प्रकाश प्रदूषणको चिन्ता

जसरी मानवसृजित धूवाँले वायुमा, फोहोरमैलाले जलमा, प्लास्टिकले जमिनमा प्रदूषणको समस्या निम्त्यायो, त्यसरी नै कृत्रिम उज्यालोको अत्यधिक प्रयोगले प्रकाश प्रदूषण गरायो ।
उत्तमबाबु श्रेष्ठ

अप्रिल १९०८ मा नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणा बेलायतको भ्रमणमा निस्किए । उनी त्यहाँ करिब १० हप्ता बिताएर नेपाल फर्किए ।

प्रकाश प्रदूषणको चिन्ता

औद्योगिक क्रान्तिको जननी बेलायतले चन्द्रशमशेरको भ्रमण हुनुभन्दा ३० वर्षअघि नै संसारकै पहिलो जलविद्युत् परियोजना बनाइसकेको थियो । त्यसपछि विद्युत् उत्पादन र वितरणमा भएको विकासले त्यतिबेला बेलायती दरबारमा मात्रै होइन, लन्डनका सडकहरू पनि झलमल भइसकेका थिए । बेलायती राजपरिवारको शाही पाहुना भएर बेलायत बस्दा चन्द्रशमशेरले जिन्दगीमा पहिलो पटक बिजुलीको साक्षात् दर्शन मात्रै गरेनन्, त्यसको प्राविधिक पक्षका बारेमा पनि जानकारी लिन भ्याए । सम्भवतः त्यसैको प्रभावस्वरूप बिजुलीको चहकिलो उज्यालोमा बसेर भात खाने मनसुबा उनलाई जागेकाले हुन सक्छ, काठमाडौं फिर्नासाथ उनले जनरल पद्मशमशेरको नेतृत्वमा जलविद्युत् आयोजना निर्माण समिति बनाए । उक्त समितिले जलविद्युत् आयोजना निर्माणका लागि चाहिने सम्पूर्ण प्राविधिक र आर्थिक योजना बनायो । जलविद्युत् आयोजना निर्माणका लागि चाहिने टर्बाइन, ट्रान्सफर्मर, पेनस्टक पाइप इत्यादि बेलायतले उपहारस्वरूप नेपाललाई दिने भयो । सामान मात्रै होइन, उक्त कार्यका लागि बेलायती इन्जिनियर बार्नउ पुवान्टेलाई प्राविधिकका रूपमा नेपाल ल्याइयो । यसरी काठमाडौंको फर्पिङमा नेपालकै पहिलो जलविद्युत् उत्पादनको निर्माण भयो । २२ मे १९११ मा तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहले काठमाडौंको टुँडिखेलमा उक्त आयोजनाको विधिवत् उद्घाटन बिजुलीको बल्ब बालेर गरे । र, नेपालमा बिजुली भित्रियो ।

विलासितादेखि विकासको मानकसम्म

५०० किलोवाट क्षमताको फर्पिङको चन्द्रज्योति विद्युत्गृहबाट बिजुली दरबारभित्र प्रयोग गर्नका लागि मात्रै उत्पादन गरिएको थियो । त्यति बेला खोकनाका एक सर्वसाधारणको घरमा मात्रै बिजुली जोड्न दिइएको थियो । किनभने त्यो समय बिजुली लगायतका कृत्रिम उज्यालो महँगो र विलासी सेवा थियो । भनिन्छ, फर्पिङको बिजुली आयोजनाको सामान ढुवानीमा मात्रै त्यति बेला १ लाख ९ हजार रुपैयाँ लागेको थियो । त्यसैले सूर्य र चन्द्रमाबाहेकको मानवनिर्मित उज्यालो महँगो भएकाले कृत्रिम उज्यालोमा रात्रिभोजनको सौभाग्य सीमित धनीमानी र राजा–महाराजाहरूले मात्रै पाउँथे ।

