१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कामकाजी महिला र घट्दो स्तनपान

बाल कुपोषण निवारणको सबैभन्दा वैज्ञानिक तथा सस्तो उपाय मानिएको स्तनपानको प्रवर्द्धनलाई बाल तथा मातृशिशु स्वास्थ्यको प्रमुख पाटोका रूपमा प्राथमिकता दिनुपर्छ ।
मीना मरासिनी

पछिल्लो नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ अनुसार देशमा ५६ प्रतिशत सुत्केरी महिलाले मात्र पूर्ण स्तनपान गराउँछन् । अर्थात्, सय जनामा केवल ५६ आमाले मात्र बच्चा जन्मिएको ६ महिनासम्म शिशुलाई आफ्नो दूध मात्रै चुसाउने/खुवाउने गरेका छन् ।

कामकाजी महिला र घट्दो स्तनपान

जबकि यसअघि सन् २०१६ मा भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा चाहिँ पूर्ण स्तनपान गराउने आमाहरू ६६ प्रतिशत रहेको पाइएको थियो । यो तथ्यांकमा पछिल्ला ७ वर्षको अवधिमा नेपालमा पूर्ण स्तनपान गराउने महिला १० प्रतिशतले घटेको देखिन्छ ।

त्यसअघि सन् १९९६ मा पूर्ण स्तनपान गराउने नेपाली आमाको संख्या ७५ प्रतिशत रहेकामा सन् २०११ मा ७० प्रतिशत हुँदै हाल ५६ प्रतिशतमा झर्नुले पछिल्ला २७ वर्षमा नेपालमा पूर्ण स्तनपान गराउने महिलाको संख्या २७ प्रतिशतले घटेको देखाउँछ । दिगो विकास लक्ष्यप्राप्तिका लागि शिशुको पूर्ण स्तनपानलाई एक प्रमुख आधारका रूपमा ग्रहण गरी नेपालले सन् २०३० सम्ममा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको परिप्रेक्ष्यमा त्यो संख्या उल्टै उल्लेख्य रूपमा घट्नु चिन्ताको विषय हो ।

अझै पनि सयमा ४४ सुत्केरी आमाले जन्मेको ६ महिनाभित्रै पनि आफ्नो शिशुलाई बट्टाको कृत्रिम दूध वा गाईभैंसीको दूध खुवाउने गरेको र यस्तो संख्या बर्सेनि बढिरहँदा त्यसले उल्लिखित दिगो विकासको लक्ष्यप्राप्तिमा चुनौती खडा गरिरहेको छ । आखिर पूर्ण स्तनपानको दरमा भैरहेको यस्तो गिरावटका लागि जिम्मेवार कारकहरू केके हुन् त ? समाजमा शिक्षा, चेतना र स्वास्थ्यको पहुँचमा वृद्धि भैरहेको यथार्थका बीच आमा र बच्चा दुवैको दीर्घकालीन स्वस्थ जीवनका लागि अनिवार्य मानिएको शिशु स्तनपान भने किन घटिरहेको छ ? पूर्ण स्तनपानका फाइदाबारे बखान गरिरहँदा र महिलाहरूलाई स्तनपानको महत्त्वबारे उपदेश दिइरहँदा अब उल्लिखित सवालहरूबारे पनि विचार पुर्‍याउनु अत्यावश्यक भैसकेको छ ।

‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिबद्धता’ भन्ने नाराका साथ हालै यो वर्षको स्तनपान सप्ताह मनाइयो । रोजगारी तथा अर्थोपार्जनमा महिला सहभागिता बढ्दै गर्दा पूर्ण स्तनपान गराउने आमाहरूको संख्या घट्दै जाँदा कार्यस्थललाई स्तनपानमैत्री बनाउनुपर्ने आवश्यकताबोध गरिनु अवश्य पनि सकारात्मक पक्ष हो । पछिल्लो समय महिलाहरूको श्रम सहभागिता दरमा वृद्धि हुनु तर कार्यस्थल शिशु तथा स्तनपानमैत्री नहुनुका कारणले गर्दा कामकाजी महिलाहरूले आफ्ना शिशुलाई चाहेर पनि स्तनपान गराउन पाएका छैनन् । बढ्दो आधुनिकीकरण, सहरीकरणसँगै पेसा–व्यवसायमा संलग्नतामा भएको बढोत्तरी र व्यस्तताका कारण आमाहरूले शिशुहरूलाई पर्याप्त स्तनपान गराउन पाइरहेका छैनन् ।

