२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

धूमिल हुँदै चिनियाँ चमक !

कोभिडयता चिनियाँ अर्थतन्त्रले लगातार देखाइरहेको खराब संकेतले गर्दा अमेरिकी अधिकारीहरू उत्साहित हुन थालेका छन्, चीनको आर्थिकसुस्तीले विश्व अर्थतन्त्रमै नकारात्मक असर पार्छ भन्ने जान्दाजान्दै पनि ।

कोभिड–१९ सुरु भएयता बढ्ता सरकारी हस्तक्षेप र नियन्त्रण बेहोरेको चिनियाँ आर्थिक–सामाजिक क्षेत्र यतिखेर अलि बढी नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको छ । हुन त राष्ट्रपति सी चिनफिङको पहिलो कार्यकालको मध्यतिरदेखि अलि असहज महसुस गर्न थालेको चिनियाँ अर्थतन्त्रबारे विश्व अर्थशास्त्री एवं राजनीतिक वैज्ञानिकहरूले चीनको सुनौलो समय सकिएको र सन् १९८० को अन्तिमतिरको जापानी परिवेश जस्तो गरी अगाडि बढ्न लागेको चर्चा गर्दै आएका छन् ।

धूमिल हुँदै चिनियाँ चमक !

केही महिनायता चीनको उदीयमान समय सकिएको भन्दै चीन मामिलाका मुख्यतः पश्चिमा विज्ञहरू विभिन्न किसिमले बहसमा उत्रिएका छन् । तेस्रो कार्यकालमा रहेका राष्ट्रपति सीले चीनलाई कुन अवस्थामा उभ्याउन खोजिरहेका छन् ? चीनको सुस्ती साँच्चै सुरु भएको हो त ? चीनको ओरालो यात्रा सुरु भएको हो भने यसले पार्न सक्ने विश्वव्यापी आर्थिक–सामाजिक असरबारे कस्तो होला ? यस आलेखमा यिनै विषयबारे चर्चा गर्न खोजिएको छ ।

नेता तङ सियायोफिङको अग्रसरतामा सन् १९७८ देखि आर्थिक–सामाजिक सुधारतर्फ अग्रसर भएको चीन राजनीतिक खुलापनलाई अस्वीकार गरे पनि अन्य क्षेत्रतर्फ सुधार गर्दै जाँदा आन्तरिक रूपमा अधिकतम लाभ लिँदै विश्व समुदायमाझ दरिलो र उत्तरदायी शक्तिका रूपमा उपस्थित हुन सकेको हो । तङको सुरुआतलाई चिनियाँ पूर्वराष्ट्रपतिहरू एवं चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तत्कालीन शीर्ष नेताहरू चियाङ चमिन र हु चिन्थाओको कडा मिहिनेत र दूरदर्शितापूर्वक अघि बढाएर चीनलाई हर आयाममा विश्वमाझ बलियो शक्तिका रूपमा उभ्याउन सके । चियाङको सन् १९९७ को अमेरिका भ्रमणताका एक कम्युनिस्ट नेताको न्युयोर्क स्टक एक्सचेन्जको भ्रमण र त्यहाँ उनले सेयर लगानीकर्ताहरूलाई दिएको उत्साहित छोटो मन्तव्यले कम्युनिस्ट चीनमा धेरै बदलाव आइसकेछ भन्ने सन्देश दिएको बताइन्छ ।

सन् २०१२ मा पार्टी नेतृत्वमा आउँदाताका राष्ट्रपति सी केही राजनीतिक खुलापनतर्फ जान्छन् कि भन्ने अपेक्षा पनि नगरिएको होइन, तर राजनीतिक त के, आर्थिक–सामाजिक क्षेत्रतर्फ अभ्यास भइरहेका खुलापनलाई समेत उनले अंकुश लगाइदिए । तङको ‘साहसिक प्रयोग’ को मार्गलाई परित्याग गरियो, जसको नकारात्मक असर उदाउँदो चीनको आर्थिक क्षेत्रमा सबैभन्दा पहिले देखियो । उत्कृष्ट चिनियाँ समृद्धिको यात्राले दुनियाँलाई लोभ्याइरहेका बेला चीनमा कतै सोभियत युनियनको विरोधाभास र नियति हात लाग्ने त होइन भन्ने चिन्ता मुख्य गरी चिनियाँ युवामाझ बढ्ता देखिन थालेको छ । सी विदेशमा केही समय बस्न भनेर गएनन् जबकि तङ र चियाङ दुवैलाई विदेश बसाइको अनुभव थियो । ती दुवै नेता विदेशी मिडिया तथा बौद्धिक जमातसँग गफिन र ठट्यौली गर्नसमेत त्यत्तिकै माहिर थिए । पार्टीको शीर्ष नेतृत्वमा नआउँदासम्म उदार स्वभावको जस्तो देखिएका सी अलि बढ्ता सैद्धान्तिक, अन्तर्मुखी र सजिलै अरूलाई विश्वास नगर्ने स्वभावका रहेको उनी निकटका कमरेडहरूले खुलाएका छन् ।