अमेरिकाको येल विश्वविद्यालयका अर्थशास्त्री विलियम नोर्डहाउजले कृत्रिम उज्यालोलाई मानव जीवनस्तरको उन्नतिको सूचक मानेर रोचक अनुसन्धान गरेका छन् । उनले ढुंगेयुगदेखि हालसम्म मानिसले आविष्कार गरेका कृत्रिम उज्यालोका विभिन्न प्रविधिको बल्ने समय (लुमेन आवर) र त्यसलाई बाल्न चाहिने मानवश्रमको हिसाब गरेका थिए । उक्त अनुसन्धान अनुसार, ढुंगेयुगका मानवपुर्खाहरूले अहिलेको जस्तो कृत्रिम प्रकाशको उज्यालो (१,००० ल्युमेन आवर लाइट; १५ वाटको लेड बल्बले १,१०० ल्युमेन आवरको प्रकाश दिन्छ) दिने दाउरालाई ५४ मिनेट बाल्न ६० घण्टा श्रम समय खर्चिनुपर्थ्यो । त्यति नै श्रमको उपयोगले अर्थात् ६० घण्टा काम गरेर ३,८०० वर्षअघिका बेबिलियोन सभ्यताका मान्छेहरूले ८८ मिनेट मैनबत्तीको उज्यालो किन्न सक्ने भए । सन् १८८० मा थोमस एल्बा एडिसनले बिजुलीको ऊर्जालाई प्रकाशमा बदल्ने लाइट बल्बको आविष्कार गरेर त्यसको व्यावसायिक उत्पादन सुरु गरे । उनको लाइट बल्ब मैनबत्तीभन्दा १०० गुणा चहकिलो थियो । सन् १९०० मा औसतमा ६० घण्टा बराबरको श्रमले १० दिनसम्म लाइट बल्बको उज्यालो खरिद गर्न सकिने भयो । त्यसको २० वर्षपछि त्यति नै काम गरेर त्योभन्दा १०० गुणा बढी उज्यालो पाँच महिनासम्म बाल्न सकिने भयो । नोर्डहाउजका अनुसार, कुनै बेला ५४ मिनेट कृत्रिम उज्यालो खरिद गर्न लाग्नेजत्तिकै श्रम खर्चेर अहिले मानिसले ५४ वर्ष बाल्न मिल्ने उज्यालो किन्न सक्छन् । प्रविधिले यतिखेर मानवनिर्मित उज्यालोलाई ढुंगेयुगका तुलनामा करिब ५ लाख गुणा सस्तो बनाएको छ ।

विज्ञान र प्रविधिको विकासले कृत्रिम उज्यालोप्राप्तिको श्रम लागत मात्रै घटाएन, यसलाई विलासिताको वस्तुबाट अत्यावश्यक सेवामा समेत रूपान्तरित गरिदियो । राजा–महाराजाका दरबारबाट बिजुलीको कृत्रिम उज्यालोलाई जनताको झुपडीसम्म फैलायो । सँगै, बिजुलीको उज्यालो नै कृत्रिम उज्यालोको पर्यायका रूपमा स्थापित भयो । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुसार, हाल संसारका ८९ प्रतिशत मानिसहरूका बीचमा बिजुलीको पहुँच अर्थात् उज्यालो पुगेको छ । नेपालजस्तो गरिब देशमा समेत करिब ९२.५ प्रतिशत मानिसका घरमा बिजुलीको पहुँच पुगेको तथ्यांक नेपाल विद्युत् प्राधिकरणको छ । र, आगामी वर्षभित्र शतप्रतिशत नेपालीका घरमा बिजुली पुर्‍याउने लक्ष्य सरकारले लिएको छ ।

संसारभर यतिखेर कृत्रिम उज्यालोलाई विकास र समृद्धिको मानकका रूपमा लिइन्छ । उज्यालोको पहुँच राष्ट्रसंघीय दिगो विकास लक्ष्यको सातौं लक्ष्यमा समेटिएको छ, जसले भन्छ, ‘सन् २०३० सम्ममा पृथ्वीका सबै मानिसहरूका लागि सुलभ, भरपर्दो, दिगो र आधुनिक ऊर्जासँगको पहुँच बढाउने ।’ अहिले रातको उज्यालोको प्रगाढतालाई हेरेर कुन ठाउँ कति सम्पन्न वा विपन्न भनेर मापन गर्ने गरिन्छ । संसारमा यसअघि गरिबीको तथ्यांक घरघरमा गएर मानिसहरूको आयव्यय लगायतका विवरण संकलन गरि तयार पारिन्थ्यो । तर अहिले स्याटेलाइटबाट राति खिचिएको पृथ्वीको तस्बिरका आधारमा गरिबीको मापन गर्न थालिएको छ । त्यस विधिले चरम गरिबी भएको ग्रामीण क्षेत्रमा रातको समयमा उज्यालो कम हुने र समृद्ध सहरहरूमा उज्यालोको चहक बढी हुने देखाएको छ । विश्व बैंकले समेत अहिले गरिबीको विश्वव्यापी मापन विधिमा स्याटेलाइटबाट लिइने यस्ता रात्रिकालीन प्रकाशको सघनतालाई प्रयोग गर्ने गर्छ ।

