१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

प्लास्टिक प्रदूषण र समाधान

मुरली रंजित

संसारमा प्लास्टिक सन् १८६९ देखि उत्पादन हुन थालेको हो तर १९५० को दशकमा आएर मात्र यसको उत्पादनमा तीव्रता आयो । १९५० मा धेरै सानो परिमाण अथवा ०.३५ मिलियन मेट्रिक टन उत्पादन भएको थियो भने २०१६ मा ३३५ मिलियन मेट्रिक टन ।

प्लास्टिक प्रदूषण र समाधान

२०२२ मा ४०० मिलियन टन उत्पादन भएको थियो । यत्रो परिमाणमा उत्पादन भएको प्लास्टिक प्रयोग भइसकेपछि कहाँ जान्छ ? यो प्रकृति र वातावरणलाई दूषित पार्ने फोहोरमैलाका रूपमा जम्मा हुने गरेको छ ।

आहिले प्रतिवर्ष संसारभर ३० करोड टन प्लास्टिक उत्पादन हुने गरेको छ, जुन ९ अर्ब मानिसको तौल बराबर हो । संसारमा प्रतिदिन १० लाखवटा प्लास्टिक बोतल (पिउने पानीमा प्रयोग हुने) बिक्री हुने गरेको छ । अझ हामीले सामानहरू किन्दा प्रयोग गरिने पातलो पोलिथिन ब्याग संसारभर एक वर्षमा लाखौं टन उत्पादन हुने गरेको छ । संसारमा हालसम्म उत्पादन भइरहेका प्लास्टिकका सामानहरूमध्ये ५० प्रतिशत प्लास्टिक पुनर्प्रयोग गर्न नसकिने खालको हुन्छ । त्यसमध्ये १० प्रतिशतलाई मात्र पुनर्प्रयोगमा ल्याउन सकिन्छ । यसको मतलब, सम्पूर्ण उत्पादित प्लास्टिकमध्ये ९० प्रतिशत वातावरण प्रदूषणको मुख्य कारक तत्त्वका रूपमा प्रत्येक वर्ष बढ्दै गइरहेको छ ।

प्लास्टिकको प्रयोग संसारभर भए पनि दक्षिणपूर्वी एसियाली देशहरूमा बढी हुने गरेको छ । दक्षिणपूर्वी एसियाली देशहरूका १० ठूला नदीहरूबाट समुद्रहरू अत्यधिक प्रदूषित भइरहेका छन् । यसले गर्दा यी नदीहरू जोडिने समुद्री भागका जलचरहरूको खाना प्लास्टिक हुने गरेको छ भने समुद्रमा माटोभन्दा प्लास्टिकको परिमाण बढी हुने जोखिम बढ्दै गइरहेको छ ।

प्लास्टिक उत्पादनका मुख्य कच्चा पदार्थ हुन्— विभिन्न रासायनिक पदार्थ, खनिज तेल, प्राकृतिक ग्यास र कोइला । प्लास्टिक खास गरी सेन्थेटिक अथवा अर्धसेन्थेटिक जैविक पदार्थहरूबाट बनेको हुन्छ । प्लास्टिकका विभिन्न सामान बनाउने बेलामा पोलिथिन, पोलिभिनाइल र पोलिस्ट्रिनजस्ता दूषित पदार्थहरूको अत्यधिक प्रयोग गरिएको हुन्छ । अझ डरलाग्दो त, प्लास्टिकका उत्पादनलाई आकर्षक बनाउन अति नै हानिकारक रसायन बेन्जिनजस्ता पदार्थहरूको पनि प्रयोग गरिन्छ जसका कारण मानव शरीरमा क्यान्सरजस्ता घातक रोगहरू लाग्ने सम्भावना बढ्दै गइरहेको छ ।

केराको बोक्रा कुहिन ३–४ हप्ता मात्र लाग्छ भने पत्रिका कुहिन डेढ महिना । प्लास्टिकको बाल्टिन कुहिन भने ५० देखि ८० वर्षसम्म लाग्छ । मिनरल वाटरको बोतल कुहिन झन्डै ४५० वर्ष लाग्छ । पातलो पोलिथिन ब्याग पूर्ण रूपमा कुहिन २०० देखि १,००० वर्षर्सम्म लाग्ने तथ्य वैज्ञानिक अनुसन्धानबाट पत्ता लागिसकेको छ । त्यसैले प्लास्टिकसृजित फोहोरमैलाको उचित व्यवस्थापन नै आजको ठूलो चुनौती बनिरहेको छ । प्लास्टिकको समुचित व्यवस्थापनबाटै वातावरण सुधार्न सकिन्छ ।

