३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

एन्टिमाइक्रोबियलका चुनौती र अवसर

सामान्य ज्वरो र रूघाखोकीमा समेत क्लिनिकल र प्रयोगशाला परीक्षणबिना चकलेटजसरी आफूखुसी एन्टिमाइक्रोबियल औषधिको सेवनलाई निरुत्साहित गर्न जनचेतना अभियानलाई देशव्यापी तुल्याउनुपर्छ ।
डा. सन्तोष दुलाल

एन्टिमाइक्रोबियलको प्रयोगले संक्रामक रोगहरूको सफल उपचारका अतिरिक्त शल्यचिकित्सा, क्यान्सर उपचार, संक्रमण व्यवस्थापनसहित धेरै आधुनिक चिकित्सकीय प्रक्रियाहरूलाई सम्भवप्रायः बनाएको छ । त्यसैले एन्टिमाइक्रोबियलको विकास र प्रयोगलाई बीसौं शताब्दीको महान् चिकित्सकीय सफलता र उपलब्धि मानिन्छ ।

एन्टिमाइक्रोबियलका चुनौती र अवसर

एन्टिमाइक्रोबियल प्राकृतिक वा सिन्थेटिक (मानवनिर्मित) रसायन तथा औषधिहरूले रोग लगाउने प्याथोजेनिक जीवाणुहरू ब्याक्टेरिया, भाइरस, फंगस अर्थात् ढुसी र परजीवीलाई नष्ट गर्छन्, निष्क्रिय पार्छन् वा वृद्धिलाई रोक्छन् । सबैभन्दा महत्त्वपूर्ण एन्टिमाइक्रोबियल एन्टिबायोटिक हो, जुन प्याथोजेनिक ब्याक्टेरियाको संक्रमणले हुने रोगहरूको उपचारका लागि प्रभावकारी हुन्छ । तसर्थ यसको प्रयोग विश्वव्यापी छ । एन्टिमाइक्रोबियललाई प्रतिजैविक औषधि पनि भन्ने गरिन्छ ।

प्रयोग प्राचीनकालदेखि

एन्टिमाइक्रोबियल खोजको इतिहास निकै लामो छ, जसले मानव रोगविरुद्धको लडाइमा निरन्तर संघर्ष गर्दै फड्को मारेको छ । मानव समाजले प्राचीनकालदेखि एन्टिमाइक्रोबियल प्रयोग गरेको उल्लेख पुरातात्त्विक दस्तावेजमा भेटिएको छ । बीसौं शताब्दीको उत्तरार्द्धमा एन्टिमाइक्रोबियल क्रान्तिको आगमनभन्दा पहिले नै मानव समाजले स्वचालित रूपमा दुई हजार वर्षभन्दा बढी समयदेखि संक्रामक रोगविरुद्ध एन्टिमाइक्रोबियलको प्रयोग गर्दै आएको अनुमान गरिन्छ ।

इसापूर्व १५५० को ‘एबर प्यापिरस’ को उपचारको सूचीमा औषधीय ढुसी रोटी र माटो समावेश छ, जुन हालसम्मको सबैभन्दा पुरानो संरक्षित चिकित्सा दस्तावेज हो । मिश्र, सर्बिया, चीन, ग्रिस र रोम साम्राज्यका पुरातन समाजहरूमा व्यापक चिकित्सीय उपयोगका रूपमा ढुसी रोटीको शरीरमा प्रत्यक्ष प्रयोगलाई नै एन्टिमाइक्रोबियलको प्रसंग र महत्त्वको प्रमुख दस्तावेज मान्न सकिन्छ । सन् १६४० मा प्रकाशित जोन पार्किन्सनको ‘थियाट्रम बोटानिकम’ मा ढुसीका विभिन्न प्रक्रिया र तरिकाको व्यापक प्रयोगको दस्तावेजीकरणले एन्टिमाइक्रोबियलको महत्त्व परापूर्वकालदेखि रहेको उजागर गरेको छ ।