धेरै उज्यालोले बढायो प्रदूषण

मानवजातिले हालसम्म गरेका आविष्कारहरूमध्येकै सबैभन्दा महत्त्वपूर्ण बिजुली बल्बलाई संसारभर आविष्कारको पर्यायका रूपमा लिने गरिन्छ । कुनै नयाँ कुरा आविष्कार भयो वा नयाँ विचार सृजना भयो भने त्यसलाई ‘लाइट बल्ब मोमेन्ट’ भनेर पुकारिन्छ । बिजुली बल्बको आविष्कारले गर्दा मान्छेका घर, अफिस चहकिला भए; सहर सुरक्षित र सुन्दर हुन थाल्यो । तर जसरी मानवसृजित धूवाँले वायुमा, फोहोरमैलाले जलमा, प्लास्टिकले जमिनमा प्रदूषणको समस्या निम्तायो, त्यसरी नै कृत्रिम उज्यालोको अत्यधिक प्रयोगले प्रकाश प्रदूषण गरायो । मानव स्वास्थ्य र वातावरणलाई नकारात्मक असर पार्ने गरि आवश्यकताभन्दा बढी चहकिलो बिजुली बाल्नु प्रकाश प्रदूषण हो ।

सहरका सडकबत्ती, गाडी, घर वा भवनबाट निस्केको चहकिलो उज्यालो, जसले रातलाई पनि दिउँसोजस्तै झलमल बनाउँछ, वास्तविक प्रकाश प्रदूषणको स्रोत हो । खुला आकाशमा राति ताराहरू नदेखिने भएमा त्यसलाई प्रकाश प्रदूषण भन्न सकिन्छ । विश्वका धेरै सहरका मानिसहरू, विशेषतः अमेरिका र युरोपका ९९ प्रतिशतभन्दा बढी मान्छेहरू आवश्यकभन्दा बढी चहकिलो प्रकाश भएको वातावरणमा बस्छन् । रिमोट सेन्सिङ जर्नलमा प्रकाशित लेख अनुसार, विगत २५ वर्षमा संसारभर ४९ प्रतिशतले प्रकाश प्रदूषण बढेको छ । तर मिहिन अध्ययन हुने हो भने त्यो बढोत्तरी २७० देखि ४०० प्रतिशतसम्म हुने उक्त लेखमा अनुमान गरिएको छ ।

प्रकाश प्रदूषणले मानिस र जीवजन्तुको स्वास्थ्य, आनीबानी, हिँडडुल प्रक्रियामा फेरबदल ल्याउन थालेको पछिल्ला अध्ययनहरूले देखाएका छन् । बाहिरी वातावरणको फेरबदल विशेष गरी दैनिक हुने उज्यालो र अँध्यारो क्रमसँग मिल्ने गरी मानव शरीरमा शारीरिक लय तय भएको हुन्छ । दिनहुँ २४ घण्टामा हुने सूर्योदय–सूर्यास्त–सूर्योदयसम्म मिल्ने गरी शरीरको तापक्रम, रक्तचाप, हर्मोन, शारीरिक ऊर्जा इत्यादिमा घटीबढी भएको हुन्छ, जसले गर्दा मानिसको सुत्ने र उठ्ने समयको नियमित तालिका निर्धारित हुन्छ । मानव शरीरभित्रको यस्तो शारीरिक लयलाई ‘साइकेडिन रिदम’ वा ‘जैविक घडी’ भन्ने गरिन्छ । दिन ढल्दै जाँदा उज्यालोको मात्रा कम भएसँगै मानव मस्तिष्कको पाइनियल ग्रन्थिबाट मेलाटोनिन भन्ने हर्मोन उत्पादन हुन थाल्छ । उक्त हर्मोनले मानिसलाई थकान महसुस गराउँछ, जसले गर्दा शरीरलाई निद्रा लाग्छ । मध्यरातमा मेलाटोनिन हर्मोनको उत्पादन उच्च हुन्छ । क्रोनोबायोलोजी इन्टरनेसनल जर्नलमा सन् २०१९ मा प्रकाशित लेख अनुसार, रातमा चहकिलो प्रकाशसँगको सामीप्यले मेलाटोनिन हर्मोनको उत्पादनमा फेरबदल ल्याउँछ, जसले गर्दा मानिसको सुत्ने प्रक्रियालाई असर पुर्‍याउँछ र जसका कारण मानिसमा निद्रा नलाग्ने, चिडचिडाहट हुने र डिप्रेसन लगायतका स्वास्थ्य समस्या देखिन सक्छन् । विशेष गरेर नीलो प्रकाश दिने बल्बले शरीरमा उत्पादन हुने मेलाटोनिन हर्मोनलाई अन्य रङको प्रकाश दिने बल्बले भन्दा बढी घटाउने अध्ययनले देखाएको छ । चहकिलो प्रकाशका कारण मानिसहरूले राति पनि देख्न सक्ने आँखाको प्राकृतिक क्षमता (नाइट भिजन) पनि गुमाउँदै छन् । ड्युक विश्वविद्यालयका अध्येताहरूले गरेको अनुसन्धानले प्रकाश प्रदूषणका कारण ३७ प्रतिशत अमेरिकीले आँखाको नाइट भिजन प्रयोग नगरेको देखाएको थियो ।