अल्पविकसित र विकसित देशहरूमा प्रयोग गरिने १२ प्रतिशत प्लास्टिक जलाएर मात्र नष्ट गर्ने चलन संसारभर चल्दै आएको छ र यो प्रवृत्ति स्वास्थ्यका लागि अति नै घातकसिद्ध भइसकेको छ । प्लास्टिकको धूवाँमा कार्बन मोनोअक्साइडजस्तो घातक ग्यास अत्यधिक मात्रामा हुन्छ । सहरी क्षेत्रहरूबाट उत्पादन हुने फोहोरमध्ये २५ प्रतिशत प्लास्टिकजन्य पदार्थ हुने गरेको छ, जुन कुहिन सक्दैन र जसका कारण अन्य फोहोरको मात्रा पनि बढी हुन्छ, त्यसको व्यवस्थापन खर्च पनि बढी लाग्छ । अझ प्लास्टिकजन्य फोहोरमैलालाई समयमै उचित व्यवस्थापन नगरिएमा जमिनमुनि ठूलो परिमाणको फोहोर जम्मा हुने र खोलानालाका माध्यमबाट समुद्रसम्म दूषित हुने हुन्छ । यसका कारण जलचरहरू अत्यधिक मात्रामा प्रभावित हुने गर्छन् । प्रायः देशमा प्लास्टिकजन्य फोहोरहरू जमिनमुनि गाड्ने चलन छ । यसबाट केही वर्षका लागि वातावरण प्रदूषण हटाउन सकिन्छ भने कालान्तरमा यसले जमिनमुनिको जलभण्डारलाई प्रदूषित गरेर वातावरणमा निकै प्रतिकूल असर पार्ने देखिन्छ ।

भूपरिवेष्टित देशहरूलाई समुद्रको प्रदूषणबाट प्रत्यक्ष असर पर्दैन त भन्ने गरिन्छ तर यो बिलकुलै गलत हो, किनभने समुद्रमा पुग्ने प्लास्टिकहरू ५ मिलिमिटरका कणमा विभक्त हुन्छन् जुन विभिन्न माध्यमबाट पुनः हामीले खाने खानामा आइपुग्छन् । अर्को अध्ययनले के सिद्ध गरिसकेको छ भने, सामुद्रिक वाष्पीकरणसँगै बादलमा अति नै साना प्लास्टिकका कणहरू आउँछन् जुन वर्षात्, नदी, खानेपानीको मूल हुँदै पुनः हाम्रा घरका धारासम्म आइपुग्छन् । यस प्रकारको अप्रत्यक्ष प्रदूषणका कारण संसारभर क्यान्सर रोग बढ्ने गरेको छ । वैज्ञानिकहरूले के पनि दाबी गर्दै आएका छन् भने, प्लास्टिकका ५ मिलिमिटरका कणहरू वर्षा, आँधीबेहरीका माध्यमले संसारभर पुगिरहेका छन् र वातावरण प्रदूषण भइरहेको छ । संसारभरका मानिसहरूले प्रत्येक वर्ष ५० हजार ससाना प्लास्टिकका कणहरू श्वास–प्रश्वास र खानाका माध्यमबाट लिने गरेका छन् । यी प्लास्टिकका कणहरूबाटै मानव शरीरमा नयाँनयाँ रोगहरू देखा परिरहेका छन् ।

प्लास्टिक प्रदूषणबाट श्वास–प्रश्वासमा परेको असर कम गर्न विकसित देशका मानिसहरू जागिसकेका छन् । प्रभावकारी, जिम्मेवार एवम् सशक्त सरकार भएका देशहरूले प्लास्टिकजन्य फोहोरमैलाको व्यवस्थापनका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउन थालिसकेका छन् । जुनसुकै देशले पनि गर्न सक्ने भनेको तत्कालै नियमित एवम् प्रभावकारी जनचेतना जागरण अभियान सञ्चालन नै हो । प्लास्टिक पुनर्प्रयोगका लागि सहयोग गर्ने, प्लास्टिकका सामान प्रयोग गर्ने निकायहरूलाई बढी कर लगाउने तथा सानो माइक्रोनबाट बनेका प्लास्टिकका सामानहरूको उत्पादनमा प्रतिबन्ध लगाउनेजस्ता प्रमुख सवालहरूलाई उच्च प्राथमिकतासाथ लागू गर्नु अत्यावश्यक भइसकेको छ ।

नेपालमा प्लास्टिक प्रदूषणलाई अन्त्य गर्नका लागि धेरै सङ्घसंस्थाले काम गरिरहेका भए पनि प्लास्टिकजन्य प्रदूषण कम हुन सकेको छैन । विकासशील राष्ट्रहरूमा, विशेष गरी नेपालको परिस्थितिसँग मिल्दाजुल्दा २५ अफ्रिकी मुलुकले प्लास्टिक झोलामा लगाएको प्रतिबन्धलाई मात्र अनुसरण गर्न सके पनि हामीले यस्तो फोहोरमैलाबाट सृजित ५० प्रतिशत समस्या समाधान गर्न सक्छौं । नेपाल सरकारले २०७२ मा ३० देखि ४० माइक्रोनका प्लास्टिक झोलामा प्रतिबन्ध लगाए पनि उक्त निर्णय अझै लागू हुन सकेको छैन । स्थानीय सरकारका रूपमा रहेका गाउँ/नगरपालिकाहरूले अल्पकालीन र दीर्घकालीन योजना बनाई उक्त निर्णय कार्यान्वयन गर्न ढिलो भइसकेको छ ।

रञ्जित वातावरणविद् हुन् ।

प्रकाशित : असार १०, २०८० ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?