प्राचीन कलाका माध्यमबाट बियर बनाउने मिश्रवासीहरूले ब्याक्टेरियाको उपयोग, एन्टिबायोटिक टेट्रासाइक्लिनको उत्पादन, उक्त पेय पदार्थ मानवलाई औषधि र पवित्र वस्तुका रूपमा देवताको महान् उपहार मान्ने प्राचीन सभ्यताजस्ता पुरातात्त्विक प्रमाणका आधारमा जोन पेकले ‘प्राचीन मिश्रवासीहरूले एन्टिबायोटिकको आविष्कार गरेका हुन्’ भन्ने निर्क्योल गरेका छन् । थप, इजिप्ट (मिश्र) मा पाइएका पुरातात्त्विक मानव कंकालहरूमा टेट्रासाइक्लिनको निसाना फेला पर्नुले मिश्रवासी र न्युबियनहरूले प्राचीनकालदेखि एन्टिबायोटिक प्रयोग गरेको पुष्टि गर्छ ।

एन्टोनी भ्यान लिउवेनहकले सत्रौं शताब्दीमा आफ्नो माइक्रोस्कोपबाट ब्याक्टेरिया पत्ता लगाएसँगै ब्याक्टेरिया विज्ञानको अध्ययन सुरु भयो । त्यसपश्चात् आधुनिक एन्टिमाइक्रोबियलको खोजले गति लियो । इस्वीको अठारौं शताब्दीको उत्तरार्द्धमा सूक्ष्मजीवाणुविद् रोबर्ट कोच र लुइस पाश्चरको अनुसन्धानले ब्याक्टेरिया र रोगबीच सम्बन्ध रहेको आधार स्थापित गर्‍यो । यस खोजले आधुनिक चिकित्सामा दूरगामी प्रभाव पारेको थियो जुन आजसम्म आधारभूत मानकका रूपमा कायम छ ।

एन्टिमाइक्रोबियल अध्ययन–अनुसन्धानको व्यवस्थित सुरुआत उन्नाइसौं शताब्दीमा भयो । केही विरोधाभासपूर्ण तर्कहरूका अलावा, ‘पियोसाइनेज’ लाई मानवमा संक्रामक रोगको उपचारका लागि प्रयोग गरिएको पहिलो एन्टिबायोटिक मान्ने गरिन्छ । दुई जर्मन चिकित्सक रुडोल्फ एमेरिच र ओस्कर लोले पत्ता लगाएको पियोसाइनेज ब्याक्टेरिया स्युडोमोनास एरुगिनोसाले उत्पादन गर्ने एउटा तत्त्व हो जुन विभिन्न प्रकारका रोगाणुविरुद्ध प्रभावकारी देखिएको हुँदा सन् १८९० देखि १९१० सम्मको दशकमा सयौं बिरामीको उपचारमा प्रयोग गरिएको थियो ।

प्रभावशाली जर्मन रसायनशास्त्री पाउल एर्लिचले सन् १९१० मा ट्रिपोनेमा प्यालिडम नामक ब्याक्टेरियाले हुने यौन रोग सिफिलिस वा भिरिंगीको उपचारका लागि सिन्थेटिक प्रोड्रग आर्सफेनेमिन वा ‘साल्वार्सन’ को खोज गरेका थिए । प्रोड्रग यस्तो निष्क्रिय जैविक तत्त्व हो, जुन शरीरमा पाचनपछि पूर्वनिर्दिष्ट औषधि उत्पादन गर्न सक्षम हुन्छ । यसरी आधुनिक एन्टिबायोटिकको विकासमा विशेष योगदानको कदर गर्दै पाउल एर्लिचलाई एन्टिमाइक्रोबियल केमोथेरापीका पिता मानिन्छ । अन्ततः साल्वार्सनलाई बिस्तारै सल्फोनामाइड प्रोड्रग प्रोन्टोसिलले प्रतिस्थापित गर्‍यो, जुन गेरहार्ड डोमागकले सन् १९२९–३२ मा पत्ता लगाएका थिए । यद्यपि सल्फोनामाइडहरू अझै पनि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकका रूपमा चिकित्सीय उपयोगमा छन् । यी औषधिहरूको व्यापक प्रयोगलाई पेनिसिलिनको खोजले बिस्तारै प्रतिस्थापित गर्दै लग्यो ।