चीनमा केही वर्षयताका आर्थिक सुस्ती, राजनीतिक रूपमा बढ्दो नियन्त्रण, सामाजिक बेचैनी, बेरोजगारीलगायतका समस्याका कारण चीनभित्र नैराश्य बढ्नुका साथै अप्ठ्यारो समय सुरु भएको हो कि भन्ने चिन्ता बढाएको छ । कोभिडको असरलाई चिर्दै धेरै देश नयाँनयाँ आर्थिक योजना तथा कार्यक्रमसहित माथि उक्लिरहे पनि विश्वको दोस्रो अर्थतन्त्र चीनमा परिस्थिति सहज हुन सकेको छैन । चीनका लागि युरोपेली युनियन च्याम्बर अफ कमर्सका प्रमुख रहिसकेका जोर्ग बाट्की ठोकुवा गर्छन्— पहिलेका धेरैजस्तो मन्दी र असहज परिस्थितिबाट चीन उम्किन सफल भए पनि अबचाहिँ जोगिन कठिन छ । कम्युनिस्ट सत्ताभित्रबाटै अभ्यास गरिरहेको र उत्कृष्ट लाभ हासिल गरिरहेको सुधार तथा खुलापनको मर्मलाई चीनले बिर्सन नहुने चिनियाँ मामिलाका जानकार अमेरिकी विश्लेषक इभान आोस्नोसको भनाइ छ । केही वर्ष चीनमा रहेका ओस्नोस चिनियाँ नेतृत्व पछाडि फर्किंदा त्यसको असर चिनियाँ नागरिकमा मात्र नभई विश्व समुदायसम्मलाई हुने भनेर चिन्ता गर्छन् । अहिले विश्व आर्थिक अन्तरनिर्भरता तथा सूचना प्रविधिका कारण एकआपसमा निकै नजिकिएको छ र यसबाट विश्व समुदायलाई लाभ नै भइरहेको छ । यस्तो अवस्थामा विश्वलाई थप एकीकृत र सामूहिकतामा लैजाने प्रयास सबैले गर्नुपर्छ र विश्वशक्तिहरूबाट झनै अपेक्षा गरिएको हुन्छ ।

कोभिडपश्चात् धेरै देश नयाँ लचकदार नीति एवं कार्यक्रमसाथ विविध सुधारतर्फ अगाडि बढे । चीनले भने लामो समयसम्म कोभिडलाई पूर्ण नियन्त्रण गर्ने भन्दै कडा नियन्त्रण लागू गर्‍यो, आर्थिक–सामाजिक क्षेत्रमा जसको भयानक नकारात्मक असर देखियो । देशका मुख्य सहरहरूमा व्यापक विरोध र असन्तुष्टि प्रकट भएपछि मात्र चीनले कोभिड नीतिलाई खुकुलो बनायो । कोभिडसम्बन्धी कडा नियन्त्रणको असरबाट चीन अझै पनि पूर्णतः मुक्त हुन सकेको छैन । चिनियाँ अर्थतन्त्रले सकारात्मक संकेत दिएको छैन भने सामाजिक जीवन महँगी, बेरोजगारीलगायतका तमाम समस्याले आक्रान्त बनिरहेको छ । कोभिडको असरलाई बेलैमा सम्बोधन गर्न उचित विकल्पमा जान नसकेका कारण चीनको प्रयोग असफल भएको अमेरिकी टिप्पणीकार राना फरोहरले ‘फाइनान्सियल टाइम्स’ को लेखमा उल्लेख गरेकी छन् ।

