१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २००

बिर्सिइएका सूर्यप्रसाद !

चिन्तक प्रदीप गिरिले सूर्यप्रसाद उपाध्याय नेपाली आन्दोलनका अग्रगण्य नेता भएको उल्लेख गर्दै लेखेका छन्, ‘२००७ सालको क्रान्तिको मुहानमा हाम्रो इतिहासमा एकसाथ अनेकौं प्रतिभावान् तन्नेरी देखिन्छन् । ती नाममध्ये पनि स्व. सूर्यप्रसाद उपाध्यायको आफ्नै बिछट्टको आभा थियो ।’
लेखनाथ भण्डारी1

नेपाली कांग्रेसको इतिहासको गणना कृष्णप्रसाद कोइरालाको सामाजिक सुधार र राजनीतिक जागरणको प्रस्थानविन्दुबाट हुन्छ । यी पंक्ति लेख्दै गर्दा यो इतिहासले एक शताब्दी पार गरिसकेको छ । कोइरालाले विक्रम संवत् १९७४ सालमा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई एक पत्रमार्फत जनसाधारणले भोग्नुपरेका समस्याहरूको सुधारका लागि स्मरण गराएकै कारण सपरिवार देशनिकाला हुनुपरेको थियो । स्मरणीय छ, यही समयताका कोइराला परिवारका महिला सदस्यहरू योगमायादेवी, दिव्यादेवी लगायतको नेतृत्वमा महिला समिति गठन गरेर नेपालमा सामाजिक सुधार र राजनीतिक जागरणको संगठित आन्दोलन पनि सुरु गरिएको थियो । त्यही जागरणको दियोले आज नेपाली कांग्रेसलाई यहाँसम्म ल्याइपुराएको हो ।

बिर्सिइएका सूर्यप्रसाद !

अहिलेको सन्दर्भ नेपाली कांग्रेसका संस्थापक सदस्य र यही पार्टीका एक समयका महामन्त्री सूर्यप्रसाद उपाध्यायको हो । सूर्यप्रसाद करिब चार दशक लामो समय नेपालको राजनीतिको केन्द्रमा रहेर विभिन्न सन्दर्भमा निर्णायक भूमिका निर्वाह गरेका बौद्धिक व्यक्तित्व हुन् । यस क्रममा एउटा इतिहास सम्झनैपर्छ— राणाशासनविरुद्ध सङ्गठित आन्दोलन गर्ने क्रममा मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय कांग्रेस र महेन्द्रविक्रम शाह, सूर्यप्रसाद उपाध्याय, सुवर्ण शमशेर, महावीर शमशेर, प्रेमबहादुर कंसकार, सुन्दरराज चालिसेलगायतको नेतृत्वको नेपाल प्रजातान्त्रिक कांग्रेस एकीकरण गरेर २००६ सालमा आजको नेपाली कांग्रेस गठन भएको हो । र, ती दुइटै पार्टीलाई एकीकरण गराउन भूमिका खेलेका सूर्यप्रसाद आज नेपाली कांग्रेसमा औपचारिक सम्झना र सम्मानमा ओझेलमा परेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको एक दर्जनभन्दा बढी नेताहरूको स्मृति दिवस मनाउने सांगठनिक कार्यतालिकामा पार्टीका चार महान् भनिएकाहरूमा सूर्यप्रसादको भने नाम छैन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले महामन्त्रीको कार्यतालिकालाई संशोधनसहित पूर्णता दिनुपर्ने माग गर्दै बैठकमा लिखित धारणा राखेका छन् । केसीका अनुसार, २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेस र २००५ मा स्थापित प्रजातन्त्र कांग्रेस एकीकरण भएको २००६ सालको स्मृतिलाई २०८०–८१ भरि हीरक जयन्तीका रूपमा मनाइनुपर्छ एवं नेपाली कांग्रेसका स्थापनाकालीन ‘बिग–फोर’ मध्येका संस्थापक नेता सूर्यप्रसादलाई पार्टीमा पुनःस्थापित गर्ने प्रतिबद्धता कार्यान्वयन गरिनुपर्छ ।

काठमाडौंमा जन्मेका सूर्यप्रसादको ७१ वर्षको उमेरमा २०४१ साउन १५ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो । काठमाडौंस्थित पशुपति आर्यघाटमा सूर्यप्रसादको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेतात्रय गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले तत्कालीन अवस्थामा प्रहरीलाई झुक्याएर प्रतिबन्धित पार्टीको झन्डा ओढाई श्रद्धाञ्जली प्रकट गरेका थिए ।