सेप्टेम्बर १९२८ मा स्कटल्यान्डका सूक्ष्मजीवाणुविद् अलेक्जेन्डर फ्लेमिङले प्रयोगशालामा हरियो ढुसी पेनिसिलियम नोटाटमले दुर्घटनावश दूषित भएको पिट्री डिसमा ब्याक्टेरियालाई नष्ट गरेको पत्ता लगाएका थिए । तत्पश्चात् अस्ट्रेलियाली प्याथोलोजिस्ट हावर्ड फ्लोरे र बेलायती बायोकेमिस्ट अर्नेस्ट बोरिस चेनले १९३० को दशकको अन्त्यतिर पेनिसिलिनलाई अलग र शुद्ध पारे । १९४०–४१ सम्ममा विभिन्न ब्याक्टेरियाको संक्रमणले हुने रोगहरूको उपचारात्मक प्रयोगका लागि औषधिको इन्जेक्सन वा सुई उपलब्ध भएपछि पेनिसिलिन नै औपचारिक रूपमा पहिलो एन्टिमाइक्रोबियलमा दर्ज भयो । पेनिसिलिनको खोज, उत्पादन र क्लिनिकल प्रयोगसँगै एन्टिबायोटिकको स्वर्णयुग सुरु भयो ।

यो एन्टिमाइक्रोबियलले हालसम्म विश्वमा लाखौं मानिसको ज्यान बचाइसकेको छ । दोस्रो विश्वयुद्धताका यो एन्टिबायोटिक गम्भीर घाइते सैनिकहरूको उपचारमा रामवाण साबित भयो र यसलाई चामत्कारिक औषधिको उपनाम दिइयो । सबै गम्भीर घाइते सैनिकहरू यसको प्रभावकारिताका कारण निको हुँदै सकुशल घर फर्कन सक्ने संकल्प गरियो । तर केही वर्षमै तिनै ब्याक्टेरियाको संक्रमणले हुने रोगहरूप्रति यसको औषधीय प्रभावकारिता निष्क्रिय हुँदै गयो ।

एन्टिबायोटिकलाई ‘अन्य जीवाणु नष्ट गर्न सूक्ष्म जीवाणुहरूले बनाएको तत्त्व वा पदार्थ’ का रूपमा परिभाषित गर्ने र ’एन्टिबायोटिक्स’ शब्द पहिलो पटक प्रयोग गर्ने श्रेय रुसी मूलका अमेरिकी सूक्ष्म जीवाणुविद् सेलम्यान वाक्सम्यानलाई दिइएको छ । उनको अनुसन्धान टिमले सन् १९३०–५० सम्म माटोमा बस्ने ब्याक्टेरिया एक्टिनोमाइसेटिसबाट पन्ध्रभन्दा बढी एन्टिबायोटिक पत्ता लगाएका थिए जसमा प्रभावकारी एन्टिबायोटिक एक्टिनोमाइसिन, स्ट्रेप्टोमाइसिन, नियोमाइसिन समावेश थिए, जसबाट क्षयरोगको पहिलो प्रभावकारी उपचार सम्भव भएको थियो ।

सन् १९४०–६० को समयलाई एन्टिबायोटिक खोजको स्वर्णिम युग मानिन्छ । यस अवधिमा पत्ता लागेका अधिकांश एन्टिबायोटिक आज पनि चिकित्सकीय प्रयोगमा छन् । तथापि, एन्टिबायोटिक रेसिस्टेन्स अर्थात् प्रतिरोधका कारण समयसँगै तिनको प्रभावकारितामा उल्लेखनीय गिरावट देखिएको छ ।

