सरकारी अस्पतालहरूमा नघट्दो सास्ती

मञ्जु भट्ट

गएको चैत १९ गते राष्ट्रपति रामचन्द्र पौडेल पेटदुखाइले शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएकै दिन म पनि बहिनीसँग त्यहीँ गएकी थिएँ । घरमा छोड्न नमिलेर बहिनीको १० वर्षे छोरालाई पनि सँगै लगेका थियौं । बहिनीको काखीमुनि क्यान्सर नहुने खालको सानो गिर्खा थियो ।

सरकारी अस्पतालहरूमा नघट्दो सास्ती

केही समयअघि जाँच भइसकेकाले त्यसकै मेमोग्राम रिपोर्ट देखाउन भन्दै नौ बजे बिहान नै टिकट लिन पुगेका थियौं । उनको पालो ५५ नम्बरमा थियो । त्यो दिन ब्रेस्ट एन्ड थाइरोइड विभागमा मात्रै ८८ बिरामी कोही जाँच गराउन त कोही रिपोर्ट देखाउन आएका थिए । बिरामीहरूमध्ये एक–दुई जना पुरुष भए पनि बाँकी सबै महिला थिए । नौ बजे आउनुपर्ने डाक्टर दस बजे आइपुग्नुभयो । ओपीडीतिर काम भएर ढिलो भएको भनियो । त्यसपछि लगातार जाँच सुरु भयो । एक बजेदेखि दुई बजेसम्म टिफिन टाइम हुँदो रहेछ । त्योबाहेक एक जना मात्रै महिला डाक्टरले ८८ जनाकै चेकजाँच गर्नुभयो । बीचमा एकचोटि पुरुष डाक्टर पनि आउनुभएको थियो । कोही नयाँबाहेक पुराना सबै बिरामीले पहिलेकै महिला डाक्टरकहाँ जँचाउने भनेपछि साढे तीन बजे बहिनीको पाले आयो । १० बजे अस्पताल पुगेका बिरामीहरूले पाँच मिनेटको रिपोर्ट देखाउन पाँच घण्टाभन्दा बढी पानीसमेत नखाएर कुर्नुपर्‍यो ।

त्यति लामो कुर्नुपर्दा एकले अर्कालाई आफ्नो रोगबारे बताइरहेका थिए । धेरैजसो महिलामा ब्रेस्टमा गिर्खा रहेछ । पाँच घण्टा कुर्नुपर्दा कोही घरमा छोराछोरी एक्लै भएको भन्दै चिन्तित थिए भने कोही स्कुलबाट छोराछोरी आउने बेला भइसक्दा पनि आफ्नो पालो नआएकामा हैरान थिए । आधा दिन बिदा लिएर आएका कोही कार्यालय फर्किन हतारिएका थिए भने कोही पसल बन्द गरेर आउनुपरेकामा बेचैन थिए । कोही भने घरमा भएका अशक्त सासूससुरालाई खाजा दिने बेला घर्किसकेकामा डराएका थिए । टिकट छिटो लियो भने पालो छिटो आउँछ भनेर कतिपय बिरामी त आठ बजे खाना पनि नखाई आएका रहेछन् । आफ्नो रोगको त चिन्ता छँदै थियो, अस्पतालमा समेत पूरै परिवारबारे चिन्तित थिए । महिलाहरू उसै पनि पुरुषभन्दा बढी बिरामी भइरहन्छन् । उमेर अनुसार शरीरमा हुने परिवर्तनका कारणसमेत उनीहरू रोगको सिकार हुन्छन् । यस्तोमा परिवारसहित सबैको साथको एकदमै जरुरत हुन्छ उनीहरूलाई । तर बिरामी भएर आउनेहरू धेरैजसो महिला एक्लै थिए भने अस्पतालले पनि उनीहरूलाई नै मारमा पारेको थियो । एउटा बिरामीलाई रिपोर्ट समाएर पाँच घण्टाभन्दा बढी अस्पतालमा कुर्न लगाउँदा झनै बिरामी भइन्छ । यो कुरा मन्त्री, प्रधानमन्त्री भएपछि रिबन काट्दै हिँड्नेहरूले कहिल्यै बुझेनन् । सँगै अस्पताल आएका राष्ट्रपति उपचार गराईवरी घर फर्किसक्छन्, सर्वसाधारणले भने दिनै माया मार्नुपर्छ ।

महिलामा बढ्दो रोगको चेकजाँचमा शिक्षण अस्पतालजस्तो देशकै ठूलो सुविधासम्पन्न अस्पतालमा एक जना मात्रै डाक्टर देख्दा दुःख लाग्यो । कम्तीमा दुई जना डाक्टर भइदिएका भए तीन मिनेट (बहिनीले रिपोर्ट देखाउन लागेको समय) को रिपोर्ट देखाउन बच्चासहित पाँच घण्टा अस्पतालमा ढुक्नु त पर्दैनथ्यो । बढीमा एक घण्टा लाग्ने र अस्पताल बस्नु नपर्ने एकदमै माइनर अपरेसन, गाँठा काटेर फाल्नुपर्ने बहिनीको पालो असारमा चार महिनापछि मात्रै आउने सुनेर हामी झनै छक्क पर्‍यौं । चेकजाँचहरू गराउँदै दुई महिनाभन्दा बढी लाग्यो । अब चार महिना फेरि पनि कुर्नुभन्दा त निजी अस्पताल नै जाने मन बनाएकी छन् उनले ।