नेपाली कांग्रेसका परिचित नीतिकार हुँदाहुँदै पनि प्रचारमुखी र सस्तो लोकप्रियताका लागि लोकरिझ्याइँको बाटो नहिँडेका सूर्यप्रसाद नेपालको प्रशासनिक र कूटनीतिक क्षेत्रका पनि ज्ञाता थिए । नेपालका सबै राजनीतिक विचारधाराका साझा व्यक्तित्व मानिन्थे उनी । राजनीतिक विश्लेषक डा. सुरेन्द्रराज देवकोटाका अनुसार, तथ्यलाई नबुझी नेपाली कांग्रेसभित्र सूर्यप्रसादविरुद्ध गलत धारणा बनाइएको हो र त्यो भ्रम नेपाली कांग्रेसका चार महान् मानिएका बीपी कोइरालाका २०५४–५५ सालमा प्रकाशित दुई कृति ‘जेल जर्नल’ र ‘आत्म वृत्तान्त’ का कारण फैलिएको हो । देवकोटाले लेखेका छन्, ‘दुवै व्यक्तित्वहरूको निधनको डेढ दशकपछि प्रकाशित यी कृतिमा सार्वजनिक भ्रमको तथ्य बुझ्ने काम कसैले गरेनन् भने विश्वेश्वरप्रसाद र सूर्यप्रसादलाई नजिकबाट बुझ्नेहरूले पनि तथ्यलाई उजागर गर्न सकेका छैनन् ।’

नेपालको राणाविरोधी आन्दोलनमा बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्याय एउटै धुरीमा गणना हुने व्यक्तित्व हुन् । त्यसमा नेपाली कांग्रेसमा पद र पहुँचले अरू केही नाम थपिएकै भए पनि यो उचाइको सम्मान अरूलाई प्राप्त छैन । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यी चार व्यक्तित्वलाई नेपाली कांग्रेसका चार महान् (कान्तिपुर दैनिक, २०५४ फागुन २३) को सज्ञा दिँदै सूर्यप्रसाद अतुलनीय विद्वत्ता र दानशीलताका नमुना भएको बताएका छन् ।

‘नेपालको प्रजातान्त्रिक इतिहास र नेपाली कांग्रेस’ (भाग १–९) का लेखक तथा इतिहासकार प्राध्यापक राजेश गौतमका अनुसार, नेपालको राजनीतिक इतिहासमा सम्झनुपर्ने र नेपाली कांग्रेसले त बिर्सनै नहुने राजनीतिक व्यक्तित्व हुन् सूर्यप्रसाद । व्यक्तिगत सम्बन्धमा सूर्यप्रसाद र बीपीमा घनिष्ठता नै देखिन्थ्यो । बीपीले २०१७ सालको राजा महेन्द्रको ‘कू’ को योजनाकार नै सूर्यप्रसादलाई भनेका पनि छन् । तर सूर्यप्रसादले नेपाली कांग्रेसका नेताहरू र पार्टीप्रति घात गरेको कुनै कुरा पुष्टि भने हुँदैन । जनमतसंग्रहपछि सूर्यप्रसादलाई नेपाली कांग्रेसमा पूर्ववत् हैसियतमा राख्ने प्रयास पनि त्यहाँभित्रको अन्य वरिष्ठ व्यक्तित्वको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्नका कारण निष्कर्षमा पुग्न सकेन ।

विद्वत्ताका लागि नेपालका चाणक्यका रूपमा गणना गरिने सूर्यप्रसादको पुस्तक अध्ययन अनुपम थियो । भारतका धेरै पुस्तक प्रकाशकले नयाँ कृतिहरू उनलाई अर्डर नगरे पनि बजारमा जानुभन्दा पहिले नै उपलब्ध गराउँथे । साहित्यकार तारानाथ शर्माले बीपीले आफूलाई सूर्यप्रसादसँग गराएको चिनजानको सन्दर्भमा लेखेका छन्, ‘एक दिन विश्वेश्वरले अंग्रेजीमा लेखिएको पुस्तक नेपालमा सबभन्दा पहिले कसले पढ्छ भनेर सोधे । मैले तपाईंले भनेर जवाफ दिएँ तर उनले होइन, सूर्यप्रसादले पढ्छन्, सबभन्दा पहिले पुस्तक उनैकहाँ आउँछन् भने । त्यसपछि विश्वेश्वरले पढ्नका लागि आफ्नो समय नभएको जनाउँदै सूर्यप्रसादसँग भएका र अरू पुस्तक पनि पढेर सारमा सुनाउने जिम्मेवारी दिए । त्यो चिनजानले विश्वसाहित्यमा मलाई अद्यावधिक हुन मद्दत मिल्यो ।’

सूर्यप्रसाद नेपाली कांग्रेसको नीतिप्रति इमानदार पनि थिए । संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र नेपाली कांग्रेसको नीति थियो । त्यही कारण देशभित्रै बसेर प्रजातन्त्रका लागि दबाब सृजना गर्न र जेलमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ताको रिहाइमा सहयोगी भूमिका खेल्नका लागि उनले किसान संगठनको सदस्यता चाहिँ लिएका थिए । सूर्यप्रसादले त्यसरी पञ्चायत समर्थक जनवर्गीय संगठनको सदस्यता त लिएका थिए तर त्यो उनको नेपाली कांग्रेसको नीति अनुसारकै राजनीतिक रणनीति रहेको कुरा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले पनि आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।