सन् १९७० को दशकपछि एन्टिबायोटिक पत्ता लगाउने दरमा अचानक आएको गिरावट र विद्यमान एन्टिबायोटिकको अत्यधिक प्रयोग एन्टिबायोटिक प्रतिरोधको प्राथमिक कारण हो । हाल केही सिन्थेटिक एन्टिबायोटिक वा डेरिभेटिभहरू अनुसन्धान क्रममा छन्, जसबाट बहुऔषधि–प्रतिरोधी ब्याक्टेरिया संक्रमणको उपचारका लागि नयाँ एन्टिबायोटिकको विकास हुन सक्ने आशा गर्न सकिन्छ ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स : सुस्त महामारी

एन्टिमाइक्रोबियल रेसिस्टेन्सको शाब्दिक अर्थ हो— एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता अबउप्रान्त जीवाणुका कारण हुने संक्रमणलाई रोक्न वा नियन्त्रण गर्न असमर्थ छ, जुन पहिले प्रभावकारी थियो । एन्टिमाइक्रोबियल रेसिस्टेन्सलाई प्रतिजैविक प्रतिरोध भनिन्छ ।

यस ब्रह्माण्डमा सबैभन्दा प्रबल जेनेटिक स्वरूपको अस्तित्व मात्र जोगिने हुँदा, सूक्ष्म जीवाणुहरू समयसँगै निरन्तर कोष संरचनामै परिवर्तनशील हुँदै सक्षम, प्रबल र आक्रामक भएर बाँच्न चाहन्छन् । अनुकूल अवसरमा एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता निष्क्रिय पार्दै यिनीहरू गम्भीर संक्रमण गराउन, रोग फैलाउन र मृत्युको उच्च जोखिम सम्भव तुल्याउन सफल हुन्छन् । प्रतिरोधी जीवाणुहरू एन्टिमाइक्रोबियललाई निष्क्रिय पार्दै मानव, पशुपक्षी र वातावरण (माटो, पानी), खाद्य आहारमा फैलिन सक्षम हुन्छन् र कमजोर स्वास्थ्य सेवा प्रणाली भएका देश/क्षेत्रहरूमा गम्भिर जनस्वास्थ्य जोखिम निम्त्याउन सक्छन् ।

एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) लाई सुस्त महामारी मानिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यो हाल प्रमुख दसौं विश्वव्यापी जनस्वास्थ्य चुनौतीमध्ये एउटा हो । यसको जोखिम द्रुत गतिमा बढिरहेको छ । हाल स्वास्थ्य सेवा प्रणाली सुदृढ नभइसकेका देशहरूमा मृत्युको एउटा प्रमुख कारक यही बनिरहेको छ ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको शोधकर्ता टिमले सन् २०१९ मा २०४ देश र क्षेत्रहरूबाट संकलित २३ प्याथोजेनिक ब्याक्टेरिया र ८८ ब्याक्टेरिया–एन्टिमाइक्रोबियल सम्बन्धको तथ्यांक विश्लेषण गरेको थियो । उक्त अनुसन्धानले ब्याक्टेरिया–एन्टिमाइक्रोबियल रेसिस्टेन्स २०१९ मात्र १२ लाख ७० हजार मानिसको मृत्युको प्रत्यक्ष कारक रहेको र ४९ लाख ५० हजार मृत्युसँग सम्बन्धित भएको देखायो (ल्यान्सेट जर्नल, सन् २०२२) । विभिन्न वैज्ञानिक प्रमाणलाई आधार मानेर विश्लेषण गर्दा, प्रतिवर्ष एएमआरको विश्वव्यापी तथ्याङ्कले १०–१५ लाख मानवमृत्युको प्रत्यक्ष कारक रहेको पुष्टि गर्छ, जुन एचआईभी–एड्स र मलेरियाका कारण हुने संयुक्त मृत्युभन्दा बढी हो ।

एउटा एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरिया स्टेफाइलोकोकस आरियसले विश्वव्यापी रुपमा वार्षिक १ लाखभन्दा बढी मानवमृत्युको प्रत्यक्ष जिम्मेवार हुने गर्छ । मुख्य ६ प्रकारका एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण प्रत्येक वर्ष लगभग १० लाख मानिसको मृत्यु हुने गरेको छ । यसको मृत्युदर र गम्भीर जनस्वास्थ्य खतरा तुलनात्मक रूपमा न्यून आय भएका देशहरूमा उल्लेखनीय छ ।