प्रकाश प्रदूषणले मानिसलाई मात्रै होइन, जीवजन्तुहरूलाई पनि प्रत्यक्ष प्रभाव पार्छ । अध्ययनहरूले प्रकाश प्रदूषणले जीवजन्तुको आनीबानी, प्रजनन प्रक्रिया, बच्चा कोरल्ने समय, उनीहरूको बसाइँ सर्ने ढाँचामा फेरबदल ल्याएको देखाएका छन् । रातको समयमा बसाइँ सर्ने चराहरूले चहकिलो प्रकाशका कारण बाटो भुल्ने, अलमलमा परेर मर्ने गरेको पाइएको छ । बायोलोजिक कन्जर्भेसन जर्नलमा प्रकाशित लेख अनुसार, विश्वव्यापी रूपमा ठूलो संख्यामा कीराहरूको विनाशको एउटा कारक प्रकाश प्रदूषण पनि हो ।

इतिहासमा बिजुली बाल्न हामी नेपाली तुलनात्मक रूपमा अघि नै भए पनि धेरैका घरमा बिजुली पुग्न भने लगभग शताब्दीभन्दा बढी समय लाग्यो । बिजुलीमा पछि पहुँच पुगेका नेपालीहरूले चिम नै नबाली सीधै चहकिलो र कम ऊर्जा खपत गर्ने लेड बल्ब बाल्न थाले । यतिखेर बल्ल हाम्रा सहरहरूमा सडकबत्ती जडान हुन थालेको छ । सम्पदाहरूलाई रात्रिकालीन बत्ती राखेर सिँगार्न थालिएको छ । पर्यटकहरूको जमघट बढी हुने क्षेत्रहरूमा चहकिलो बत्ती बालेर रात्रि कार्यक्रमहरू सञ्चालन हुन थालेका छन् । रूखहरूलाई नियोन लाइटले बेरेर सजाउन थालिएको छ । तर यस क्रममा हामीले कतै आवश्यकताभन्दा बढी उज्यालो बनाएका छैनौं वा बढी असर पार्ने बत्ती त जोडेका छैनौं भनेर सोच्न जरुरी भएको छ । चितवन राष्ट्रिय निकुञ्जजस्ता वन्यजन्तुका बासस्थानवरपर थपिएको यस्तो प्रकाश प्रदूषणले त्यहाँको जैविक विविधतामा कस्तो असर पारेको होला ? हामीकहाँ अध्ययन छैन । तर अन्यत्र भएका अनुसन्धानका आधारमा यसले पक्कै असर पारेको अनुमान गर्न सकिन्छ ।

त्यसकारण अब कृत्रिम उज्यालोको प्रयोग गर्दा मानव स्वास्थ्य, वन्यजन्तु र वातावरणमा यसको नकारात्मक असर कम हुने गरी नीलो बत्तीको साटो मधुरो पहेंलो बत्ती बाल्न सकिन्छ । सडकबत्तीहरूमा मोसन सेन्सर (वस्तुको चाल अनुसार, बल्ने र निभ्ने) जडान गर्न सकिएमा त्यसले बिजुलीको बचत मात्रै गराउँदैन, प्रकाश प्रदूषणलाई कम गर्न पनि मद्दत गर्छ । घरमा पनि आवश्यकता नहुँदा बत्ती निभाउने हो भने प्रकाश प्रदूषण कम गर्न सकिन्छ । नेपालका सन्दर्भमा अब प्रकाश प्रदूषणलाई वातावरणीय प्रदूषणका रूपमा आत्मसात् गर्ने समय आएको हो कि ?

प्रकाशित : असार २८, २०८० ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?