सन् २००८ को मन्दीले धेरै विकसित तथा विकासशील देशहरूको अर्थतन्त्रमा असर पुर्‍याएको भए पनि त्यसलाई चीनले उदाहरणीय रूपमा सामना मात्र गरेको थिएन्, मन्दीका कारण धर्मराइरहेको विश्व अर्थतन्त्रलाई लयमा ल्याउनसमेत योगदान दिएको थियो । १९७८ मा आर्थिक सुधार सुरु भएयताको लामो समयसम्म चीनको आर्थिक वृद्धिदर करिब दोहोरो अंकले बढेको थियो । तर कोभिडको असर, लगानीकर्तामाझ घटेको आत्मविश्वास, घट्दो जनसंख्या र निजी क्षेत्रमाथि बढेको सरकारी अंकुशलगायतले चम्किलो चिनियाँ उदयलाई धूमिल पार्न थाल्यो । चिनियाँ अर्थतन्त्र ठूलो आवाज नगरीकन कमजोर बन्दै गएको र यो निकै असरदार रहेको विश्लेषक लियाम गिब्सनको भनाइ छ । रियल स्टेट सेक्टर र पूर्वाधारमा भएको व्यापक लगानीले केही वर्षसम्म चीनको आर्थिक वृद्धिमा योगदान पुर्‍याएको भए पनि अब ऋणको भार थेग्न नसकिने बनेको छ । २०१२ यता उत्पादकत्व पनि खस्किँदै गइरहेको छ । चिनियाँ राष्ट्रपति सीले जसरी पनि सबैतिर वृद्धिको साटो उच्च गुणस्तरीय वृद्धिमा जोड दिइरहेका भए पनि समयानुकूल सुधारहरू हुन नसक्दा त्यसले ठोस दिशा समात्न सकेको छैन ।

पछिल्लो पटक चीनले निर्यातमा आधारित अर्थतन्त्रको मोडलमा परिवर्तन गर्न खोजेको छ । आन्तरिक खपत बढाउनेदेखि उच्च प्रविधिहरूको निर्माण — सेमिकन्डक्टर र क्वान्टम कम्प्युटिङ — सम्मका कुराहरू छन्, जसलाई सबल बनाउने संकल्प राष्ट्रपति सीले गरेका छन्, आर्थिक वक्तव्यहरूमा । यसले चिनियाँ अर्थतन्त्रलाई दिगो, चलायमान, भरपर्दो र सुरक्षित बनाउने उनको विश्वास छ । यसो हुन सके राष्ट्रिय सुरक्षासमेत मजबुद बन्ने चिनियाँ टिप्पणीकारहरूको तर्क छ । जीडीपीको अनुपातमा प्रतिव्यक्ति आन्तरिक खपत बढाउन चीनले अझै धेरै मिहिनेत गर्नुपर्ने अर्थशास्त्रीहरूको भनाइ छ । चिनियाँ राष्ट्रपतिले साझा समृद्धिको कार्यक्रममार्फत चिनियाँ अर्थतन्त्रको मोडलमा केही नयाँ छनक दिन खोजे पनि यसबाट निजी लगानीकर्ता र उद्योगी–व्यवसायीहरूमा नकारात्मक सन्देश जाँदा पुँजी पलायन र आत्मविश्वासको कमीजस्ता अप्ठ्याराहरू सिर्जना भए । भलै असमानता, पुनर्वितरणमा देखिएका जटिलता र सामाजिक असन्तुष्टि सम्बोधन गर्नतर्फ उक्त साझा समृद्धि कार्यक्रमले चेष्टा गरे पनि व्यावहारिक रूपमा रणनीतिक कार्यक्रमको अभावमा आर्थिक क्षेत्रतर्फ गलत सन्देश गएको चिनियाँ मामिलाका जानकारहरूको निष्कर्ष छ ।