जनचेतनामा व्यापक अभिवृद्धि हुँदाहुँदै पनि पूर्ण स्तनपान गराउने महिलाको संख्यामा बर्सेनि उल्लेख्य गिरावट आउनुमा कार्यस्थलमा शिशु स्तनपान कक्ष तथा शिशु स्याहार कक्षको अभाव मुख्य कारक रहेको देखिन्छ । कानुन बमोजिमको सुत्केरी बिदा सकिएपछि आमाहरू काममा फर्किनुपर्ने तर आफ्नो कार्यस्थलमा शिशु स्याहार तथा स्तनपान कक्षको अभावका हुँदा बच्चालाई घरमै छाडेर काम जान बाध्य हुन्छन् । यसले गर्दा उनीहरू दिनभर बच्चालाई आफ्नो दूध चुसाउनबाट वञ्चित हुनुपरेको छ । निजामती सेवामा रहेका महिलाहरूले तलबी सुत्केरी बिदा जम्मा ९८ दिन मात्रै पाउँछन् । बेतलबी सुत्केरी बिदा ६ महिनासम्म पाइने भए पनि जागिरले परिवार धान्नुपर्ने महिलाहरू ९८ दिनपछि नै बच्चालाई घरमा छाडेर काममा फर्किन बाध्य हुन्छन् । गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलाका लागि त यस्तो न्यूनतम सुविधाको समेत अभाव छ ।

यद्यपि सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन–२०७५ मा सबै रोजगारदाताले आफूकहाँ कार्यरत सुत्केरी आमाहरूलाई दुई वर्षसम्म कार्यस्थलमा स्तनपान गराउन सक्ने व्यवस्था गर्नुपर्ने र कार्यस्थललाई शिशु स्तनपानमैत्री बनाउनुपर्ने उल्लेख छ । तर यो प्रावधान अहिलेसम्म सबै सरकारी निकायमै त लागू हुन सकेको छैन, निजी क्षेत्र, बजार तथा अनौपचारिक श्रम क्षेत्रमा पूर्ण कार्यान्वयन आउनु झन् आकाशको फलजस्तै हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वका आधा अर्बभन्दा धेरै कामकाजी महिलालाई सम्बद्ध मुलुकको कानुनले अत्यावश्यकीय मातृ सुरक्षा दिन सकेको छैन । यस्तै कारणले समेत विश्वमा ६ महिनाभन्दा कम उमेरका शिशुमध्ये ४८ प्रतिशतले मात्र पूर्ण स्तनपान गर्न पाएका छन् । विश्वका २० प्रतिशत मुलुकमा मात्र रोजगारदाताले सम्बद्ध महिलालाई तलबी बिदाका साथै स्तनपानका लागि सुविधा उपलब्ध गराउनुपर्ने कानुन बनाएका छन् । यसबाट विश्वभर नै कार्यस्थलको अड्चन महिलालाई स्तनपानबाट वञ्चित गराउने एक प्रमुख कारक रहेको पुष्टि हुन्छ ।

हुन त महिलाहरूले आफ्नो शिशुलाई पूर्ण स्तनपान नगराउनुमा केवल कार्यस्थलको मात्र दोष छैन र यसका विभिन्न कारण छन् । कसैका लागि यो बाध्यता बनेको छ भने कसैका लागि रहर वा देखावटीको परिणाम । तथ्यांक अनुसार शिशु जन्मेको एक घण्टाभित्र दूध चुसाउने आमाहरू ५५ प्रतिशत मात्र छन् । शिशु जन्मिएपछि सबैभन्दा पहिले आमाको दूध चुसाउनुपर्नेमा नेपालमा हरेक १० मध्ये ३ शिशुलाई घिउ, मह तथा चिनी चटाउने गरिएको पनि सर्वेक्षणले देखाएको छ । साथै शल्यक्रिया गरेर जन्माइएका शिशुलाई पहिलो पटक आमाको दूधको साटो अन्य चीज खुवाउने गरिएको छ ।

आधुनिकताको प्रवेशसँगै कतिपय नयाँ आमामा आफ्नो दूधभन्दा बट्टाको फर्मुला मिल्क बढी पोषणयुक्त तथा राम्रो हुन्छ भन्ने भ्रमणपूर्ण बुझाइ छ । नेपालमा त्यस्तो फर्मुला मिल्कको बिक्री–वितरणमा कानुनतः बन्देज लगाइएको भए पनि आमाको दूधको साटो शिशुलाई खुवाउनका लागि भन्दै अनेक खालका बोतलबन्द चीजहरू बजारमा प्रचुर मात्रामा उपलब्ध छन् । कतिपय आधुनिक आमालाई बच्चाले दूध चुस्दा आफ्नो शरीर बिग्रिन्छ भन्ने डर पनि छ । स्तनपान लज्जाको विषय होइन, बच्चाको अधिकार हो । अनि आमा र बच्चाको स्वास्थ्यसँग सम्बन्धित विषय हो ।