बेलायत सरकारको ’एन्टिमाइक्रोबियल रेसिस्टेन्स समीक्षा–२०१६’ ले यसको नियन्त्रणविरुद्ध अहिले नै कुनै कदम चालिएन भने, सन् २०५० सम्ममा बर्सेनि १ करोड मानिसको ज्यान लिन सक्ने अनुमान गरेको छ । विश्व बैंकको २०१७ को प्रतिवेदन अनुसार, २०३० सम्ममा यो समस्याले विश्वमा २ करोड ४० लाख मानिसलाई चरम गरिबीमा धकेल्ने, २०५० सम्ममा विश्वव्यापी वार्षिक कुल गार्हस्थ्य उत्पादनको ३.८ प्रतिशत गुमाउने अथवा १०० ट्रिलियन अमेरिकी डलरको आर्थिक क्षति बेहोर्नुपर्नेछ । यस अनुमानित आर्थिक भारलाई नेपाली मुद्रामा रूपान्तरण गर्दा १,३१,९०० खर्ब रुपैयाँ हुन्छ, जुन नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटभन्दा ७,५०० गुणा बढी हुन्छ ।

एन्टिबायोटिक प्रतिरोध–२०१९ रिपोर्टअनुसार, संयुक्त राज्य अमेरिकामा मात्र एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण बर्सेनि कम्तीमा ३० लाख मानिस बिरामी हुने गरेको छ र ४८ हजार जनाको मृत्यु हुने गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार, अमेरिकामा मात्र एन्टिबायोटिकप्रतिरोधी ब्याक्टेरियाका कारण हुने संक्रमणको वार्षिक लागत करिब ५ अर्ब अमेरिकी डलर हुने अनुमान गरेको छ । हाल गरिब देश मात्र होइन, विकसित देशहरूलाई पनि एन्टिमाइक्रोबियल रेसिस्टेन्सको उच्च आर्थिक भारले थिचिरहेको छ, जसले आर्थिक पाटोमा समेत संकट खडा गरेको छ ।

यसरी तीव्र गतिमा बढिरहेको एन्टिमाइक्रोबियल रेसिस्टेन्सका कारण नेपालले पनि ठूलठूला चुनौतीहरूको सामना गरिरहेको छ । क्लिनिकल अध्ययनहरूले स्वास्थ्य सेवामा व्यापक रूपमा प्रयोग हुने पहिलो र दोस्रो श्रेणीका एन्टिबायोटिकमा प्रतिरोधको विकास भएको र रोगका जीवाणु निष्क्रिय पार्न उच्च स्तरका बहुप्रतिजैविक औषधिको आवश्यकता पर्ने भएको देखाएका छन् । यसले नेपालमा मानव, पशुपक्षी, खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको व्यापक अनुचित र अनियन्त्रित प्रयोगले बहुप्रतिजैविक प्रतिरोधी घातक जीवाणुको उदय हुने खतरा देखाउछ । काठमाडौंवरिपरि सुकुम्बासी बस्तीमा मानव–पशु–वातावरणको सम्बन्धबारे गरिएको अनुसन्धानमा विश्वव्यापी स्वास्थ्य महत्त्वको प्रतिजैविक प्रतिरोधी जीन वा आनुवांशिक तत्त्वहरूको पहिचान हुनाले हामीमाझ यसले अदृश्य महामारीको संकट ल्याएको पुष्टि हुन्छ ।