पदीय पहुँचमा पछाडि तर प्रभावमा अगाडि रहेका नेपाली कांग्रेसका नेता तथा विचारक हुन्— प्रदीप गिरि । गिरिले सूर्यप्रसाद नेपाली आन्दोलनका अग्रगण्य नेता भएको उल्लेख गर्दै लेखेका छन्, ‘२००७ सालको क्रन्तिको मुहानमा हाम्रो इतिहासमा एकसाथ अनेकौं प्रतिभावान् तन्नेरी देखिन्छन् । ती नाममध्ये पनि स्व. सूर्यप्रसाद उपाध्यायको आफ्नै बिछट्टको आभा थियो । उहाँको जीवनका अनेकन् महत्त्वपूर्ण अध्याय आज पनि अलिखित एवं अज्ञात छन् । आफ्ना निर्वासित साथीहरूलाई मुलुक भित्र्याउन एवं थुनिएकाहरूलाई छुटाउन सूर्यबाबुले केकस्ता काम गर्नुभयो, केकस्ता प्रलोभनलाई ठुकराउनुभयो, त्यसको पूर्ण विवरण आज आम नेपालीलाई थाहा छैन । आत्मविज्ञप्तिप्रतिको वितृष्णाका कारण आफ्नो आत्मकथा टुंग्याउने उत्साह पनि उहाँमा भएन ।’ गिरिको यो टिप्पणीबाट पूर्वप्रधानमन्त्रीको कथन र सूर्यप्रसादले किसान संगठनको चौवन्नी सदस्य लिनुको उद्देश्यलाई पुष्टि गर्छ ।

नेपालको राजनीतिमा र त्यसमा पनि नेपाली कांग्रेसको आन्तरिक जीवनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सूर्यप्रसादजस्ता गुमनाम व्यक्तित्वहरू धेरै छन् । त्यस्ता व्यक्तित्वहरूका सम्बन्धमा, नेपाली कांग्रेसको युवा नेताको छवि बनाउँदाबनाउँदै किनारमा धकेलिएका पूर्वमन्त्री जयप्रकाश आनन्दले लेखेका छन्, ‘बीपीको चयन प्रायशः गलत हुने गरेको थियो र उनले धेरै पत्यार गरेका मानिसहरू उनैलाई फाप्दैनथे । डा. तुलसी गिरी, विश्वबन्धु थापा, डा. नागेश्वरप्रसाद सिंह, बखानसिंह गुरुङ, सूर्यप्रसाद उपाध्याय, श्रीभद्र शर्मा, चैतुलाल चौधरी लगायतÙ केही पछिको पुस्तामा प्रदीप गिरि तथा दुर्गा सुवेदी — यस्ता मानिसहरूको सूची लामै थियो, जो एक समय बीपीको बडो नजिक रहेका थिए ।’

नेपाली राजनीतिमा ‘खोलो तर्‍यो लौरो बिर्स्यो’ धेरै पटक भएको छ । कसैलाई आफ्नो स्वार्थ मिल्दा देवत्वकरण नै गरिन्छ र स्वार्थ नमिल्दा भने सास पनि गन्हाउँछ । राणा शासनविरुद्ध संघर्ष गर्दादेखि २०१७ सालको राजा महेन्द्रको ‘कू’ सम्म नेपाली कांग्रेसका चार महान्मा खासै ठूलो मतभिन्नता थिएन । तर २०१७ सालमा बीपीसँगै पक्राउ परेका सूर्यप्रसाद केही महिनामै छुटे । बीपी भने ८ वर्षको काराबासपछि भारत निर्वासनमा गए । बीपीलाई यसभन्दा पहिलेदेखि नै राणा, दरबार र भारतीय सत्ता (नेहरू) सँगको सम्बन्ध रहेका सूर्यप्रसादप्रति केही आशंका भने रहेकै थियो । २०१५ सालको निर्वाचनमा पराजित हुँदाहुँदै पनि बीपीले आफ्नो नेतृत्वमा गठन भएको सरकारमा सूर्यप्रसादलाई गृहमन्त्रीजस्तो महत्त्वपूर्ण जिम्मेवारी भने दिएका थिए । जेल जीवनपछि सूर्यप्रसाद नेपालमै बसे । उनले जेलमा रहेका बीपी लगायतका नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरूको रिहाइ र निर्वासनमा गएकाहरूको स्वदेशफिर्तीका लागि प्रयास गरिरहे । भारतमा बीपीको निकटता जयप्रकाश नारायणहरूसँग थियो । नेपालमा दरबार र राणासँग निकट मानिएका सूर्यप्रसाद भारतीय सत्तापक्ष (नेहरू परिवार) सँग निकट थिए । नेहरू परिवार र जयप्रकाश नारायणहरू विरोधी समूहका हुनु पनि बीपी–सूर्यप्रसाद सम्बन्धमा तुसको कारक रहेको अनुमान गरिन्छ ।

प्रकाशित : श्रावण १५, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?