एक अध्ययन अनुसार, पहिलो पटक आमाको दूध चुसाउन २ घण्टादेखि २३ घण्टासम्म ढिलो गर्दा शिशुको मृत्यु हुने जोखिम ३३ प्रतिशतले बढ्छ । जन्मेको दुई दिनसम्म पनि दूध चुस्न नपाउने बच्चामा यस्तो जोखिम झनै दोब्बर हुन्छ । जन्मेको एक घण्टाभित्र आमाको दूध खान नपाउँदा विश्वमा हरेक वर्ष ७ करोड ८० लाख शिशु मृत्युको उच्च जोखिममा पर्ने गरेका छन् । तर विडम्बना, विश्वमा हरेक ५ नवजात शिशुमध्ये २ जनाले मात्र जन्मेको एक घण्टाभित्र आमाको दूध चुस्न पाएका छन् । कुपोषणका कारण बर्सेनि विश्वका २७ लाख बालबालिका ज्यान गुमाउन बाध्य छन् र यस्तो प्राणघातक कुपोषणका लागि पूर्ण स्तनपानको अभाव एउटा प्रमुख कारक बन्ने गरेको छ ।

पछिल्लो समय आफूखुसी शल्यक्रियाबाट बच्चा जन्माउने क्रम बढ्नु र सोही अनुसारको प्रसवपश्चात्को चिकित्सा सुविधा नहुनाले पनि बच्चाले सुरुमै दूध चुस्न पाउने समय घर्किने गरेको र सुरुमा आमाको दूधको साटो बट्टाको दूध खुवाउने चलन बढेको पाइन्छ । आमाको दूधको विकल्पका रूपमा बच्चालाई खुवाइने बट्टाका दूध लगायतको प्रचार तथा बजारीकरणलाई सीमित गर्नका लागि कडा कानुनी उपाय अपनाउनु र भएका कानुनको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक छ । विश्वमा करोडौं बालबालिका कुपोषणको सिकार बनिरहेको र आमाको दूध चुस्न नपाउनु त्यसको एउटा मुख्य कारक रहेको अवस्थामा बाल कुपोषण निवारणको सबैभन्दा वैज्ञानिक तथा सस्तो उपाय मानिएको स्तनपानको प्रवर्द्धनलाई बाल तथा मातृशिशु स्वास्थ्यको प्रमुख पाटोका रूपमा प्राथमिकता दिनुपर्छ ।

स्तनपानले महिलामा डिप्रेसन, डिम्बाशय र स्तन क्यान्सरको जोखिम कम गर्नुका साथै अधिक रक्तस्रावको समस्या पनि न्यूनीकरण गर्ने डाक्टरहरू बताउँछन् । पूर्ण स्तनपान गर्न पाएका बच्चाहरूमा कुपोषण, उच्च रक्तचाप तथा मधुमेहजस्ता रोगहरूको जोखिम कम हुन्छ । आमाको दूधले बच्चाको रोगप्रतिरोधी क्षमता बढाउनुका साथै स्वस्थ रूपमा वृद्धि र विकासका लागि आवश्यक पोषक तत्त्व दिने गर्दछ ।

आमाको पहिलो बिगौती दूध — जसलाई बच्चाको पहिलो भ्याक्सिन पनि भनिन्छ — मा उच्च मात्रामा पोषक तत्त्व तथा रोगनाशक एन्टीबडीहरू पाइन्छन् । तर परम्परागत समाजमा आमाको यस्तो दूध बच्चालाई खुवाउन नहुने र दुहेर फ्याँक्नुपर्ने मान्यता छ । स्तनपानले आमालाई दिने आत्मीयता, सहानुभूति, आत्मसन्तुष्टि तथा मानसिक र शारीरिक स्वास्थ्य अतुलनीय नै छ । स्तनपानका कारण बच्चाको स्वास्थ्य उपचार तथा खाना खर्चमा हुने बचतका साथै शारीरिक र बौद्धिक विकासमा गर्ने योगदान कम महत्त्वको छैन ।

मुलुकको भविष्यका रूपमा रहेका आजका शिशुहरूले पूर्ण स्तनपान गर्न पाउने अवसर भने घटिरहेको छ र आमाको दूधबाट वञ्चित शिशुहरूको संख्या बढिरहेको छ । यसका लागि अन्य पक्षका अतिरिक्त महिलाको श्रम सहभागिताको वृद्धि र स्तनपानमैत्री कार्यस्थलको अभाव प्रमुख रूपमा जिम्मेवार देखिएको सन्दर्भमा सरकार तथा सबै रोजगारदाताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन–२०७५ बमोजिम शिशु स्तनपानलाई प्रवर्द्धन गर्ने कार्यव्यवहार र लचकताको अवलम्बन गर्नुफर्ने देखिन्छ ।

प्रकाशित : आश्विन २२, २०८० ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?