मानिसमा एन्टिबायोटिकको व्यापक गलत प्रयोग, चिकित्सकको परामर्सबिना नै अभ्यास, प्रयोगशाला निदानको प्रमाणबिना गलत चिकित्सक प्रेस्क्रिप्सन, अत्यधिक एन्टिमाइक्रोबियलको सेवन, जनचेतनाको कमी र एन्टिमाइक्रोबियल बिक्री, वितरण र प्रयोगको अपर्याप्त अनुगमन, निगरानी र मूल्यांकन नै एन्टिमाइक्रोबियल रेसिस्टेन्स उच्च वृद्धि गराउने प्रमुख कारक हुन् ।

त्यस्तै, पशुपक्षीको तौल बढाउन जथाभावी र अनुचित एन्टिमाइक्रोबियलको अत्यधिक प्रयोग हुनु, पशु चिकित्सकको परामर्स र प्रेस्क्रिप्सनबिनै एन्टिबायोटिक दिनु, उचित पशुपक्षीको रोग संक्रमणको निदान र उपचार नहुनु, पशुपक्षी पालनमा सरसफाइ र स्वच्छताको कमी हुनु, गुणस्तरीय खाद्य उत्पादन अभ्यास लागू नगर्नु, शिक्षा र चेतनाको कमी हुनु, एन्टिमाइक्रोबियल औषधिहरूको प्रयोगको अनुगमन र निगरानी नहुनु, एन्टिबायोटिक प्रयोगका लागि उपयुक्त नियम–कानुनको तर्जुमा नहुनु र भएका नियम–कानुनको समेत उचित कार्यान्वयन नहुनु एन्टिमाइक्रोबियल रेसिस्टेन्सको तीव्र वृद्धिका मुख्य कारक हुन् । उदाहरणका लागि, उच्च श्रेणीको र शक्तिशाली एन्टिबायोटिक कोलिस्टिन नेपालमा कुखुराको तौल बढाउने हिसाबले प्रयोग गर्नमा प्रतिबन्धित छ, तर यसको दुरुपयोगले कोलिस्टिनप्रतिरोधी जीवाणुहरूको विकास र पहिचान भएको अध्ययनहरूले पुष्टि गरेका छन् ।

पशुपक्षी र कृषि–खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको दुरुपयोग भएर हामीले अन्डा, मासु, दूध, सागसब्जी र फलफूलबाट जानी–नजानी एन्टिमाइक्रोबियल खानाले शरीरमा प्रतिरोधी जीवाणु विकास हुने हुँदा पछि एन्टिमाइक्रोबियलको प्रभावकारिता नष्ट भएर सामान्य चोटपटकको घाउबाटै संक्रमण भएर ज्यान जान सक्छ । मानव, पशुपक्षी र कृषि–खाद्य उत्पादनमा एन्टिमाइक्रोबियलको सिफारिस र प्रयोग गर्ने बानी तत्काल बदल्नुपर्नेछ । नयाँ एन्टिमाइक्रोबियल औषधिहरूको विकास भइरहे पनि व्यवहार परिवर्तनबिना एन्टिमाइक्रोबियलप्रतिरोध एउटा प्रमुख जनस्वास्थ्य खतरा रही नै रहनेछ ।

तसर्थ एन्टिमाइक्रोबियल प्रतिरोधको कहरलाई रोकथाम गर्न, मानव र पशुपक्षी स्वास्थ्यका लागि राष्ट्रिय एन्टिबायोटिक उपचार निर्देशिका शीघ्र अनुमोदन र कार्यान्वयन गर्नुपर्छ । राष्ट्रिय स्वास्थ्य नीति–२०१९ ले एन्टिमाइक्रोबियल प्रतिरोधलाई जनस्वास्थ्य चुनौतीका रूपमा व्याख्या गरेकाले यसको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय कार्ययोजना–२०२३–२८ चाँडो औपचारिक अनुमोदन र कार्यान्वयनको आवश्यकता छ ।