घट्दो जन्मदर, खुम्चिँदो युवा जनसंख्या र बढ्दो वृद्धहरूको संख्या चिनियाँ नेतृत्वका लागि टाउकोदुखाइ भएको छ । जापान र दक्षिण कोरिया दुवैको उच्च आर्थिक वृद्धि र समृद्धि युवा जनसंख्या अनुपातमा बढी भएका बेला सम्भव भएको हो । चीन आफैंले पनि सन् १९८१ देखि २०१५ सम्मको आर्थिक वृद्धिदर र विकासको रफ्तार हेर्दा उच्च युवा जनसंख्याको अधिकतम लाभ लिएको देखिन्छ । ‘बिग कन्ट्री विथ एन एम्प्टी नेस्ट’ (२०१३) का लेखक तथा चिनियाँ मामिलाका विज्ञ यी फुसियानको दाबी छ— २०१२ देखि नै चीनको श्रमशक्ति (१५–५९ वर्ष उमेर समूह) खुम्चिन थाल्यो, जसको प्रत्यक्ष असर जीडीपी वृद्धिमा देखियो । १९६२ देखि १९९० सम्म वार्षिक करिब साढे २ करोडको जन्मदर रहेको चीन उत्पादनमा विश्वकै बलियो शक्ति बनेको थियो । खासमा चीनको जनसंख्यालाई भारतले एक दशकअगाडि नै उछिनिसकेको जनसांख्यिक विज्ञहरू बताउँछन् । युवा श्रम शक्ति जनसांख्यिक लाभका कारण यदि २०५० सम्म अमेरिकी अर्थतन्त्रलाई कसैले उछिन्न सक्छ भने त्यो भारत हुन सक्ला तर चीन कदापि हुन सक्दैन भनेर ठोकुवा गर्छन् प्राध्यापक यी ।

आर्थिक, विज्ञान र प्रविधिलगायतका क्षेत्रमा चीनको छलाङले अमेरिकी नेतृत्वको निद्रा खोसिएको मुख्यतः सन् २००८ को विश्व आर्थिक मन्दीपश्चात् हो । चीननिकट विज्ञहरू अमेरिकाको ओरालो यात्रा सुरु भइसकेको र एसियाको समय सुरु भएको विषयलाई चर्को रूपमा बहस ल्याइरहेका थिए । अमेरिकी अधिकारीहरू तथा विश्लेषकहरूले पनि भिन्न राजनीतिक परिवेश, फरक अर्थतान्त्रिक मोडल र बिल्कुलै भिन्न सभ्यता र संस्कृति भएको चीनको उदयलाई शीतयुद्धको समाप्तियताको आफ्नो वर्चस्वमाथिको कडा चुनौतीका रूपमा स्वीकार गरेका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले समेत कुनै बेला भनेका थिए, ‘यदि हामी अघि बढेनौं भने उनीहरूले हाम्रो खाजा खाइदिनेछन् ।’

अमेरिकाले चीनलाई संशोधनवादी शक्ति मान्छ जो वर्तमान विश्वव्यवस्थामै परिवर्तन गर्न चाहन्छ । अमेरिकाका चीन मामिला विज्ञहरूको निष्कर्ष पनि के छ भने, अमेरिकी शक्ति र वर्चस्वमाथि बहुआयामिक र शक्तिशाली चुनौती शीतयुद्धताकाको सोभियत युनियनले भन्दा २१ औं शताब्दीको चीनले दिएको छ, र यो आर्थिक क्षेत्रमा मात्र सीमित नरही सामाजिक, प्रविधि लगायतका हर आयाममा प्रकट भएको छ । तर मुख्य गरी कोभिडयता चिनियाँ अर्थतन्त्रले लगातार देखाइरहेको खराब संकेतले गर्दा अमेरिकी अधिकारीहरू उत्साहित हुन थालेका छन्, चीनको आर्थिक सुस्तीले विश्व अर्थतन्त्रमै नकारात्मक असर पार्छ भन्ने जान्दाजान्दै पनि । अमेरिकी लेखकद्वय माइकल बेक्ली र हल ब्रान्ड ‘फरेन अफेयर’ को लेखमा एक कदम अगाडि बढेर टिप्पणी गर्छन्, चीनको पछिल्लो सुस्तीले गर्दा शान्तिपूर्ण रूपमा वर्तमान विश्व व्यवस्थालाई परिवर्तन गर्छु भन्ने चीनको सपना चकनाचुर भएको छ, र अब चीन सैन्य होडबाजीतर्फ बढ्ता केन्द्रित हुनेछ जुन उसैका लागि पनि उचित हुने छैन ।

