपाल सरकारलाई रेलवेको डीपीआर बुझाइसकेको छ । रेल विभागका महानिर्देशक रोहित विशुरालको भनाइमा चिनियाँ सर्वेक्षण टोलीले पनि छिट्टै काम सक्दै छ । नेपालले दुवै तर्फका रेलको संयुक्त मिलनबिन्दुका लागि स्थान किटान गर्नुपर्छ, जसका लागि निम्निलिखित बुँदालाई ख्याल गर्न सकिन्छ—

१. चोभार डाँडामा भूमिगत संयुक्त जक्सन निर्माण गर्नु सबै प्रकारले उपयुक्त छ । यसो गर्दा दुवैतर्फका मित्रदेशको अहंमा ठेस लाग्दैन र ठेस लाग्न दिन पनि हुँदैन ।

२. खोकना र काभ्रेस्थलीको बीच भागको छुटेको सर्वेक्षण मित्रदेशहरूबाट सम्पन्न गराउन नेपाल सरकारले पहल गर्न ढिलो गर्नॅ हुँदैन । अथवा, खोकना र काभ्रेस्थलीबीचको सर्भेलगायत निर्माण कार्य नेपाल सरकारको आफ्नै बुताले गर्न खोजेको हो भने पनि जनताले त्यसको जानकारी पाउनुपर्छ ।

३. केही दिनअगाडि म काभ्रेस्थली पुगेको थिएँ । काभ्रेस्थली आसपासबाट महादेव खोला सहायक नदी हुँदै गोंगबुमा विष्णुमतीमा मिसिन्छ । विष्णुमती गएर टेकु दोभानमा वाग्मतीमा मिल्छ । वाग्मती हुँदै चोभार पुग्छ । काभ्रेस्थलीबाट महादेव खोला, विष्णुमती, वाग्मती र चोभार १७.७ किमि छ । काभ्रेस्थलीबाट घना सहरी बस्ती छिचोलेर चोभार पुग्न जमिनको क्षतिपूर्तिबापत ठूलो रकम बेहोर्नुपर्ने हुन्छ ।

भूमिगत रेलमार्गको निर्माण खर्च पनि महँगो पर्छ । यसको विकल्प महादेव खोला, विष्णुमती र वाग्मतीका बीचबीचबाट अग्ला पिलर (ती नदीमा अहिले भइरहेका पुलपुलेसाहरूलाई अवरोध नपर्ने गरी) मार्फत रेलमार्ग लैजान सकिन्छ । यसले गर्दा जमिनको क्षतिपूर्तिको झमेलाबाट उम्किन सकिन्छ र निर्माण लागत पनि कम हुन्छ । अहिले सर्वेक्षणमा खटिरहेको चिनियाँ टोलीलाई नै खोकनादेखि चोभारसम्मको सर्वेर्क्षण गराउनु यो उपयुक्त समय हो । यसका लागि नेपालले चोभारलाई नै जक्सन बनाउने गरी आधिकारिक निर्णय गर्न ढिलो गर्नॅ भएन ।

४. ल्हासाबाट अन्दाजी अढाइ सय किमि दिगाछेमा धेरै अगाडि रेल आइसकेको छ । दिगाछेबाट केरुङ रेलमार्ग बनेको छैन । यसको दूरी अन्दाजी ५५० किमि छ । चीन सरकारलाई ल्हासाको रेल केरुङसम्म ल्याउन समय रहँदै नेपाल सरकार पक्षबाट पहल गर्नुपर्छ । त्यसो गरे मात्रै केरुङ–काठमाडौं मार्गको सार्थकता हुन सक्छ ।

५. रक्सौल, भारतबाट काठमाडौं प्रवेश गर्ने रेल पिपरा, डुमरुवाना, निजगढ, चन्द्रपुर, धियाँल, फापरबारी–शिखरपुरको लामो यात्रा तय गर्दै सिस्नेरीमा आइपुग्छ । सिस्नेरीबाट उक्त भूमिगत रेलमार्ग सतिखेलमा खुला गर्दा वाग्मती पुल निर्माण गरेर त्यहीमार्फत पूर्व बढेर खोकना अन्तिम बिन्दुमा पुग्छ । भारतले पेस गरेको नक्साअनुसार सिस्नेरी र सतिखेलबीचको दूरी १३.४ किमि, सतिखेलबाट खोकनाको दूरी ५.७४ किमि, यी दुवैको संयुक्त दूरी १९.२ किमि पर्छ तर सिस्नेरीबाट सोझै चोभार लैजाँदा १४.२ किमिमा पुगिन्छ । खोकना नगई चोभार सोझिँदा भारतीय रेलमार्ग ५ किमिले छोटो हुन्छ । त्यसैले अब नेपाल सरकारले भारतलाई सिस्नेरीदेखि चोभारतिर सोझिने गरी छुटेको सर्वेक्षण गराउन नेपाल पहल गरोस् ।

यतिखेर सम्भावित रक्सौल–काठमाडौं–केरुङ क्रस हिमाल र साउथ हिमाल–साउथ एसियन क्रस बहुउद्देश्यीय रेलमार्गको पनि चर्चा छ । सुदूर पूर्वमा कम्बोडियादेखि बर्मा, उत्तर–पूर्वी भारतको गुवाहाटी, सिलिगुडी हुँदै नेपालको तराई (१,००० किमि) को समथर भूमिको पूर्व–पश्चिम बाटो हुँदै देहरादून, दिल्ली, हरियाणा, पाकिस्तानको राजधानी इस्लामाबाद हुँदै पश्चिममा इरानको राजधानी तेहरानसम्म साउथ हिमाल–साउथ एसियन क्रस बहुउद्देश्यीय रेलमार्ग पुग्न सक्छ । यो दीर्घकालीन अवधारणालाई साकार बनाउन नेपाल सरकारले यो रेलमार्गमा पर्ने कम्बोडियादेखि इरानसम्मका सरकार प्रमुखहरूलाई झकझकाउने काम गर्नुपर्छ ।

क्रस हिमाल उत्तर–दक्षिण रेलमार्ग विश्वको विशाल जनसंख्या र ठूलो रेल नेटवर्क भएका देशहरूसँग जोडिन पुग्छ । भारतको घना जनसंख्या रहेका उत्तर प्रदेश, दिल्ली, पन्जाब, हरियाणा, उत्तराखण्ड र नेपालका जनताले भरपूर फाइदा लिन सक्छन् । त्यस्तै, चीनको तिब्बती सुक्खा पठार, गोभी मरुभूमि र चीनको पश्चिमी सीमासँग जोडिएका अन्य देशसमेतलाई भारत र नेपालबाट ताजा मौसमी सागपात, फलफूललगायत निर्यात गरी भरपूर लाभ लिन सकिन्छ ।

यी दुई बहुउद्देश्यीय रेलमार्गको निर्माणपछि नेपालले भरपुर ट्रान्जिट फाइदा लिन सक्छ । विश्वभरका बौद्धमार्गीलाई लुम्बिनी एवं हिन्दुहरूलाई पशुपतिनाथ, जानकी मन्दिर, कैलाश मानसरोवरको आकर्षणसँग जोड्न सकिन्छ ।

प्रकाशित : पुस २७, २०८० ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?