यसको शीघ्र र प्रभावकारी कार्यान्वयन हुन सके प्रमाणमा आधारित शिक्षा, सञ्चार र प्रशिक्षिणमार्फत एन्टिमाइक्रोबियलको उचित प्रयोग, प्रतिरोधसम्बन्धी रोकथाम, नियन्त्रण तथा न्यूनीकरणका लागि अभिमुखीकरण, जनचेतना र बुझाइमा सुधार गर्न सकिन्छ । निगरानी प्रणालीमा सुधारका गतिविधिहरू हुनेछन् । नीति र कार्यक्रम सुधार गरी संक्रमण रोकथाम र नियन्त्रणमा प्रभावकारी कदमले अस्पतालबाट निस्किएको जोखिमयुक्त फोहोरको उचित व्यवस्थापनका साथै नयाँ संक्रामक रोगहरूको उचित प्रारम्भिक निदान, नियन्त्रण र रोकथाममा अझ सशक्त कार्यलाई दिशानिर्देश गर्छ । मानव, पशुपक्षी, कृषि र वातावरण स्वास्थ्यमा एन्टिमाइक्रोबियलको उचित प्रयोगमा नियमसंगत रहन प्रोत्साहन गर्छ । एन्टिमाइक्रोबियलसम्बन्धी अनुसन्धानका लागि स्वास्थ्य रणनीति, बहुआयामिक दृष्टिकोण र बहुपक्षीय संलग्नता, अन्तर्राष्ट्रिय सहयोग र लगानीमा विशेष पहल गर्छ ।

एन्टिमाइक्रोबियल औषधिको उत्पादन, बिक्री–वितरण, प्रयोग र विसर्जनको असल अभ्यास र मापदण्डमा रहेको खाडल पूरा गर्न एवं एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगका लागि राष्ट्रिय औषधि नीति–२०५१ मा संशोधन हुन आवश्यक छ । खुला सीमाका कारण अवैध रूपमा ओसारपसार हुने गुणस्तरहीन, दर्ता नगरिएका पटके एन्टिमाइक्रोबियल औषधिको प्रभावकारी नियमन हुनु अत्यावश्यक छ । विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह–२०२३ ‘सबै क्षेत्र जुटौं, प्रतिजैविक प्रतिरोध रोकथाम गरौं’ नाराका साथ अहिले मनाइँदै गर्दा हामीले सरोकारवालाहरू हातमा हात मिलाएर बहुआयामिक तथा बहुक्षेत्रीय रणनीतिहरूसहित स्वस्थ मानिस, स्वस्थ पशुपक्षी, स्वच्छ वातावरण बनाउन अग्रणी भूमिका खेल्नुपर्छ ।

अझै सामान्य ज्वरो र रूघाखोकीमा क्लिनिकल र प्रयोगशाला परीक्षणबिना चकलेट जसरी आफूखुसी एन्टिमाइक्रोबियल औषधिको सेवनलाई निरुत्साहित गर्न जनचेतना अभियानलाई देशव्यापी तुल्याउन सके, औषधि पसलहरूले चिकित्सक प्रेस्क्रिप्सनबिनै ‘ओभर द काउन्टर‘ एन्टिमाइक्रोबियल औषधिको बिक्री–वितरणमा रोक लगाउन सके, मानव–पशुपक्षी–कृषि–वातावरणमा एन्टिमाइक्रोबियल दुरुपयोगलाई मानक दिशानिर्देश र नियमकानुनमा बाध्न सके एवं र प्रयोगशाला परीक्षणको प्रमाणलाई मानक नमानी हचुवाका भरमा व्यक्तिगत लाभका लागि आवश्यकताभन्दा बढी एन्टिमाइक्रोबियल औषधिको सिफारिस गर्ने चिकित्सकहरूको बानीलाई नीतिगत र नियमको दायरामा ल्याउन सके मात्र पनि लाख हुन्छ । यी कार्यहरू साबिकमा एन्टिमाइक्रोबियल प्रतिरोधको गम्भीर जनस्वास्थ्य समस्यालाई रोकथाम र न्यूनीकरणमा ‘ब्रह्मास्त्र’ साबित हुन सक्छन् । अनि मात्र हामीले नयाँ पिढीलाई एन्टिमाइक्रोबियल औषधिहरू संरक्षण गरी जीवनदान दिन सक्छौं ।

प्रकाशित : मंसिर ७, २०८० ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?