चीनको अर्थतन्त्रमा देखिएको सुस्तीले केही शक्ति उत्साहित भए पनि विकासशील विश्व आफ्ना अर्थतन्त्रमा परिरहेको असरका कारण चिन्तित छ । अहिलेको एकदमै अन्तरनिर्भर विश्वमा दोस्रो ठूलो अर्थतन्त्रमा देखिएको सुस्तीले निश्चित रूपमा अन्योल र अस्थिरताको संकेत गर्छ । एमआईटी प्राध्यापक यासेङ हुवाङ चीनको अर्थतन्त्रमा सुधारको संकेत नदेखिनु चिन्ताजनक भएको भन्दै चिनियाँ नेतृत्वले निजी क्षेत्र र लगानीकर्तालाई निराश बनाउँदै जानु नै यो अवस्थाको कारक भएको बताउँछन् । उनको सुझाव छ— पश्चिमासँग व्यापार, प्रविधि, शिक्षालगायतका क्षेत्रमा झन् बढी सहकार्य गरेर मात्र चीन थप बलियो बन्दै जान्छ न कि सबल भइसकेजसरी व्यवहार गरेर ।

यतिखेर अधिकांश पश्चिमा प्राज्ञिक संस्थाहरू एवं मिडियाजगत्मा चीनको उदाउँदो समय सकिएको, अब चीन पहिले जसरी उठ्न नसक्ने, चीन अन्तर्मुखी हुँदै गएको, चिनियाँ लगानीकर्ता र व्यवसायीहरूका लागि कठिन समय सुरु भइसकेको र चीनमा पार्टी बलियो तर अर्थतन्त्र कमजोर बन्दै गएको लगायतका विषयबारे जोडतोडका साथ छलफलहरू भइरहेका छन् । चिनियाँ आर्थिक तथ्यांकहरूले पनि आशालाग्दा समाचारहरू प्रेषित गरेका छैनन् । वास्तवमा राष्ट्रपति सीको प्राथमिकतामा पार्टी पहिलो र अर्थतन्त्र दोस्रोमा परेको छनक सबैले पाएका छन् । राज्य र बजारबीच तनाव बढ्दै जानु चिन्ताजनक भएको भन्दै हार्वर्ड विश्वविद्यालयका प्राध्यापक जेफ्री फ्रान्केल वर्तमान चिनियाँ नेतृत्वले आर्थिक र बजारलक्षित सुधारहरूले दिएको लाभलाई चिन्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँछन् ।

चिनियाँ नेतृत्वले आर्थिक–सामाजिक क्षेत्रमा तत्काल नीतिगत, रणनीतिगत एवं संरचनात्मक सुधार गर्न हिचकिचायो भने पश्चिमा विज्ञहरूले ठोकुवा गरेजसरी चीनको करिब साढे चार दशक लामो उदीयमान समयको अन्त्य हुनेछ । राजनीतिक नियन्त्रण बढाउँदै जाँदा त्यसले अर्थतन्त्र र समाजमा पारेको नकारात्मक असर र यसले चीनको उदयको रफ्तारमा दिएको झड्कालाई वर्तमान चिनियाँ नेतृत्वले स्वीकार गर्नुपर्छ । मुख्य गरी चार दशकयता अनवरत रूपमा विश्व आर्थिक वृद्धि, गरिबी निवारण र अन्तर्राष्ट्रिय कानुनको प्रभावकारी कार्यान्वयनमा योगदान दिएको चीनको ओरालो यात्रा विश्व समुदायका लागि सुखद पक्कै हुनेछैन ।

साथै पहिलो शक्तिको नागरिक बन्ने चिनियाँ चाहनामा पनि तुषारपात हुनेछ । चीनले राजनीतिक नियन्त्रणलाई खुकुलो पार्दै निजी क्षेत्र, उद्योगी–व्यावसायी, लगानीकर्ता र शैक्षिक क्षेत्रका लागि पुनः स्वस्फूर्त रूपमा अगाडि बढ्ने वातावरण बनाए मात्र चिनियाँ अर्थतन्त्र तथा अप्ठ्यारो महसुस गरिरहेको चिनियाँ समाजले नयाँ गति, उत्साह र उदयको लय समाऊनेछ ।

प्रकाशित : मंसिर ८, २०८० ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?