शिक्षण अस्पतालमा यति धेरै विसंगति फैलिएको छ, भनिसाद्य छैन । ओपीडीबाट आउने बिरामीको सात सय पर्ने भिडियो एक्सरे गरेको खुलेआम पेइङको शुल्क बाह्र सय लिइन्छ । अस्पतालभित्रका औषधिपसलहरूमा पाइने औषधि पनि पर्याप्त छैनन् । पाँच प्रकारका औषधि किन्नुपर्नेमा एउटा मात्रै भेटिन्छ । एकचोटि भिडियो एक्सरे मेसिन बिग्रेर पन्ध्र दिनसम्म नबन्दा अस्पतालले नै बाहिरबाट भिडियो एक्सरे गराएर ल्याउनू भन्यो । दिनमै सयौं बिरामी जचाउन आउने देशको ठूलो अस्पतालमा रातारात बिग्रेको मेसिन बन्नुपर्ने वा त्यसको विकल्प हुनुपर्नेमा पन्ध्र दिनभन्दा बढी समय लाग्न सक्छ भन्दा हामी सम्बन्धित पक्षसँग गुनासो गर्न गएका थियौं । तर गुनासो सुन्ने मान्छे भेटिए पो ! राजधानीमै यस्तो हालत छ भने देशभरिका बाँकी सरकारी अस्पतालहरूको अवस्था कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ ।

चिनजानकी एक दिदीका छोराको जवानीमै मृगौला फेल भयो । घरमा ठूलो चिन्ता पर्‍यो । दिदीले आफ्नो एउटा मृगौला छोरालाई दिइन् । ट्रान्सप्लान्ट गरेको मृगौलाले एक महिनासम्म राम्रै काम गर्‍यो तर अचानक काम गर्न छोडेपछि छोराको हालत उस्तै भयो । मृगौला काम नलाग्ने भयो । पैसा मात्रै खर्च भयो, दुइटैको ज्यान जोखिममा पर्‍यो । केही दिनअगाडि जब ती दिदीले कान्तिपुर पत्रिकामा छापिएको ‘मिर्गौला प्रत्यारोपणमा ९९ प्रतिशत सफलता’ भन्ने बेहोराको समाचार पढिन्, धुरुधुरु रोइन् आफ्नो र छोराको अवस्था सम्झेर । अहिले उनका छोरालाई हप्तामा तीनचोटि डाइलसिस गराउनुपर्छ । वीर अस्पतालमा डाइलसिस गराउन एक महिना कुर्नुपर्दा ती दिदीले नेताहरूलाई निकै सरापिन् । देशका कतिपय अस्पतालमा एक्सरे मेसिन, भेन्टिलेटरहरू बिग्रिएर थन्किएका छन् । तिनलाई मर्मत गरेर सञ्चालनमा ल्याउन महिनौं लाग्छ । कमिसन खानकै लागि नयाँ मगाइन्छ तर तिनको मर्मत हुँदैन ।

लडेर खुट्टा भाँचिएका मेरा एक जना दाइलाई गत वर्ष बैतडी जिल्ला अस्पतालले उपचार हुन नसक्ने भन्दै सेती अस्पताल, धनगढी रेफर गर्‍यो । दस घण्टाभन्दा बढी गाडी चढेर राति नै धनगढी पुगियो । तर अस्पतालले आकस्मिक अपरेसन गर्नुपर्ने दाइलाई कहिले मेसिन बिग्रेको छ भन्दै त कहिले पालो आएन भन्दै पन्ध्र दिनसम्म झुलाइराख्यो । पछि एक जना परिचित डीआईजीले भनिदिएपछि तुरुन्तै अपरेसन भयो । केही दिनअघि पेट दुखेर एपेन्डिसाइटिसको अपरेसन गर्न खाली पेट बस्नू, भोलि नै अपरेसन हुन्छ भनेका चक्र भट्टलाई अपरेसन हुने दिनमा ढिलो हुने भन्दै अन्त जान भनियो । यस्ता कैयौं विसंगति छन् सरकारी अस्पतालका । बिचौलियाहरूको बिगबिगीले बिरामीहरू अत्यन्तै मारमा परिरहेकै छन् । उता, डडेलधुरा अस्पतालमा भवन बनिनसकेको भन्दै सातवटा डायलसिस मेसिनहरू थन्किएका छन् । पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको गृहजिल्लामा यतिका वर्षसम्म डायलसिस गर्ने एउटा भवनसम्म बन्न सकेको छैन भने के विकास गरे त हाम्रा नेताहरूले ?

प्रकाशित : वैशाख ३, २०८० ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?